माग्नु आत्महीन कर्म हो । माग्नु माग्ने स्वयम्को स्वाभिमानको अपमान हो । माग्नु माग्ने स्वयम्को प्रतिष्ठा र अस्मिताको हुर्मत हो । मनमा इख हुनेले माग्दैन, मुठ्ठी कसेर दाबी गर्छ, लड्छ । सत्व र स्वाभिमानको महत्ताको थोरैमात्र पनि हेक्का हुनेले मरिगए माग्दैन, बरु विवाद गर्छ, प्रतिवाद गर्छ, प्रतिरोध गर्छ, विद्रोह गर्छ, क्रान्ति गर्छ ।
बेसहारा भई प्राण धान्न माग्नेलाई देख्दा मेरो हृदयमा दया वा करुणा जागेर आउँछ । त्यसैत्यसै टिठ पनि लाग्छ । तर, राजनीतिमा माग्नेप्रति ममा न किञ्चित् दया छ न छ करुणा नै । आदरभावका त कुरै नगरुँ । राजनीतिमा माग्नेको प्रसङ्ग उठ्यो कि मेरा आँखासामु त्रिमूर्ति खडा हुन्छन् । कमल थापा, रवीन्द्र मिश्र र नेत्रविक्रम चन्द ‘विप्लव’ । यी तीनमध्ये कमल अगाडि छन्, रवीन्द्र कमलका पछाडि छन्, नेत्रविक्रम यी पछाडिकाका पनि पछाडि छन् । ङिच्च हाँस्दै हात पसारेर यी त्रिमूर्ति सरकारसँग माग्दाछन्- प्रभु ! जनमत संग्रह गराई पाऊँ । मगन्ते नाथेलाई माग्नु छ, त्यो पनि सानोतिनो कुरा होइन, जनमत संग्रह ! धइत् !
गुमेको स्वर्ग फर्काइमाग्न कमल थापालाई जनमत संग्रह चाहिएको छ । राजतन्त्रलाई फर्काउन, हिन्दूत्वको एकछत्र वर्चश्व कायम गर्न, सिङ्गो मुलुकलाई पहिलेझैँ विशाल कारागारमा परिणत गर्न । कमललाई मिसिनगन बोकेर अखबारको सम्पादकीय टेबुल कब्जा गर्ने राजा चाहिएको छ । कमललाई जनताको सातो बख्तरबन्द गाडी चढेर सडकमा त्रासका तरङ्ग फैलाउने राजा चाहिएको छ । कमललाई हेलिकप्टोरमा सवार भई जुलुसका जनका थाप्लामा गोली ठोक्ने राजा चाहिएको छ । कमललाई सडकमा सैनिक जर्नेलहरूको लाम लगाएर प्रजालाई हैकमी आश्वासनको बकस दिने राजा चाहिएको छ । कमललाई सनातन धर्मका नाउँमा जात प्रथा कायम राख्ने राजा चाहिएको छ । कमललाई टुप्पी पालक र तागाधारीको एकछत्र हुकुम चलाउने राजा चाहिएको छ । कलमलाई उत्पात अहंकार, अतृप्त लोभ र असिम असहिष्णुतायुक्त राजा चाहिएको छ । र, यस्तो राजा हातलागी गर्न कमललाई जनमत संग्रह चाहिएको छ । र, जनमत संग्रह गराइमाग्न कमलको भिखारी हात सरकारसमु पसारिएको छ ।
आर्यघाटमा सेलाएर अतीतको कथा बनेको विभेदकारी हिन्दूत्व पुनर्जीवित हुन्छ ? कमल थापा भन्लान्- हुन्छ । बरा कमल यसो भन्न विवश छन् । कारण यो राजनीतिमा कमलले गरिखाने प्रतिगामी धन्दा हो ।
अनि रवीन्द्र मिश्रलाई ? कमललाई जे जे चाहिएको छ, असलमा रवीन्द्रलाई त्यहीत्यही चाहिएको छ । चाहियो भन्ने यिनको काइदा फरक छ, चाहिएका कुराको सार उही हो । कमल सोझा र इमानदार भिखारी हुन् । कमल कुरा कतै नघुमाई ठाडो भाषामा भिख माग्छन् । भिखमा ती सोझै राजा माग्छन्, हिन्दूत्व माग्छन्, निरङ्कुशता माग्छन् । रवीन्द्र कत्ति न जान्ने हुँ झैँ गरी कुटिल काइदाले कुरा घुमाउँछन् । पहिले यिनले ‘भ्रष्टाचारीलाई किरा परोस्’को मन्त्र जपे । यिनको यो परपीडक मन्त्र सदाचारको यिनको आदर्श थियो । त्यसपछि यिनले ‘खान पुगोस्, दिन पुगोस्’ को मन्त्र जपे । यिनको यो ‘परोपकारी’ मन्त्रमा आफू टन्न भुँडी भरेर अरुलाई दिन पुग्ने औकातयुक्त सामन्त भइरहने सपना थियो । अलि पछि रवीन्द्रले साझा पार्टी खोले ।
