पोखरा,१६ साउन २०८१।
ऐतिहासिक पृष्ठभूमि
नेपालमा कम्युनिस्ट आन्दोलनको उठान करिब ७५ वर्षदेखि चल्दै आएको छ। उक्त आन्दोलन टुटफुट र विभाजनले ग्रसित छ I नेपाल र नेपाली श्रमजीवीहरूको जीवनमा प्रत्यक्ष अप्रत्यक्ष दुवै ढङ्गबाट असर पार्ने नै भयो। मूलत; दुई विश्वराजनीतिक दृष्टिकोणमध्ये भौतिकवादी विचारबाट ओतप्रोत रहेको कम्युनिस्ट पार्टीमा वैचारिक, सैद्धान्तिक र दार्शनिक हिसाबले वाद, विवाद र संवादलाई प्रमुख मानिन्छ। तथापि नेपालमा नेपाली कम्युनिस्टहरुले आफ्नै धरातलमा भन्दा आध्यात्मिकवादी धरातलबाट नाम कम्युनिष्ट राख्ने काम पुँजीवादीको गर्ने तथ्य इतिहासले पुष्टि गर्दछ । कम्युनिस्ट आन्दोलनमा विशेष गरी पार्टीको टुटफुट विशेष मोडमा देखापरेको छ। फुटको पछाडि विविध कारणहरू हुन्छन् र ती कारणहरूमध्ये मुख्य कारण भनेको नेतृत्वको नियत र अन्तत विचलन हो।त्यो विचलन मुख्य नेतृत्वको नियतमा भर पर्दछ जुन कुरा व्यवहारबाट पत्ता लगाउने कुरा हो।
नेतृत्व निकट बन्ने पदानुक्रम प्रवृत्ति
आजसम्मका सम्पूर्ण राजनीतिक दलको पार्टी निर्माण प्रक्रियालाई हेर्दा परम्परावादी सोचभन्दा माथि उठ्न सकेको छैन। यदि संसदवादी दलको साहित्य समीक्षा गर्यौ भने पनि हरेक पार्टीमा शीर्ष नेता र दोस्रो पुस्तका नेताहरुमा यो भाव झल्कन्छ कि नेतृत्व आफै गर्न अग्रसर नहुने र नेतृत्वको निकट बन्ने प्रतिस्पर्धा चलिरहन्छ। किनभने शीर्ष नेताको पक्षमा उभिँदा पद पाउने, विपक्षमा उभिँदा पद सकिने यो खाले

राजनीतिक परिदृश्य नेपाली कांग्रेस, एमाले,माओवादी हुँदै राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि त्यही मानसिकता हावी हुँदै गएको छ। शीर्ष नेताहरूले आफू निकट कार्यकर्ता र युवाहरुलाई आफू अनुकूल प्रयोगका साधन बनाउँदै रणनीति कसिलो पार्छन्। यसरी शीर्ष नेता र दोस्रो तहका नेतृत्वको मातहतमा संगठन रहन्छ र इमान्दारी, सरल, बौद्धिक र क्षमतावान व्यक्तिको नेतृत्व विकास हुन सक्दैन। कम्युनिस्ट आन्दोलनको इतिहासमा पनि क्रान्तिकारी शक्तिहरूले यो भन्दा भिन्दै र नयाँ विधि अपनाउन सकेका छैनन्। किनकि क्रान्तिकारी कम्युनिस्ट पार्टीमा पनि सिद्धान्त अनुसारको संगठन होइन संगठन अनुसारको सिद्धान्त विचार निर्माण गर्ने बहानामा इमान्दार र सोझो सरल नेतृत्वलाई आफ्नो मातहतमा ल्याउने र क्रान्तिको डंका पिट्ने, पार्टी फुटाउन प्रोत्साहन गर्ने र अन्तत श्रमजीवी वर्गको अहितमा फैसला हुन पुग्दछ। जुन कुरा मार्क्सवादको पृष्ठभूमिमा भनिएको छ कि “उद्देश्य अनुसारको संगठन बनाउनुपर्दछ” भनेर यस अर्थमा क्रान्तिकारी पार्टीको पार्टी निर्माण प्रक्रिया उल्टो छ भन्न सकिन्छ।
पार्टी एकतामाथि प्रश्न
