केन्द्रीय नेतृत्व तहबाटै महासंघलाई गैरपत्रकारहरु भर्ना गरेको भन्दै क्रान्तिकारी पत्रकारहरुले नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा विरोधसहित धर्ना–जुलुस गरेका छन् । महासंघको राजनीतिक दलको भातृ संस्थाका रुपमा झार्ने प्रयत्नप्रति उनीहरुले आपत्ति प्रकट गरेका छन् ।
क्रान्तिकारी पत्रकार संगठन नेपालको नेतृत्वमा तीन दर्जनभन्दा बढी पत्रकारहरुसहित बुधबार दिउँसो केन्द्रीय कार्यालय संचारग्राममा पुगेर महासंघलाई व्यवसायिक पत्रकारहरुको साझा संस्थाको रुपमा कायम राख्न माग गरेका छन् ।

श्रमजीवि पत्रकारहरुको हक, हित र अधिकारको रक्षा तथा नागरिकको अभिव्यक्ति स्वतन्त्रताको राजनीतिक परिवर्तनमा समेत महासंघले खेलेको भूमिका सबैका लागि गर्व गर्न लायक भएको बताउँदै लामो र गर्विलो इतिहास बोकेको महासंघलाई पछिल्लो समयमा विवादस्पद बनाउने प्रयत्न भईरहेको धर्नामा सहभागि पत्रकारहरुले बताएका छन् । नागरिकको अगुवा संस्थाको रुपमा स्थापित महांघको भूमिकालाई अझ सुदृढ गर्ने, यसको गरिमालाई उँचो बनाउनेभन्दा अमूक राजनीतिक दलको भातृ संस्थाका रुपमा झार्ने प्रयत्नप्रति हाम्रो संगठन गम्भीर आपत्ति प्रकट गर्दछ ।

अपरान्ह १ बजेदेखि २ बजेसम्म एक घण्टा धर्ना बसेको थियो । नयाँ सदस्यता वितरणमा केही पार्टीहरुले महासंघलाई राजनीतिक भर्ती केन्द्र बनाई इमान्दार पत्रकारलाई निषेध गरिएको संगठनका महासचिव कृष्णकुमार श्रेष्ठ ‘प्रज्वल’ले बताए । सदस्यता सुद्धिकरण गर्नु र गैरपत्रकारहरुको सदस्यतामाथि छानबिन गरी खारेज गर्नुपर्ने उनले बताए । विभिन्न जिल्लाहरुमा सत्तारुढहरुको निर्देशन र प्रभावमा दलीय सिन्डिकेट खडा गरी असल पत्रकारलाई सदस्यता लिनबाट बञ्चित गरिएको उनले बताए ।
‘महासंघलाई राजनीतिक भर्ती केन्द्र बनाउन पाइँदैन, सदस्यता सुद्धिकरण गर, गैरपत्रकारहरुको छानबिन गर’लगायत नारा लगाई एकघण्टासम्म मूल ढोकामा धर्ना बसेको थियो । संगठनका महाचिव प्रज्वलले एक प्रेस विज्ञप्ति जारी गरी विधान विपरीत सदस्यता खारेज गर्न माग गरेका छन् ।

महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले संगठनले उठाएको माग जायज भएको र बिहीबारसम्म वार्ताको माध्यमबाट माग पूरा गर्ने आश्वसन दिएको संगठनका उपाध्यक्ष दीपेन्द्र रावलले जानकारी दिए । महासचिव उजिर मगर, उपाध्यक्ष अनिता विन्दुको उपस्थिति थियो ।
पढ्नुस क्रान्तिकारी पत्रकार संगठनको प्रेस विज्ञप्ति
