पोखरा, १३ असार २०८३।
उपल्लो मुस्ताङको लोमान्थाङ–५ स्थित ऐतिहासिक खेजुङ गुम्बाबाट बौद्ध धर्मगुरु ‘मेलारिपा’को एक थान मूर्ति चोरी भएको छ।
गुम्बा व्यवस्थापन समितिले असार ६ गते मूर्ति हराएको भन्दै निवेदन दिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जानकारी दिएको छ। लोमान्थाङ बजारबाट झन्डै ८ घण्टाको पैदल दुरीमा पर्ने मानवविहीन निर्जन पहाडसंगै जोडिएको निलो जस्ता रंगले छाईएको अन्दाजी १३ औं शताब्दीमा निर्मित खेजुङ गुम्बा भित्र दर्जनौ मूर्तिहरु थिए । जसमध्ये एक थान बुद्धिस धर्मगुरुको ‘मेलारिपा’ मूर्ति गुम्बाबाट हराएको निवदेन जिल्ला प्रहरी कार्यालयलाई प्राप्त भएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बस्यालले जानकारी दिए ।
उपल्लो मुस्ताङको लोमान्थाङ बजारबाट ओरालो झरेर करिव ८ घण्टा बढी समय लाग्ने उक्त गुम्बा बर्सेनि बैशाख महिनामा मात्रै एक पटक धार्मिक पुजा हुने गथ्र्यो । पछिल्लो पटक विस २०८२ साल बैशाख महिनामा त्यहाँको छेजुङ गुम्बामा धार्मिक पुजा संम्पन्न भएको थियो । त्यसबेला गुम्बामा रहेका सबै मूर्तिहरु यथास्थानमा रहेको थियो ।
बर्सेनि छेजुङ गुम्बामा गरिने पुजा दुई महिना ढिलो गरी असार ३ गते धार्मिक पुजा गरिएको थियो । मानवबिहीन कठिन भूगोलमा अवस्थित छेजुङ गुम्बामा धार्मिक पुजा गर्ने क्रममा गुम्बा रहेको मेलारिपा मूर्ति फेला नपरेको प्रहरी निरीक्षक सन्तोष बस्यालले उल्लेख गरे । असार ३ गते धार्मिक पूजा गर्न पुगेका बेला मूर्ति फेला नपरेपछि घटना सार्वजनिक भएको प्रहरीले बताएको छ।
प्रारम्भिक अनुसन्धानमा गुम्बाको भौतिक संरचनामा कुनै तोडफोड नभएको पाइएको छ। प्रहरीले मूर्तिको खोजी तथा घटनाबारे अनुसन्धान जारी राखेको जनाएको छ। अत्यन्त दुर्गम र वर्षमा एकपटक मात्र पूजा हुने उक्त गुम्बाबाट मूर्ति हराएपछि अन्य गुम्बाको सुरक्षाप्रति पनि चासो बढेको छ।