कैलाश सिरोहिया गिरफ्तारी प्रकरण : फौजदारी कसुर कि प्रेस माथिको हस्तक्षेप ?

कैलाश सिरोहिया गिरफ्तारी प्रकरण : फौजदारी कसुर कि प्रेस माथिको हस्तक्षेप ?


  • ओम हमाल
  • बुधबार, ९ जेष्ठ २०८१
  • 5K
    Shares

गिरफ्तार हुँदै कान्तिपुर मिडिया फ्रूपका अध्यक्ष कैलाश सिरोहिया

पोखरा, ९ जेठ २०८१/

“नेपालको सत्ता चाहेको बेला ढलाउन सक्छु” भन्ने दम्भ रहेको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया दोहोरो नागरिकताको कसुरमा मंगलबार साँझ काठमाण्डौको थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको मुख्यालयबाटै गिरफ्तार भएका छन् । सिरोहियाको गिरफ्तारीसंगे नेपाली राजनीतिमा १० रेक्टर स्केलको भुँइचालो गएको छ भने फौजदारी कसुरलाई प्रेस स्वतन्त्रतासंग जोडेर स्वतन्त्र प्रेसमाथिको हस्तक्षेप भन्दै कोकोहोलो मच्चाउन शुरु गरिएको छ।

आफ्नो धारणा राख्न नसक्ने सांसदहरु कान्तिपुरमा आएको समाचार देखाउंदै “कान्तिपुरले यस्तो लेखेको छ” भन्दै संसदमा आक्रामक रुपमा प्रस्तुत हुने गरेका छन्। त्यही कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया दोहोरो नागरिकताको कसुरमा गिरफ्तार हुनै लाग्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु उनको प्रतिरक्षाका लागि कान्तिपुर मिडिया ग्रुपको मुख्यालयमा नै पुगेर प्रेस स्वतन्त्रताका नाममा नाराबाजी गरे। राजावादी पार्टी भनेर चिनिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पनि मध्यराती सामाजिक संजाल फेसबुकमा एक स्टाटस राखेर सिरोहियाको गिरफ्तारीलाई अनुपयुक्त भनेका छन्।

राजतन्त्रको चर्को दमन चलिरहेका बेला “नेपालमा गणतन्त्र ल्याउनुपर्ने” आवाज उठाउने नेपाल बार एशोशिएसनका तत्कालिन अध्यक्ष शम्भु थापा पनि कान्तिपुर मिडिया ग्रुपको मुख्यालयमा नै पुगेर सिरोहिया गिरफ्तारीको बिरोधमा उत्रिए। ठुल-ठुला मिडिया र बरिष्ठ भनिएका पत्रकारहरुले सिरोहियाको गिरफ्तारीलाई स्वतन्त्र प्रेस माथिको हनन् भन्दै बिरोध गरिरहेका छन्।

सिरोहियाको गिरफ्तारीको बिरोध गर्दै लोकतन्त्रको दुहाइ दिने नेता तथा पत्रकारहरुले त्यस गिरफ्तारीको बिरोध गर्नु पर्दा पछाडी लुकेका कारणहरु हुनसक्छन। देशकै अर्थतन्त्र डुब्ने गरी लाखौँ नेपाली जनताको उठिबास हुने गरी देशैभर सैयौं सहकारीहरू डुब्न लाग्दा, त्यसको बेवास्ता गर्ने कान्तिपुरले, एक चोटी अमेरिकी नागरिक बनिसकेका र अहिले फेरी नेपाली नागरिकता लिएका उपप्रधान एबम गृहमन्त्री रबि लामिछानेलाई मात्र केन्द्रित गरेर समाचार छापिरहेको छ।

लामिछानेले गरेका गल्तीहरूका सजायं उनले नै भोग्ने हो र गल्तीमा माफी दिनै हुँदैन। सहकारी ठगी प्रकरणमा उनीमाथि छानबिन हुनै पर्छ। किनकि त्यहाँ मकै पोलेर जिविको चलाएका र बालुवा चालेर छाक टार्दै सुन्दर सपना साकार पार्न सहकारीमा रुपियाँ-रुपियाँ जम्मा गरेका गरीब, किसान र मजदुरहरुका आँसु र पसिना छन्। उनीहरुको आँसु र पसिना मिसिएको पैसा जो जसले खाएको भए पनि छानबिन गरेर कानूनको दायरामा ल्याउनु पर्छ। त्यसरी कानूनको दायरामा ल्याउन पर्ने रबि लामिछाने एक मात्र व्यक्ति हैनन्।

रबि लामिछानेको बिरुद्ध समाचार हालिरहेको कान्तिपुरले त्यहि रबि लामिछानेको नामसंगैको हरफमा नाम जोडिएका आफ्नै मिडिया हाउसका कर्पोरेट शाखा प्रमुखका बिरुद्ध समाचार बनाउदैन। त्यही ठगी प्रकरणमा जोडिएका अन्य नेता र तिनका सन्तानहरुका बारेमा कान्तिपुर समाचार छाप्दैन। मात्र एकोहोरो रटान दिएर रबि लामिछाने विरुद्धका समाचार मात्र खोजि खोजि छापिरहेको छ। कान्तिपुरका समाचार हेर्दा त्यो मिडिया रबि लामिछाने बिरुद्ध लागेको जस्तो प्रस्ट देखिन्छ।

सर्वसाधारण जनताले प्रत्यक्ष अनुभूत हुने गरी रबि लामिच्छानेबिरुद्ध प्रतिशोधपूर्ण समाचारहरु पूर्वाग्रही रुपमा छापेको कान्तिपुरले आफ्नो मालिक गिरफ्तार हुँदा प्रतिशोध साँधियो भन्न मिल्छ ?

के कान्तिपुर भनेको लोकतन्त्र र लोकतन्त्र भनेकै कान्तिपुर मात्र हो ? के कान्तिपुर र त्यसका मालिक कैलाश सिरोहिया संबिधानभन्दा माथि छन् ? के उनीविरुद्ध छानबिन गर्ने नहुने हो ? उनीविरुद्ध छानबिन गर्दा लोकतन्त्र र प्रेस स्वतन्त्रता खतम हुन्छ भन्ने हो भने यति धेरै नेपालि जनताले गरेको बलिदानी र त्यागले ल्याएको लोकतन्त्र कान्तिपुरको रक्षा गर्न मात्र हो ?

पक्कै पनि त्यति धेरै नेपाली जनताको बलिदानी र त्यागले आएको लोकतन्त्रको अनुभूति अन्य नेपाली जनताले पनि गर पाउनु पर्छ। कानूनत: दोहोरो नागरिकता लिनु सजायं योग्य फौजदारी कसुर हो। अझ स्पस्ट भन्दा नागरिकता भनेको राष्ट्रियतासंग जोडिएको बिषय हो। राष्ट्रियतासंग जोडिएको बिषयमाथि छनबिन गर्न खोज्दा कसरी लोकतन्त्र र स्वतन्त्र प्रेस माथि हनन हुन्छ ?

राज्यका यही संरचना र अदालतभित्रको राजनीतिक चलखेलले कैलाश सिरोहिया दोषी ठहरिएलान् भन्ने अवस्थै छैन। किनकि ती सबै क्षेत्रमा कान्तिपुरको त्रास छ। आझ स्पस्ट भनौं, राजनीतिक भागबन्डामा नियुक्ति पाएका न्यायाधीशले निश्पक्ष रुपमा फैसला गर्लान त भन्नेमा आम नेपाली जनताको सन्देह छ। आम नेपाली जनातालाई घोक्र्याउदै मुन्त्याउदै लैजाने प्रहरीले दोहोरो नागरिकता जस्तो गम्भीर फौजदारी अपराधमा आरोपित कैलाश सिरोहियालाई आफ्नै गाडीमा ससम्मान लगेको देखियो। आम नेपाली जनता दुर्गन्ध आउने सानो कुचुक्क परेको काल कोठरीमा कोचिनु पर्ने तर के सिरोहियाले त्यस्तै कोठरीमा रात बिताउलान त ? पक्कै पनि तिनले त्यस्तो कालकोठरीमा रात-दिन बिताउने छैनन।

