प्र्याङ्क भिडियो बनाउने नाममा डेलिभरीकर्मीमाथि दुर्व्यवहार गर्ने दुई जना पक्राउ

प्र्याङ्क भिडियो बनाउने नाममा डेलिभरीकर्मीमाथि दुर्व्यवहार गर्ने दुई जना पक्राउ


  • जनसञ्चार डट कम संवाददाता
  • शुक्रबार, १२ असार २०८३
  • 1.2K
    Shares

missbehive by pranker

पोखरा, १२ असार २०८३।

सामाजिक सञ्जालमा झुक्याएर रमाइलो गर्ने खालको ‘प्र्याङ्क भिडियो’ बनाउने बहानामा एक डेलिभरीकर्मीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पश्चिम रुकुमको बाफिकोट गाउँपालिका–३ डार्नेका २८ वर्षीय डिल्लीबहादुर ओली र ३१ वर्षीय राजन केसी रहेका छन्। उनीहरूलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक (डीएसपी) बेद पौडेलले जानकारी दिए।

प्रहरीका अनुसार डेलिभरी सेवा गर्दै आएका ३१ वर्षीय एक पुरुषमाथि उनीहरूले ‘प्र्याङ्क भिडियो’ बनाउने भन्दै मानसिक तथा सामाजिक रूपमा दुर्व्यवहार गरेका थिए। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि व्यापक आलोचना भएको थियो। त्यसपछि पीडितको उजुरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको हो।

डीएसपी पौडेलका अनुसार घटनामा संलग्न दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको छ। उनीहरूमाथि प्रचलित कानुनअनुसार मुद्दा दर्ता गरी थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ।

पछिल्लो समय सामाजिक सञ्जालमा धेरै दर्शक र ‘भ्युज’ बटुल्ने उद्देश्यले विभिन्न व्यक्तिलाई जानकारी वा सहमतिबिनै ‘प्र्याङ्क’ का नाममा अपमानजनक व्यवहार गर्ने प्रवृत्ति बढ्दै गएको छ। यस्ता गतिविधिले व्यक्तिको सम्मान, गोपनीयता तथा मानसिक स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले कानुनी कारबाहीसमेत हुन सक्ने प्रहरीको भनाइ छ।

प्रहरीले सामाजिक सञ्जालका लागि सामग्री तयार पार्दा अरूको अधिकार, सम्मान र कानुनी व्यवस्थाको पूर्ण पालना गर्न सबैलाई आग्रह गरेको छ। साथै, कसैको इच्छाविपरीत भिडियो बनाउने, अपमान गर्ने वा सार्वजनिक रूपमा बदनाम गराउने कार्य कानुनविपरीत हुने भएकाले यस्ता गतिविधिमा संलग्न नहुन पनि सचेत गराएको छ।

प्रतिक्रिया