काठमाडौं, ११ साउन २०८३।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको प्रहरी गोलीकाण्डको घटनाबारे सत्यतथ्य पत्ता लगाउन सरकारले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। गृह मन्त्रालयले घटनाको निष्पक्ष अनुसन्धान गरी एक साताभित्र प्रतिवेदन बुझाउने जिम्मेवारीसहित गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा समिति गठन गरेको हो। समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ऊर्जा मन्त्रालयका प्रतिनिधि सदस्य रहनेछन् भने सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी सदस्य–सचिव रहने व्यवस्था गरिएको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले जानकारी दिए।
छानबिन समितिले मुख्य रूपमा दुई समूहबीच विवाद कसरी सुरु भयो, स्थिति किन हिंसात्मक बन्यो?,प्रहरीले गोली चलाउनुपर्ने अवस्था किन आयो?, गोली चलाउने प्रक्रिया कानुनसम्मत थियो वा थिएन?, मृत्यु र घाइते हुनुमा कसको जिम्मेवारी रह्यो? र भविष्यमा यस्ता घटना रोक्न आवश्यक सुधारका उपाय का बारेमा अनुसन्धान गर्ने अपेक्षा गरिएको बताइएकोप छ।
शनिबार राति देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्ज क्षेत्रमा दुई समूहबीच विवाद चर्किएपछि स्थिति नियन्त्रणबाहिर गएको थियो। अवस्था तनावपूर्ण बनेपछि प्रहरीले भीड नियन्त्रणका लागि गोली चलाएको थियो।
प्रहरीको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ भने घटनामा २२ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले स्थिति नियन्त्रणमा लिन बाध्य भएर गोली चलाएको जनाएको छ भने स्थानीयले बल प्रयोग आवश्यकभन्दा बढी भएको आरोप लगाएका छन्।कर्फ्यूका बाबजुद मृतक र घाइते पक्षका आफन्त तथा स्थानीयले विभिन्न स्थानमा प्रदर्शन जारी राखेका छन्। सुरक्षा अवस्थालाई ध्यानमा राख्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको अतिरिक्त टोली परिचालन गरिएको छ।घटनाको विरोधमा प्रदर्शनकारीले विभिन्न स्थानमा सडक अवरुद्ध गरेपछि पूर्व–पश्चिम लोकमार्ग समेत बन्द भएको छ। सडक अवरुद्ध हुँदा सयौं यात्रु तथा मालवाहक सवारी साधन बाटोमै रोकिएका छन्। सुरक्षा निकायले सडक खुलाउने प्रयास गरिरहेको जनाएको छ।
सरकारले घटनाको निष्पक्ष छानबिन हुने र दोषी देखिने जो–कोहीमाथि कानुनअनुसार कारबाही गरिने जनाएको छ। यता सुनसरीको अवस्था अझै पूर्ण रूपमा सामान्य हुन नसकेको भन्दै प्रशासनले सर्वसाधारणलाई अफवाहमा नलाग्न र सुरक्षा निकायसँग सहयोग गर्न आग्रह गरेको छ।
यसैबीच सुनसरीको देवानगञ्ज गाउँपालिका–३ को कप्तानगञ्जमा स्थानीय प्रदर्शनमा उत्रिएपछि नेपाली सेनालाई सडकमा उतारिएको छ ।
आइतबार राति दुई समुदायबीच झडप भएको थियो । सो क्रममा प्रहरीले चलाएको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि झनै स्थानीय आक्रोशित भएका थिए ।
स्थिति नियन्त्रण बाहिर गएपछि जिल्ला प्रशासन कार्यालयले देवागञ्जसहित पाँचवटा क्षेत्रमा बेलुका ७ बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ । तर, यसका प्रवाह नगरी स्थानीय पुनः प्रदर्शनमा उत्रिन थालेपछि नेपाली सेनालाई गस्तीमा खटाइएको छ ।
स्थितिलाई नियन्त्रणमा लिन र थप धनजनको क्षति हुन नदिन नेपाली सेना बख्तरबन्द गाडीसहित कप्तानगञ्जका बस्तीमा गस्तीमा खटिएको छ ।
नेपाली सेनासहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल पनि सुरक्षामा खटिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल बिहानैदेखि बाक्लो संख्यामा सुरक्षामा खटिएको छ । तर, करफ्यू उल्लंघन गरेर स्थानीय प्रदर्शनमा उत्रिन थालेपछि नेपाली सेनालाई समेत गस्ती खटाइएको हो । प्रदर्शनमा उत्रिएका स्थानीयले आगजनी र तोडफोड गर्न थालेका छन् ।