कम्युनिस्ट पार्टी भौतिकवादी दर्शन हो र यसले विज्ञानलाई आत्मसाथ गर्दछ। कम्युनिस्टहरू समाज निर्माणका वैज्ञानिकहरू हुन्। ती वैज्ञानिकहरुले वैज्ञानिक समाजवाद ल्याउनु अनिवार्य सर्त हो। परन्तु वैज्ञानिक समाजवाद ल्याउनको लागि सामाजिक वैज्ञानिकहरूको संगठन आवश्यक हुन्छ। नेपाली समाजको संसदीय राजनीतिक दल को एकता र क्रान्तिकारी कम्युनिस्ट पार्टीहरू बीचको एकता पनि वैज्ञानिक ढङ्गको रहेन। विगतमा संसदीय दल एमाले र माओवादी एकता भयो अन्तमा फुट साबित भयो। फेरि माओवादी राष्ट्रिय स्वतन्त्र पार्टी र कांग्रेसको एकता भयो फेरि फुट्यो यसरी विजातीय वर्गको मिलनले सही निर्णय हुन सक्दैन। एउटा तथ्य ल्याउँ कि पानी बन्नको लागि त हाइड्रोजन र अक्सिजन नै चाहिन्छ। क्रान्तिकारी कम्युनिस्ट पार्टीले पनि एकता प्रक्रिया अघि बढायो जहाँ आ-आफ्ना सिद्धान्त, विचार र उद्देश्य थिए। यही सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी बहुमत, क्रान्तिकारी कम्युनिस्ट पार्टी (माओवादी) र नेपाल कम्युनिस्ट पार्टी मशlल बीच पार्टी एकता को बहस अघि सारियो। २०८० वैशाख १७ गते क्रान्तिकारी माओवादी र बहुमतबीच एकता भई क्रान्तिकारी कम्युनिस्ट पार्टी बनेको थियो। २०८१ साल वैशाख १९ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी र मशालबीच दोस्रो एकता भएको थियो। मशlलसित पार्टी एकता गरेको ७५ दिन र क्रान्तिकारी माओवादीसित पार्टी एकता गरेको ४४० दिनमा पार्टी एकता असफल किन भयो यो प्रश्न अबका नौजवान युवाहरुले प्रश्नद्वारा आफ्नो अध्ययन अनुसन्धान अगाडि बढाउनुपर्छ र बढाउनेछन् ।
प्रश्न नम्बर १- के विप्लवबाट फुटेको फुटको औचित्य पूरा गर्यौ त ?
प्रश्न नम्बर २ बहुमत पार्टी दुई खुट्टामा उभिएको क्रान्तिकारी कम्युनिस्ट पार्टी थियो कि थिएन ?
प्रश्न नम्बर ३ पार्टी एकताका आधार , सर्त, सहमति, एकैबद्धता, र उद्देश्य के थियो ?
प्रश्न नम्बर ४ पार्टी एकता असफल हुनुका प्रमुख कारण के के हुन् ?
प्रश्न नम्बर ५ महाधिवेशनको दुई महिना धैर्य गर्न किन सकिएन ?
क्रान्तिकारी माओवादी र बहुमतबीच सहमतिका मुख्य आधार (क्रान्तिकारी कम्युनिस्ट पार्टी, राजनीतिक दस्तावेज; २०८०असारपेज१२)
मार्क्सवाद-लेनिनवाद- माओवादलाई पथ प्रदर्शक सिद्धान्त मान्ने।
नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवादतर्फ अगाडि बढ्ने।
जनवादी केन्द्रीयताको सिद्धान्त अनुसार संगठन परिचालन गर्ने।
पार्टीको नाम क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल राख्ने।
क्रान्तिकारी कम्युनिस्ट पार्टी र मशालबीच सहमतिका मुख्य आधार (क्रान्तिकारी कम्युनिस्ट पार्टी, घोषणाकार्यक्रम २०८१वैशाख१९)
मार्क्सवाद-लेनिनवाद- माओवाद/माओ विचारलाई बहसमा लगी महाधिवेशनमा क्लियर गर्ने।
नयाँ जनवादी क्रान्ति को खुड्किलो पार गरी वैज्ञानिक समाजवादमा जाने।
जनवादी केन्द्रीयताको सिद्धान्त अनुसार संगठन परिचालन गर्ने।
पार्टीको नाम क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल राख्ने।
आरोप/ प्रत्यारोप
प्रेस वक्तव्य( धर्मेन्द्र ):-
