दोश्रो जन आन्दोलन पछि भत्काइएको स्वर्गीय राजा बीरेन्द्रको शालिक बुधबार दिउसो छापामार शैलीमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ठड्याइएको छ।
राजावादीहरुको स्वतन्त्र नागरिक समूहले स्व. राजा वीरेन्द्रको ७६ औं जन्मजयन्तीको अवसर पारेर सुर्खेतको बीरेन्द्रनगरमा छापामार शैलीमा स्वर्गीय राजा बीरेन्द्रको शालिक ठड्याइएको हो।यो समूहको अगुवाइ गोरक्ष पिठाधीस योगी बलभद्रले गरेका थिए । सो समूहले शालिक राखेसँगै वीरेन्द्रचोक वरपर दीप प्रज्वलन गरी वीरेन्द्रको जन्मजयन्तीसमेत मनाएका छन् ।
बुधबार दिउँसो १२ बजे वीरेन्द्रनगरमा सिमसिमे वर्षा भइरहेका बेला वीरेन्द्रनगरको मुख्य चोक ‘वीरेन्द्र चोक’ नजिक एकाएक तामझामसहित आएको त्यस समुहले स्व. राजा वीरेन्द्रको शालिक ठड्यायो। त्यस अवसरमा स्वतन्त्र सुर्खेतीवासी जनता समूहका सदस्य धर्म ढकालले वीरेन्द्र चोकको इतिहास बचाईराख्नका लागि राजाको सालिक अनिवार्य भएकाले राखिएको बताए । उनले भने, ‘यो कुनै एउटा व्यक्तिले मात्र नभई जनताको अपेक्षाअनुसार राखिएको हो । राजाको इतिहास चिनाउनका लागि आवश्यक थियो । हाम्रो इतिहास के हो भन्ने बुझ्नुपर्छ ।’उनले यो सालिक राख्न निकै ठुलो बलिदानी गरिएको समेत दाबी गरे ।
चोकको दायाँ छेउमा प्रहरी बिट छ । तर, सालिक ठड्याउँदै गर्दा सुरक्षा निकाय भने सुरक्षा दिएर बसेजस्तो गरिरहेको थियो । यतिमात्र होइन, बुधबार साँझतिर प्रहरीको एउटा गाडीनै चोकको एक छेउमा राखिएको थियो भने केही प्रहरीले सालिकसँग तस्वीर खिचाउनेहरुलाई सुरक्षा दिइरहेका देखिन्थे ।
२०६२–६३ सालको जनआन्दोलनका क्रममा देशका अधिकांश ठाउँमा राजाका शालिकहरु भत्काउने क्रम संगै सुर्खेतमा रहेको शालिकसहित पार्कपनि भत्काइएको थियो । उक्त पार्क २०७६ भदौमा पुनर्निर्माण गरिएको थियो । पार्क पुनर्निर्माण गरिए पनि शालिक भने राखिएको थिएन । यसअघि शालिक राख्ने विषयमा हस्ताक्षर संकलन गर्ने काम समेत भएको थियो । त्यस ठाउँमा वीरेन्द्रको महत्व रहेको स्थानीयको भनाइ छ ।
तत्कालीन राजा वीरेन्द्रले नै सहरी योजनाविद् माधवभक्त माथेमालाई सुर्खेत ल्याएर उपत्यकाको गुरूयोजना बनाउन लगाएका थिए । २०४४ सालमा पहिलोपटक वीरेन्द्रको शालिक राखेर वीरेन्द्रचोक निर्माण गरिएको थियो । सोही वर्ष वीरेन्द्र दम्पती सुर्खेत आएर शालिकको अनावरण गरेका थिए ।
यता राजतन्त्र फाल्न संघर्ष गरेको नेकपा (माओवादी केन्द्र) सुर्खेतका नेता कृष्ण जिसी ‘जितेन्द्र’ प्रतिगामी चलखेल भएको टिप्पणी गर्छन् । नेकपा एमाले सुर्खेतका नेता गंगाराम तिमिल्सिना पनि जिसीको भनाइसँग सहमत छन् । उनी यस विषयमा स्थानीय प्रशासन र नगरपालिकासमेत जिम्मेवार हुनुपर्ने बताउँछन् ।
माओवादी नेता जिसी कुनै एउटा समूहले छापामार शैलीमा सालिक राख्नु गलत भएको बताउँछन् । उनी भन्छन्, ‘गणतन्त्र स्थापना गर्न जनताले सामन्ती राजसंस्थाका विरुद्धमा लड्दा त्यसको अवेशषका रुपमा रहेको सालिकलाई भत्काइएको थियो । भन्नुको अर्थ नागरिकको लागि राजाको कुनै योगदाननै छैन । उनीहरु भनेका शासक हुन् । जनताले विद्रोह गरेर विस्थापित गरेको चिजलाई एउटा सानो झुण्डलै स्थापित गर्नु वाहियात कुरा हो ।’
नेताहरुले गणतन्त्रमा यस्ता खालका गतिविधि हुँदा स्थानीय प्रशासनले लापरबाही देखाएको प्रतिक्रिया पनि दिए । जिसीले यो विषयमा प्रहरी प्रशासनले लापरबाही देखाएको आरोप लगाए ।
‘भोलि केही दुर्घटना भएको खण्डमा त्यसको जिम्मेवार स्वयम् स्थानीय प्रशासन हुन्छ,’ उनले भने, ‘प्रशासनले रोक लगाउनु पर्नेमा रमिता हेरिरहेको देखिन्छ । प्रशासनले पनि यो व्यवस्था बचाउनका लागि राज्यलाई सहयोग गर्नुपर्ने हो । तर स्वयम् राज्यका अधिकारीहरुबाट पनि लापरबाहीका काम भइरहेको छ ।’ तर माओवादी केन्द्र वीरेन्द्रनगर कमिटीका अध्यक्षसमेत रहेका रत्न गाह भने सालिक राख्दा संस्थागत रुपमा राख्नुपर्ने तर्क राख्दछन् । यस विषयमा पार्टीमा छलफल हुने बताए ।