नौ राजनीतिक दलहरुले संविधान संशोधन प्रस्ताव संसद बैठकमा पेश भए अवरोध गर्ने निर्णय गरेकाकारण व्यवस्थापिका संसदको बैठक आज पनि बस्दै नबसी स्थगित भएको छ । आज दिउँसो दुई बजे बस्ने भनिएको संसद बैठक भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको छ ।
मंगलबारको बैठक पनि सूचना टाँसेर स्थगित गरिएको थियो । आजको बैठकमा संविधान संशोधन विधेयक पेश गर्ने तयारी थियो । सो विधेयकलाई पेश गर्नै नदिने र पेश गरिए असफल पार्ने एमालेसहित विपक्षी नौ दलले चेतावनी दिएका छन् ।
यसअघि नौ राजनीतिक दलहरुले संविधान संशोधन प्रस्ताव संसद बैठकमा पेश भए अवरोध गर्ने निर्णय गरेका थिए । व्यवस्थापिका संसदको आजको बैठकमा संविधान संशोधन विधेयक अघि बढाउने तयारी सरकारले गरेको थियो ।
त्यसअघि रणनीति बनाउन प्रमुख विपक्षी दल नेकपा एमालेसहित नौ दलको संयुक्त बैठक बसेको थियो । बैठकले संशोधन विधेयकलाई अघि बढाउन नदिने निर्णय गरेको थियो ।
सरकारले स्थानीय चुनावको मिति घोषणा गरेपछि एमालेसहित विपक्षी दलहरु केही लचिलो देखिए पनि संशोधन विधेयक भने फेल गराइछाड्ने बताएका छन् ।