काठमाण्डौबाट गिरफ्तार सिरोहियालाई उनीविरुद्ध मुद्दा चलेको जिल्ला धनुषा लगिदै छ। सम्भवत: उनी धनुषा पुग्दा यता सर्बोच्च अदालत खुल्नेछ र उनलाई जमानत वा धरौटीमा छाड्न आदेश हुनेछ। उनलाई कुनै कालकोठरीमा बस्ने पर्ने छैन। यदि उनलाई हिरासतमा राख्न आदेश भएछ भने पनि उनी जे जति दिन हिरासत बस्नुपर्ने हो, डाक्टरका नक्कली सिफारिशमा सुबिधासम्पन्न अस्पतालमा बस्नेछन।

सुबिधा सम्पन्न अस्पतालमा बसेर मुद्दा लड्ने सुबिधा पाउने नै भए पछि अदालतको आदेशमा प्रहरीले गर्ने अनुसन्धानमा सहयोग गर्दा के हुन्छ त ? उनले आफू निर्दोष साबित गर्न सके त बाँकी जीवन निर्धक्कसाथ् बिताउन सक्नेछन त। निर्दोष छन् भने अत्तालिनुपर्ने र स्वतन्त्र प्रेस र लोकतन्त्रको दुहाइ दिन पर्ने आबश्यकतै छैन नि।

अब अदालतको अनुमतिमा प्रहरीले गर्न खोजेको अनुसन्धानका आधारहरुलाई केलाएर हेरौं। धनुषा प्रहरीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ गर्नुका ६ आधार सार्वजनिक गरेको छ।

अनुसन्धान अधिकृत प्रहरी निरीक्षक नवराज खड्काले जारी गरेको विज्ञप्तिमा सिरोहियाका नागरिकतामा देखिएका कैफियतपूर्ण तथ्यहरू यसप्रकार उल्लेख गरिएको छ-

१) कैलाशप्रसाद सिरोहियाले जिल्ला प्रशासन कार्यालय, धनुषाबाट ३९६९८८८६ नम्बरको नेपाली नागरिकता प्रमाण पत्र लिएको तर उनले नागरिकता लिनुपूर्व नै त्यही नम्बरको नागरिकता शिवजी साहु तेलीको नाउँमा जारी भएको देखिएको।

२) जिल्ला प्रशासन कार्यालय, धनुषाको च.नं. १३२१३, मिति २०८१/०१/२० को पत्र अनुसार प्राप्त जवाफमा ०३३/३४ को बालिग रेकर्डमा विदेशी बाबुआमाबाट नेपाल अधिराज्यमा जन्म भएका नागरिकको नागरिकताहरूको दर्ता किताबमा नाम दर्ता रहेको देखिनुका साथै घासीराम मारवाडी (सिरोहिया) को सन्तानहरू गोपालप्रसाद सिरोहिया, गोविन्दप्रसाद सिरोहिया र पुनमकुमारी सिरोहियाको नागरिकता अंगीकृत नेपाली भएको र नाम प्रस्ट नभएको, कैलाशप्रसाद सिरोहियाको नागरिकता जन्मसिद्ध नेपाली रहेको देखिएको।

३) कैलाशप्रसाद सिरोहियाले विसं २०५७/०६/२९ मा नागरिकताको प्रतिलिपि लिँदा जिल्ला प्रशासन कार्यालयको धनुषाको रेकर्ड पुस्तिका (ढड्डा) मा फोटो सहितको अभिलेखमा अधिकार प्राप्त अधिकारीको दस्तखत गरेको नपाइएको, जन्म मितिको महलमा १८ वर्ष उमेर उल्लेख गरेको पाइएको उक्त रेकर्डमा जन्म मिति उल्लेख नरहेको।

