नवलपुरमा अचेत भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु

नवलपुरमा अचेत भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ११ साउन २०८३
  • 646
    Shares

TWO WOMEN DEAD ONCE AT A TIME IN GAIDAKOT

नवलपुर, ११ साउन २०८३।

नवलपुरको गैंडाकोटमा आइतबार अचेत अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

गैंडाकोट नगरपालिका–१० स्थित अकलामाई मन्दिर नजिकै पूर्व–पश्चिम राजमार्गको बायाँ किनारमा रहेको चौरमा आइतबार अचेत अवस्थामा भेटिएका बागलुङको जैमिनी नगरपालिका–९ घर भई हाल गैंडाकोट–१२ हर्कपुरमा डेरा गरी बस्ने ३८ वर्षीया कबिता राई र भोजपुर घर भई हाल गैंडाकोट–१० पितौजी बस्ने करिब ४५ वर्षीया कान्छी राईको उपचारका क्रममा नगर अस्पताल भेडाबारीमा मृत्यु भएको हो।

अचेत अवस्थामा भेटिएका उनीहरुलाई तत्काल उद्धार गरी नगर अस्पताल भेडाबारी पुर्‍याइएकोमा उपचारकै क्रममा चिकित्सकले दुवैलाई मृत घोषणा गरेका प्रहरीले जिकिर गरेको छ।

प्रहरीका अनुसार दुवै महिला साथी थिए र ज्याला–मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका थिए। घटनास्थलको प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले अत्यधिक मदिरा सेवन गरेको हुन सक्ने देखिएको भए पनि मृत्युको वास्तविक कारण अझै खुल्न सकेको छैन।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता डीएसपी अनिल पण्डितले प्रारम्भिक अवस्थाले अत्यधिक मदिरा सेवनका कारण मृत्यु भएको हुन सक्ने संकेत गरे पनि निष्कर्षमा पुग्न अझै बाँकी रहेको बताए।

उनका अनुसार घटनास्थलबाट तयारी खाजाका प्याकेट, कुरकुरे तथा मदिराका बोतल बरामद भएका छन्। स्थानीयले पनि सोही स्थानमा उनीहरूले खाजा र मदिरा सेवन गरेको बताएका छन्।

प्रहरीले मृतकहरूको शरीरमा कुनै बाहिरी चोटपटक नदेखिएको जनाएको छ। त्यसैले अत्यधिक मदिरा सेवन, त्यसको प्रतिकूल प्रतिक्रिया वा मदिराको गुणस्तरसँग सम्बन्धित कुनै कारण हुन सक्ने कोणबाट अनुसन्धान अघि बढाइएको छ।

एकै समयमा दुवै महिलाको मृत्यु भएकाले घटनालाई रहस्यमय रूपमा पनि हेरिएको छ। प्रहरीले उनीहरूले मदिरा कहाँबाट खरिद गरेका थिए, त्यस समयमा उनीहरूसँग अन्य व्यक्ति थिए वा थिएनन् भन्ने विषयमा समेत अनुसन्धान गरिरहेको जनाएको छ।

दुवै शव पोस्टमार्टमका लागि पठाइएको छ। पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि मृत्युको कारण मदिराको अत्यधिक सेवन, विषाक्त मदिरा वा अन्य कुनै कारण हो भन्ने यकिन हुने प्रहरीको भनाइ छ। हाल घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया