४३ वर्ष अघिको घटनाको हत्यारा आफ्नै गाउँको मन्दिरमा पुजारीको भेषमा पक्राउ

४३ वर्ष अघिको घटनाको हत्यारा आफ्नै गाउँको मन्दिरमा पुजारीको भेषमा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ३० साउन २०८३
  • 969
    Shares

पोखरा , ३० साउन २०८३।

४३ वर्ष अघि भएको एक हत्याकाण्डका दोषी आफ्नै गाउँमा रहेको मन्दिरको पुजारीको भेषमा पक्राउ परेका छन्।

कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भई ४३ वर्षदेखि फरार रहेका सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका–५ निवासी करिब ८० वर्षीय ठकाई यादव आफ्नै गाउँको शिव मन्दिरमा पुजारीको भेषमा काम गरिरहेको बेला पक्राउ परेका छन्।

मन्दिरमा बोका चढाउने विषयमा विवादपछि हत्या

प्रहरीका अनुसार २०४१ साल वैशाख १ गते नयाँ वर्षको अवसरमा गाउँको राजदेवी मन्दिर परिसरमा मेला लागेको थियो। सोही क्रममा बोका चढाउने विषयमा विवाद उत्पन्न भएपछि घटना भएको थियो।

विवादपछि मौजेलाल यादवको योजनामा भारतबाट समेत पहलवान बोलाई स्थानीय रजिन्द्र यादवलाई घेरा हालेर कुटपिट गरिएको र गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि तत्कालीन खरुकियाही गाउँ पञ्चायत–४ का बालेश्वर यादवको जाहेरीका आधारमा मुख्य योजनाकार मौजेलाल यादव र मतियार ठकाई यादवसहित १२ जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता भएको थियो।

सिरहाका प्रहरी सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालका अनुसार तत्कालीन सगरमाथा अञ्चल अदालतका न्यायाधीश मिनबहादुर रायमाझीको इजलासले २०४६ पुस २५ गते फैसला गर्दै मुख्य योजनाकार मौजेलाल यादवलाई २० वर्ष कैद तथा ठकाई यादवसहित अन्य मतियारलाई एक वर्षसम्म कैद सजाय सुनाएको थियो।

फैसलापछि ठकाई केही समय अन्यत्र लुकेर बसेको र बहुदलीय व्यवस्था पुनःस्थापनापछि गाउँ फर्किएर आफ्ना बाबुले गर्दै आएको मन्दिरको पूजारीको जिम्मेवारी सम्हाल्दै आएको प्रहरीले जनाएको छ।

जग्गा रोक्काबाट खुल्यो ४३ वर्ष पुरानो घटना

अदालतबाट कैद सजायको फैसला भए पनि प्रतिवादीहरू फरार रहेकाले फैसला कार्यान्वयन हुन सकेको थिएन। प्रहरीले पुराना मुद्दाका फरार प्रतिवादीको खोजी गर्ने क्रममा उक्त घटनाको अनुसन्धान तथा फैसला कार्यान्वयनलाई पुनः अघि बढाएको जनाएको छ।

फरार प्रतिवादीमध्ये हेमनारायण चौधरीका भाइ आफ्नो दाजुको कारणले जग्गा रोक्का भएको भन्दै स्थानीय प्रहरीमा पुगेपछि पुरानो मुद्दाका अन्य प्रतिवादीबारे समेत खोजतलास अघि बढाइएको थियो।

पुरानो मुद्दाको फैसला र अभिलेख खोजी गरी विवरण यकिन गर्ने क्रममा ठकाई यादव जीवितै रहेको र गाउँमै पूजारीका रूपमा बस्दै आएको खुलेपछि प्रहरीले उनको खोजी तीव्र बनाएको थियो। अन्ततः उनलाई स्थानीय शिव मन्दिरबाट पक्राउ गरिएको हो।

प्रहरीका अनुसार उक्त घटनामा मुख्य योजनाकार मौजेलाल यादवसहित अन्य ११ जना प्रतिवादीको कैद सजाय कार्यान्वयन हुन सकेको थिएन। ठकाईबाहेक सबै प्रतिवादीको कालगतिले मृत्यु भइसकेको प्रहरीले जनाएको छ।

उक्त मुद्दाको अन्तिम फैसला गर्ने न्यायाधीश मिनबहादुर रायमाझी पछि सर्वोच्च अदालतको १९औँ प्रधानन्यायाधीश बनेर सेवा निवृत्त भइसकेका छन्। पुरानो फैसला सम्बन्धी कागजात खोजी तथा अध्ययन गरी अदालतको निर्णय यकिन गरेपछि ठकाईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया