सरकारले राजनैतिक हस्तक्षेप गरी नेपाल प्रहरीको महानिरिक्षक्र पदमा डिआईजी जयबहादुर चन्दलाई नियुक्ति गर्ने निर्णय गरेपछि यस निर्णयको ब्यापक आलोचना भैरहेको छ भने प्रहरी संगठनभित्र व्यापक असन्तुस्टी पैदा भएको छ l
सर्बत्र आलोचना र असंतुस्तिका बीच सर्वोच्च अदालतले जयबहादुर चन्दलाई नेपाल प्रहरीको प्रमुख बनाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । सरकारले आइतबार विहान मात्र डीआईजी चन्दलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको थियो ।
तर, त्यसको केही घन्टा लगतै प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । साथै चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय र ११ जना डीआईजीको कार्यसम्पदन फाइल झिकाउन आदेश दिएको छ । अधिवक्ता भीमार्जुन आचार्यका अनुसार विपक्षीलाई झिकाउन पनि आदेश दिइएको छ ।
आइजीपी बनाईपाउँ भन्दै नवराज सिलवाल सर्वोच्चमा
आफूलाई प्रहरी महानिरीक्षक बनाईपाउँ भन्दै डीआइजी नवराज सिलवालले आइतबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । सिलवालको रिटमाथि सोमबार सुनुवाई हुने भएको छ ।आइतबार विहानै बसेको मन्त्रिपरिषद बैठकले तेस्रो बरियताका डीआइजी जयबहादुर चन्दलाई आइजीपी बनाउने निर्णय गरेको थियो । त्यसको केही घण्टामै डीआइजी सिलवालले अदालतको ढोका ढक्ढकाएका हुन् ।

डीआइजी सिलवालले दर्ता गरेको रिट निवेदनमा आफू बरियताको पहिलो नम्बरमा हुँदाहुँदै रोलक्रम मिचेर तेस्रो बरियताका चन्दलाई आइजीपी नियुक्त गरिएकाले मन्त्रिपरिषदको निर्णय बदर गरी आफूलाई आइजी बनाउने आदेश जारी गरी पाउँ भन्ने माग गरिएको छ । सिलवालको रिट सोमबारका लागि पेशीमा चढेको छ ।
यसैवीच आइतबार नै सर्वोच्च अदालतले जयबहादुर चन्दलाई आइजीपी बनाउने निर्णय यथास्थितिमा राख्नू भनेर अन्तरिम आदेश दिइसकेको छ । अधिवक्ता कपिलदेव ढकालले शुक्रबार दायर गरेको रिटमा प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले अन्तरिम आदेश दिएको हो ।
कार्यवाहक महानिरीक्षकको जिम्मेवारी पोखरेललाई
डीआईजी नवराज सिलवाल र जयबहादुर चन्दको विवाद अदालत पुगेपछि महानिरीक्षक उपेन्द्रकान्त अर्यालले तेस्रो व्यक्तिलाई कार्यबाहक सुम्पिएर घर जाने तयारी थालेका छन् । प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल ३० वर्षे सेवा अवधिका कारण आइतबार अनिवार्य अवकास पाउँदैछन् ।
अर्यालको कार्यकालको अन्तिम दिन आइतबार विहानै सरकारले डीआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो । तर, केही घन्टामै सर्वोच्च अदालतले निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दियो । सर्वोच्चको आदेशपछि प्रहरीले महानिरीक्षक पाउन केही समय कुर्नु पर्ने भएको छ । तर, अर्यालको विदाइका कारण तत्काल कार्यबाहक छान्नु पर्ने बाध्यता छ ।
कार्यबाहकको खोजीमा लागेका प्रहरी प्रमुख अर्यालले सिलवाल वा चन्द दुबैले छाडेर प्राविधिक तर्फका एआईजीलाई कार्यबाहक प्रहरी प्रमुख बनाउने भएका छन् । एआईजी डा. दिनेशचन्द्र पोखरेलले कार्यबाहक प्रहरी प्रमुखको जिम्मेवारी पाउने भएका हुन् । प्राविधिक तर्फका एआईजी हाल नेपाल प्रहरी अस्पतालको प्रमुखका रुपमा कार्यरत छन् ।