हाम्रो एकताको मूलत; दुईवटा उद्देश्य रहेका थिए प्रथम नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई नयाँ संश्लेषणका साथ गति प्रदान गर्न र दोस्रो क्रान्तिकारी कम्युनिस्ट पार्टी लाई भौतिक ताकतका साथ केन्द्रीकृत गर्नु । बहसका महत्त्वपूर्ण विषयहरू अन्तर्गत नेकपा मशाल को तर्फबाट माओविचारधारा, नौलो जनवाद, १० वर्षीय जनयुद्धको समीक्षा र राज्य पुनर्संरचना । क्रान्तिकारी माओवादीको तर्फबाट नयाँ जनवादी क्रान्ति एवं नेकपा बहुमतको तर्फबाट वैज्ञानिक समाजवाद रहेको थियो। गएको अषाढ ११ गतेबाट सुरु भएको महाधिवेशन आयोजक समितिको बैठक समापनपछि संयोजक कमरेड किरणको हस्ताक्षरमा वक्तव्यको बुँदा नम्बर ५ मा मार्क्सवाद लेनिनवाद माओबाद/ विचारधारालाई पथ प्रदर्शक सिद्धान्त र नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवादमा जाने भन्ने उल्लेख गरियो। माओ विचारधारा महाधिवेशन सम्म छलफलमा लैजानुपर्दछ ,पथप्रदर्शक सिद्धान्त भइसकेको थिएन। त्यसैगरी राजनीतिक कार्यदिशाका बारे नौलो जनवाद या वैज्ञानिक समाजवाद भन्ने विषय पनि महाधिवेशनसम्मका लागि बहसको विषय थियो ।फरक मतको तर्फबाट कमरेड किरणलाई मौखिक र लिखित असहमति पत्र प्रेसित गरियो सोही विषयलाई लिएर मण्डलको बैठकमा पार्टी एकताको मर्म विपरीत गुटबन्दीको समेत आरोप लगाइयो। जबकि उक्त पत्रमा कि दुवै समानान्तर दस्तावेज उल्लेख गरिनुपर्थ्यो कि दुवै उल्लेख गर्नु हुँदैनथ्यो भन्ने टिप्पणी सहित केन्द्रीय समितिमा प्रस्तावित समानान्तर दस्तावेज बारे उल्लेख गरेर नयाँ वक्तव्य जारी गरिएको थियो
प्रेस वक्तव्य( किरण);-
पार्टी एकताको महत्त्व तथा गरिमामाथि गम्भीर आघात पुर्याउन खोजेको, पार्टी अनुशासन तथा सांगठनिक पद्धतिका विरुद्ध गुटबन्दी तथा फुटवादी गतिविधि सञ्चालन गरेको, एकता महाधिवेशनमा चल्ने महाधिवेशनविचारधारात्मक तथा राजनैतिक बहस तथा विमर्शको सामना गर्न नसकी पलायनको बाटो रोजेको र दक्षिणपन्थी संशोधनवाद प्रस्ताव चिन्तन तथा प्रविधि अवलम्बन गरेकोले कमरेड कन्चन लगायत नेतृत्वका कतिपय कमरेडहरुलाई निष्कासन गरिएको छ। अन्त्यमा गुटवादी तथा फुटवादी चिन्तन तथा प्रवृत्तिका विरुद्ध दृढतापूर्वक सङ्घर्ष गर्दै तथा पार्टी एकतालाई सुदृढ तुल्याउँदै राष्ट्रिय एकता महाधिवेशनलाई शानदार रुपमा सफल बनाउनको लागि सम्पूर्ण पार्टी पंक्ति सुभेछुक तथा परिवर्तन प्रेमी जनसमुदायसित विशेष तथा विनम्र अनुरोध गर्दछौँ।
निष्कर्ष
संगठन अनुसारको उद्देश्य होइन, उद्देश्य अनुसारको संगठन चाहिन्छ। दुई तत्त्व मिलाएर पानी बनाउनु छ भने हाइड्रोजनसँग अक्सिजन नै चाहिन्छ। यदि हाइड्रोजनमा हिलियम मिलायो भने आगो बन्छ ।आआफ्नो अडनमा दुई फरक विचारबीचको एकता हुन्छ भन्नेहरू कि त झुटको खेती थियो, कि त छलछाम थियो। अन्तरवस्तु बुझ्न नसक्नेले दुश्मनको चाल बुझ्न सक्ने छैन पछि परेको जनवाद र फड्को खोजेको समाजवादको आधार स्तम्भ हामीले पत्ता लगाउनु थियो र कार्यभार रहनेछ।अबको महाधिवेशन अनुसन्धान केन्द्र बन्दछ भन्दाभन्दै फुट्नु कतिको सान्दर्भिक होला ? यो पुष्टि हुँदै जानेछ। तसर्थ नौलो जनवादी क्रान्ति र वैज्ञानिक समाजवादी क्रान्तिको बीचमा रहेको खुड्किलोलाई वैज्ञानिक रूप दिन अबको चुनौतीको विषय रहनेछ र त्यो नै सार्थक हुनेछ।