काठमाडौं, ११ साउन २०८३।
सुनसरी तनावः मृत्यु हुनेको संख्या दुई पुग्यो, सेना बख्तरबन्द गाडीसहित सडकमा, केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक
काठमाडौं, साउन ११ — सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक झडपपछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन। घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ भने सुरक्षा अवस्था समीक्षा गर्न सरकारले केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक बोलाएको छ।
उपचारका क्रममा थप एक घाइतेको मृत्यु भएसँगै घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको हो। देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहताका अनुसार उपचाररत ओम मेहताको सोमबार करिब दिउँसो १२ बजे निधन भएको हो।
यसअघि आइतबार राति प्रहरीको गोली लागेर स्थानीय ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। अध्यक्ष मेहताका अनुसार मृत्यु हुने दुवै जनाको नाम ‘ओम’ रहेको छ।
दुई समूहबीचको झडपपछि प्रहरीले चलायो गोली
आइतबार राति देवानगञ्ज–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणबाहिर गएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले गोली चलाएका थिए। घटनामा प्रहरीको गोली लागेर ९ जना घाइते भएका छन्। अन्य झडपका घाइतेसहित कुल २२ जना घाइते भएको प्रशासनले जनाएको छ, जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
कर्फ्यु उल्लंघन, आगजनी र तोडफोड जारी
स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले देवानगञ्ज क्षेत्रका पाँच स्थानमा कर्फ्यु आदेश जारी गरेको भए पनि प्रदर्शनकारीले कर्फ्यु उल्लंघन गर्दै विभिन्न स्थानमा आगजनी, तोडफोड तथा प्रदर्शन जारी राखेका छन्।
प्रदर्शनका कारण पूर्व–पश्चिम लोकमार्ग समेत अवरुद्ध भएको छ। सडक बन्द हुँदा यात्रु तथा सवारीसाधन प्रभावित भएका छन्।
बख्तरबन्द गाडीसहित नेपाली सेना परिचालन
सुरक्षा अवस्था थप जटिल बन्दै गएपछि सरकारले नेपाली सेनालाई बख्तरबन्द गाडीसहित प्रभावित क्षेत्रमा परिचालन गरेको छ। सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा परिचालनमार्फत स्थिति सामान्य बनाउने प्रयास भइरहेको छ।
केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक
घटनाको गम्भीरतालाई मध्यनजर गर्दै गृहमन्त्री सुधन गुरुङले सोमबार साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन्।
गृहमन्त्रीको अध्यक्षतामा बस्ने बैठकमा गृहसचिव, रक्षा सचिव, नेपाली सेनाका रथी, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहभागी हुनेछन्। बैठकमा सुनसरीको समग्र सुरक्षा अवस्था, थप सुरक्षा रणनीति तथा शान्ति कायम गर्ने उपायबारे छलफल हुने जनाइएको छ।
छानबिनका लागि पाँच सदस्यीय समिति
यसअघि सरकारले गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिसकेको छ। समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, ऊर्जा मन्त्रालयका प्रतिनिधि तथा सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी सदस्य–सचिव रहने व्यवस्था गरिएको छ।
समितिलाई घटनाको सत्यतथ्य अनुसन्धान गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।
अनुसन्धान जारी
प्रहरीले झडपको वास्तविक कारण, गोली चलाउनुपर्ने अवस्था कसरी सिर्जना भयो, कर्फ्युका बीच पनि हिंसा किन बढ्यो तथा घटनामा संलग्न व्यक्तिहरूको पहिचान गर्ने काम जारी रहेको जनाएको छ। यता सरकारले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेको छ।