यिनले सबै पार्टी सढे, ताजा पार्टी केवल साझा हो भन्ने मन्त्र जपे । यो सुतीसुती शानदार वैकल्पिक राजनीतिक व्यवस्था खोज्ने मन्त्र थियो । कालक्रममा रवीन्द्रको कल्पनाशील मथिङ्गलमा ‘विचारभन्दा देशमाथि’को भूत सवार भयो । यो विचारशून्य तसर्थ विवेकशून्य देशको कपटकारी आग्रह थियो । अहिले रवीन्द्र आफ्ना सबै छलकारी आवरणलाई च्यातचुत पारेर आफ्नो सक्कली औतारमा प्रकट भएका छन् । रवीन्द्रलाई संघीयता खारेज गर्नु छ । र, हिन्दू राज्य घोषणा गर्नु छ । यी दुई काम गरिमाग्न रवीन्द्रलाई जनमत संग्रह चाहिएको छ । झट्ट हेर्दा कमल र रवीन्द्र राजनीतिक आदर्शमा पृथक हुन् कि भन्ने लागे पनि गुदी कुरामा एक हुन् । अर्थात् राजा आऊ देश बचाऊ ! हिन्दू प्रभूत्व कायम गर, मौलिकताको रक्षा गर ! पितापूर्खाले कत्रा दुःखले आर्ज्याको यो पवित्र देशमा आयातीत, खोटा, भतुवा तत्वहरूलाई शिर ठाडो पार्न नदेऊ !
आयो कुरा अब नेत्रविक्रम चन्द ‘विप्लव’को । राजनीतिमा नेत्रविक्रम हिँडिआएको बाटो फरक छ । र नै यिनको नामपछाडि ‘विप्लव’को फुँदा गाँसिएको छ । विप्लवले दश वर्ष जनयुद्धको कठिन यात्रा गरे । यात्रा बीच बाटोमा अक्करमा अड्कियो । र, न हार न जितको दोसाँधमा पुगेर यात्रा अलमलियो । तैपनि जनयुद्धको अधुरो आँधीले व्यवस्थाको आवरणमा थुप्रो हेरफेर ल्यायो । यी हेरफेर आम जनमानस र सत्ता संरचनामा संस्थागत हुन नपाई नेतृत्व पथभ्रष्ट भयो । र, विप्लव दलबलको सानो चोइटो लिएर पुनः उहीँ पुरानो बाटोतिर फर्के । त्यो आफैँले खुँदेर बासी भएको, पार नलाग्ने बाटो थियो । ‘विप्लव’ले आफ्नो पूर्व अनुभवबाट सिक्न बिर्से । र, पुरानै शक्ति, पुरानै नीति र पुरानै प्रविधिको बासी कथा हुबहु दोहोर्याउनतिर लागे । अर्थात् गेरिल्ला तालिम, बारुद बटुलबाटुल, बम निर्माण, बमद्वारा यदाकदा आफ्नै कार्यकर्ताको बध, जबर्जस्ती चन्दा असुली र क्रान्तिको हुङ्कार ।
आइन्दा म क्रान्ति-यात्राबाटै निवृत्त हुन्छु भने पनि भइगो । लोकमानसमा क्रान्तिको सुन्दर आदर्शप्रति वितृष्णा जाग्ने गरी अर्थ न बर्थको जनमत संग्रह मागिहिँड्नु किन कमरेड ?
सनातनी भ्रष्ट सत्ताले जब घेरेर पेल्न खोज्यो, ‘विप्लव’ अतालिए । अगाडि जाऊँ, धूमिल दृष्टिमा कुनै बाटो दृष्टिगोचर हुँदैन । पछाडि फर्किऊँ, क्रान्तिको त्यत्रो हुङ्कार गरिया छ, कसरी फर्किने ? विवश फर्कनेवालोँको फर्कनेका कोई न कोई बहाना चाहिए । बस्, ‘विप्लव’को भ्रमित कल्पनामा बहाना फुर्यो जनमत संग्रहको । सत्ताको चुलीमा ओलीतन्त्र आसीन थियो । सत्ताधीश ओलीसँग लाचार ‘विप्लव’ले जनमत संग्रह मागे । मुखले दिनु आखिर कत्रो कुरा हो र ? ओलीले जनमत संग्रहउपर विचार-विमर्श गर्न सकिने छ टाइपको आश्वासन दिए । उदात्त अभीष्ट छ व्यवस्था परिवर्तन, माध्यम बन्यो ओलीको कृपाबाट प्राप्त हुने जनमत संग्रह ! ‘विप्लव’ जममत संग्रहको घण्ट बजाउँदै भूमिगतबाट दृश्यगत भए । साभार शिलापत्र डट कम