विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी औपचारिक रुपमा विभाजित भएको छ। सो पार्टीभित्र रहेको चुनाब बहिष्कार पक्षधर नेता तथा कार्यकर्ताहरुले नयाँ पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (बहुमत) राखेका छन्।
पार्टीको रोल्पाको थवाङमा सम्पन्न आठौँ महाधिबेशनले तय गरेको बैज्ञानिक समाजवाद स्थापनाका लागि एकीकृत जनक्रान्तिको कार्यदिशालाई खारेज गर्दै नवगठित नेकपा (बहुमत)ले एकीकृत जनयुद्धको कार्यदिशा प्रस्ताब गरेको छ।
चितवनमा सम्पन्न तीन दिने बिशेष राष्ट्रिय भेलाले आगामी एक वर्षभित्र नवौं महाधिबेशन गर्ने प्रस्ताब गरेको छ। अद्यापि मिति र स्थान भने तय गरेको छैन। पार्टीको त्यही आगामी नवौं महाधिबेशनले एकीकृत जनयुद्धको कार्यदिशालाई पारित गरेर अघि बढ्ने बताइएको छ।
पार्टीले एकीकृत जनक्रान्तिको कार्यदिशा खारेज गरेसंगे त्यस पार्टीद्वारा अघि सारिएको जनमत संग्रह सम्बन्धि कार्यक्रम स्वत: खारेज भएको समाचारस्रोतहरुको भनाई छ। अद्यापि अहिले नयाँ कार्यक्रम पारित भै नसकेको अवस्थामा नेकपा (बहुमत)ले ‘दलाल” संसदीय ब्यबस्था अन्तरगत हुने जुनसुकै चुनाबहरु बहिष्कार गर्ने बताइएको छ। चुनाब बहिष्कार गर्ने भनिएको नेकपा (बहुमत)का नेता तथा कार्यकर्ताहरुले आसन्न चुनाबमा राष्ट्रवादी, देशभक्त र राष्ट्रघाती एमसीसी लगायतका सम्झौताका बिरोधीहरुलाई सहयोग र समर्थन गर्नेछन। उनीहरुले अबका दिनहरुमा राष्ट्रघाती सन्धि र सम्झौताहरूका बारे जनतामाझ गैर भण्डाफोर गर्ने खालका कार्यक्रमहरु गर्ने छन् र त्यसैका आधारमा आफ्नो नयाँ संगठन पनि बिस्तार गर्ने योजना बनाएको समाचार स्रोतहरुले जानकारी दिएका छन्।
विशेष भेलाले देशभर पार्टी पुनर्निर्माण अभियान सुरू गर्ने र दुईदेखि तीन महिनासम्मको कार्यक्रम बनाउने निर्णय गरेको छ । त्यसपछि राष्ट्रिय भेला बोलाउने र राजनीतिक दस्तावेजलाई थप समृद्धि गर्ने तथा केन्द्रीय समितिको विस्तार गर्ने नेकपा (बहुमत) को तयारी छ ।
पार्टीको बिशेष राष्ट्रिय भेलाले महासचिव बिप्लव र प्रबक्ता प्रकाण्डलाई कारबाही गरिसकेको अवस्थामा पार्टीको संयोजकमा पार्टी सचिवालय सदस्य धर्मेन्द्र बास्तोला “कन्चन”लाई तोकेको छ भने ८१ सदस्यीय महाधिबेशन आयोजक समिति निर्माण गरेको समाचार स्रोतले जानकारी दिएको छ।
आज सम्पन्न पार्टीको बिशेष राष्ट्रिय भेलामा संयोजक धर्मेन्द्र बास्तोलाले राजनीतिक प्रतिवेदन पेस गर्दै विप्लव र प्रकाण्डमा राजनीतिक, दार्शनिक र संगठनात्मक रुपमा देखा परेका समस्याका कारण पार्टीलाई संसदवादमा पुर्याउन लागेकाले विद्रोह गरेको बताएका छन् ।
बास्तोलाले विप्लव दार्शनिक रूपले सारसंग्रहवादी, राजनीतिकरूपमा संसदीय संशोधनवादी, संगठनात्मकरूपमा निषेधात्मक अधिभूतवादी र विसर्जनवादी, संघर्षका दृष्टिले आत्मसुरक्षावादी र आर्थिक दृष्टिले जुझारु अर्थवादी भएकोले एकीकृत जनक्रान्ति असफल भएको दाबीसमेत गरे ।