मोरङ जिल्लाको रंगेली बजारमा भएको हिंसात्मक झडपमा परी दुई महिलासहित तीन जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् । रंगेलीमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर ५८ वर्षीया द्रोपतीदेवी चौधरीको मृत्यु भएको छ । त्यसैगरी प्रहरीको गोली लागेर उपचारका लागि बिराटनगरस्थित गोल्डेन अस्पतालमा भर्ना गरिएका बरडंगा गाविस २ का ४२ वर्षीय महादेव ऋषिदेव को पनि मृत्यु भएको छ ।रंगेलीकै छिमेकी गाविस डाइनियामा पनि प्रहरीसँगको झडपमा अर्का एक प्रदर्शनकारी डाइनियाका शिबु माझीको ज्यान गएको छ ।
युवा संघको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली जाने भनेपछि मधेसी मोर्चाले रंगेली क्षेत्रमा बन्द आहृवान गर्दै लगातार प्रदर्शन गरेपछि रंगेली तनावग्रस्त भएको हो । बिहीबार कार्यक्रममा प्रधानमन्त्री नगएपनि एमाले महासचिव ईश्वर पोखरेल उपस्थित भएको कार्यक्रम पनि मोर्चाले विथोल्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।
सर्वदलीय बैठकमा राजनीति दलका प्रतिनीधिले सत्ताको उन्माद र मधेसी मोर्चाको हठका कारण रंगेली घटना भएको बताएका छन्। उनीहरुले अहिलेको अवस्थामा रंगेलीमा कार्यक्रम आयोजना गर्नु एमालेको ठूलो कमजोरी रहेको बताए।
‘मधेसी मोर्चालाई उर्लावारीमा कार्यक्रम गर्न समस्या छ, त्यो थाह हुँदाहुँदै पनि निहुँ खोज्न जानु भएन,’ नेकपा–माओवादीका संयोजक कुशल लिम्बूले भने, ‘त्यस्तै, एमालेलाई रंगेली र क्रसियामा कार्यक्रम गर्न समस्या छ, त्यो थाह हुँदाहुँदै कार्यक्रम गरियो।’ उनले रंगेलीमा कार्यक्रम गरेर एमालेले निहुँ खोजेको आरोप लगाए।
काँग्रेसका सचिव यदु विष्ट, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का सांसद पवन सारडा, राप्रपा नेपालका सुरेन्द्र थापा लगायतले रंगेली घटना दुखद रहेको बताए। उनीहरुले एमाले र मोर्चाको जुँगाको लडाइँका कारण रंगेलीमा तीनजनाको ज्यान गएको बताए। नेकपा एमालेका अध्यक्ष महेश रेग्मीले लोकतान्त्रिक पद्दतीमा शान्तिपूर्ण कार्यक्रम बिथोल्नु गैर जिम्मेवार कार्य भएको बताए।
जानकारी नदिएको कार्यक्रम रोकिने
मोरङका प्रजिअ रायाले प्रशासनलाई जानकारी नगराई कुनैपनि राजनीति कार्यक्रम गरिए त्यो रोकिने बताएका छन्। रंगेलीमा एकै दिन, एकै समयमा एमाले र मधेसी मोर्चाले तय गरेको कार्यक्रमबारे प्रशासन जानकार थियो कि थिएन ? भन्ने राजनीति दलका प्रतिनीधिहरुको प्रश्नमा प्रजिअ रायाले भने, ‘अव प्रशासनलाई जानकारी नदिइएको कार्यक्रम हामी हुन दिन्नौं।’
उनले प्रशासनको निर्णय अप्रिय लागेपनि सुरक्षा दृष्टिकोणले जानकारी नगराइएको कार्यक्रम हुन नदिने बताए। रायाले राजनीतिक दलले गर्ने हरेक प्रकारको कार्यक्रम बारे प्रशासनमा अग्रिम जानकारी गराउनुपर्ने बताए।