पोखरा, १२ जेठ २०८३।
बाराको निजगढमा सोमबार साँझ आएको भीषण हुरीका कारण रुखको हाँगा खस्दा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा निजगढ नगरपालिका-४ का ५५ वर्षीय साइला भनिने देवबहादुर अर्याल रहेका छन्।
सिंगौलबाट निजगढतर्फ आउँदै गरेको ना ७ त ५१५० नम्बरको ट्याक्टरमाथि अचानक रुखको हाँगा भाँचिएर खस्दा गम्भीर घाइते भएका अर्याललाई तत्काल उपचारका लागि निजगढस्थित सामुदायिक अस्पताल लगिएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए । मृतक अर्यालको शव हाल सामुदायिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, सोही घटनामा ट्याक्टरमा सवार नुवाकोटको सूर्यगढी गाउँपालिका-१ लज्याङ घर भई हाल निजगढ ५ बागदेव बस्दै आएका ३२ वर्षीय कृष्ण घलान घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको छ।
ट्याक्टर चालक निजगढ नगरपालिका ४ पुरानो टोल निवासी ५० वर्षीय बुद्धमान बल भने सकुशल रहेका छन्। घटनापछि प्रहरीले चालकलाई नियन्त्रणमा लिएको जनाएको छ।