४) सोही व्यहोराको निज व्यक्तिले प्राप्त गरेको नागरिकताको प्रतिलिपिमा जन्म मितिको महलमा १८ वर्ष र कोष्टमा जन्म मिति २०१९/०८/२९ समेत लेखेको पाइएको हुँदा जन्म मितिमा उल्लेखित अंकको आकृति, उक्त प्रतिलिपिमा उल्लेख भएका उमेर र अन्य अंकहरूको आकृतिसँग मेल नखाएको तथा फरक देखिएकोले पछि कोष्टमा जन्म मिति थपी किर्ते गरेको देखिएको।

५) कैलाशप्रसाद सिरोहियाले प्रथमपटक प्राप्त गरेको नागरिकता प्रमाणपत्रको जारी मितिको महलमा २०३६/०५/२५, जन्म मितिको महलमा १८ वर्ष उल्लेख गरेको पाइएको तर निजले २०५७/०६/२९ मा प्राप्त गरेको नागरिकताको पहिलो प्रतिलिपिमा जन्म मितिको महलमा १८ वर्ष, जन्म मिति २०१९/०८/२९ लेखेको पाइएकोले उमेर, जन्म मिति र नागरिकताको जारी मितिबीच उमेर हिसाब गर्दा १६ वर्ष ८ महिना हुन आएकाले उल्लेखित १८ वर्ष उमेर मेल नखाएको देखिएको।

६) कैलाशप्रसाद सिरोहियाले नागरिकता लिँदा पेस गर्नुपर्ने कागजातहरूको अभिलेख फेला नपरेको।

प्रहरीले सिरोहियाका नागरिकाताका सम्बन्धमा उठेका प्रश्नहरुका बारेमा पक्कै पनि अनुसन्धान गर्नेछ।  अनुसन्धानका आधारहरु हेर्दा उनी फौजदारी कसुरमा दोषी ठहरिने स्पस्ट देखिन्छ।  ताकालिन अवस्थामा कानूनत: नेपाली नागरिकता लिन १८ वर्ष पुग्नु पर्ने देखिन्छ।  २०१९/०८/२९ मा जन्मिएका कैलाश सिरोहियाले १८ वर्ष नपुग्दै २०३६/०५/२५, गते कसरी नेपाली नागरिकता लिए ? उनका बाबु, दाजूभाइ र बहिनीको नागरिकता अंगीकृत हुने तर कैलाश सिरोहियाले उमेर नपुग्दै कसरी बंशजको आधारमा नागरिकता लिए ? नेपालभित्र नागरिकताको प्रमाणपत्र नम्बर एउटाको अर्कोसँग कोहि कसैसंग मिल्दैन।  तर कैलाश सिरोहियाले देखाउने गरेको नागरिकता नम्बरमा त्यो भन्दा पहिले नै अर्कै व्यक्तिले नागरिकता लिएको देखिएको छ।  त्यो कसरी भयो ? कैलाश सिरोहियाले विभिन्न निकायमा पेश गरेका नागरिकताको प्रतिलिपीहरुमा नागरिकता नम्बर फरक-फरक देखिएका छन्।  त्यो कसरी भयो ? त्यस बारेमा के कैलाश सिरोहिया अनविज्ञ थिए त ? पक्कै पनि थिएनन्।  तसर्थ उनको नागरिकता बिबाद बारेमा छानबिन गर्न दिउँ। यसलाई राजनीति, लोकतन्त्र र प्रेस स्वतन्त्रतासंग जोडेर नहेरौं।

कैलाश सिरोहिया बारे अदालतले के आदेश गर्ला ? धेरैले अनुमान गरिसकेका होलान। कानूनभन्दा माथि कोही पनि छैन।

 

 

प्रतिक्रिया