आजभन्दा पचास वर्षअघिसम्म पनि मनाइने दशैं-तिहारको स्वरूप आजको भन्दा नितान्त भिन्न थियो । घरहरू रातो माटोले लिप्ने, कमेरो पोत्ने, च्मच्च हाल्ने, पिङका लागि घरघरै गई बाबियो उठाएर गाउँका माझमा पिङ हाल्ने, ढिकी-जाँतोमा गाउँका आमाहरूले रोटीका लागि चामल पिस्ने-कुट्ने, घरघरै गएर भैलो खेल्ने, दशैं-तिहार जे-जसरी होस् खाली निंधार खान नहुने मान्यता, तिहारको टीकाको सेरोफेरोमा गाउँका सबै जना जम्मा भएर जुवा-तास खेल्ने लगायतका स्वरूप निकै स्मरणीय छन् । मान्छे कोटमा जाने, बलि दिने, मासु खाने लगायतका कामहरू गर्ने गर्थे । घरभरि माटोका पालामा बत्ती बालिन्थे । आज पचास वर्षपछि आएर यी चाडका सन्दर्भमा समाजका गतिविधि नियाँल्ने हो भने सबै आउटडेटेड भइसकेका जस्ता लाग्छन् ।
घरमा कुनै रङ पोत्न पर्दैन, कमेरो चिन्न पनि छोडिसके, पहिलाको जस्तो पाखातिर रातो माटो लिन जानुपर्दैन, घरमैं टेराकोटा लाइदिने मान्छे पनि आउँछन्, रङ पनि आउँछ । पिङ र च्मच्चका लागि अब दशैं-तिहार कुर्न पर्दैन, मेलाहरूमा, पार्कहरूमा वर्षैभरि यिनको व्यवस्था हुन्छ । अनि फेरि रमाइलो नै हो भने अबको जमानामा रमाइलोका लागि चाड कुर्न पर्दैन, बाह्रै महिना मुवी, मोबाइल, पिकनिक, पार्टी, भोज जति पनि साधन छन् । ढिकी-जाँतो चाहिंदैन, रेडिमेड चामलको पिठो पाइन्छ । मासु खान बगरेका पसल जताततै जतिखेर पनि पाइन्छन् । माटोमा बालिने पालाका सट्टा झिलीमिली बिजुली बत्ती पाइन्छन् । मान्छे गाउँमा पनि छैनन्, सबैजसो शहरमा छन्, दाजुभाइको जमात एकातिर, बसाइँ अर्कोतिर हुने युग आइसकेको छ । केही बाँकी रहेकाहरू सबैजसो अमेरिका-बेलायत र खाडीतिर हुन्छन् ।

पहिलाको युगमा बाहिर जाने भनेको ठूलै र दुर्लभ घटना हुन्थ्यो, अब त बिहान-बेलुकी जो पनि विदेश जाने हुँदा दाजुभाइको जमघट भन्ने कुरा निकै दुर्लभ भइसकेको छ । मान्छे काम गर्न छोडिसके, पहिला पो खेतीपातीमा व्यस्त हुन्थे । व्यस्तताका बीचमा खाली समय निकाल्नका लागि पनि यी चाडपर्वको महत्व हुन्थ्यो । अहिले त जतिखेर पनि खाली जस्ता छन् आधी मान्छे । चेलीले घरमा राम्ररी खान नपाउने अवस्था हुने हुँदा तीजमा बोलाई-बोलाई रातदिन खाने दर पनि खुवाउने चलन बनेको थियो । अब त यति फुर्सत र खाना यति सस्तो छ कि पार्टी प्यालेसमा भुँडी फुटुन्जेल एक महिना अगाडिबाटै दर खाएको-खायै गर्ने चलन आइसकेको छ । यान्त्रिक साधनको कमी थियो, मान्छे प्रशस्त हुन्थे अत: मेलापात, अर्म-पर्म आदिमा खेत रोप्न-गोड्न, बाउसो खन्न, दाइँ हाल्न, धान झाँट्न आदिका लागि पनि दाजुभाइको खाँचो हुन्छ भनेर यस्ता चाडबाडमा सम्बन्धहरू रिन्यु गरे जस्तो हुन्थ्यो । अब त नेरफेरमा भएको तरकारी पनि बिना पैसा कोही दिन्न, बारीमा फलेको काँक्रो पनि बिना पैसा कोही दिन्न, काम गर्ने साधन पनि आइसकेका छन्, पैसा र ऐकान्तिक जीवनका अभ्यास हुन थालेका छन् । कोही कसैसित नातो रिन्यु नगरे पनि काम चल्ने सम्भावना देखिन्छन् । पहिलाको युगमा दाजुभाइ, बाबुआमा आदिलाई जुन श्रद्धासित ढोगिन्थ्यो त्यो पनि अचेल हराउँदो वा लोपोन्मुख छ वा यसो भनौं मान्छे अब लाज पनि मान्छ अनि सानो भएँ भन्ने पनि ठान्छ । यसरी हेर्दा दशैं-तिहारको सान्दर्भिकता निकै बल गरेर खोज्नुपर्ने जस्तो देखिन्छ ।
यति भनिरहँदा यो पनि बिर्सन मिल्दैन कि नेपालमा आज पनि सुदूरमा अधिकांश जनता गाउँगाउँमा बस्छन्, तिनका लागि दशैं-तिहार आज पनि त्यतिविधि परिवर्तित भइसकेको छैन । तिनका लागि माथि भनिएका मूल्य-मान्यता आज पनि धेरै हदसम्म जीवित छन् । हामी शहर-बजारमा बसेका केहीलाई यी चाडपर्वमा अलिकता असान्दर्भिकता देखिए पनि तिनका लागि यी आज पनि उत्तिकै सान्दर्भिक छन् । शहरिया वा राजधानीवासी वा पोखरावासी आदिका लागि भने चाडबाडको मूल्य वा सान्दर्भिकता अलि फरक ढङ्गले हेर्नुपर्ने हुन्छ, जुन निम्नानुसार छन् —
०१. आर्थिक व्यवस्था : दशैं-तिहार यस्ता चाडपर्व हुन् जसमा मुद्रा सबभन्दा बढी चलायमान हुन्छ । मुद्राको चलायमानता देखेर नै राष्ट्र बैंकले परापूर्व कालदेखि नै यही समयमा नयाँ नोट जारी गर्ने, टक्सारले सुन-चाँदीका असर्फी निष्कासन गर्ने जस्ता काम गरिरहन्छ । भारतमा पनि दीपावलीकै सेरोफेरोमा यस प्रकारको काम हुन्छ । यही समयमा बैंकबाट पैसा झिक्ने र राख्ने काम बढी हुन्छ । सरकारले पनि अर्कोतिर दशैं भत्ता जस्ता कुराको व्यवस्था गरेर मुद्राको तरलता सिर्जना होस् भन्ने प्रयास गर्ने गर्दै आएका छन् । यही समयमा देश-विदेशका मानिस स्वदेश फिर्ता हुँदा पनि विदेशी मुद्राको समेत सञ्चय ह्वात्तै बढ्छ । एक प्रकारले भन्ने हो भने आर्थिक व्यवस्थामा कायापलट नै गर्छ । उद्योगीलाई एकपटक आफ्नो ब्यालेन्स-नाफा-घाटा राम्ररी सोच्ने अलार्म पनि लक्ष्मीपूजा जस्ता दिनले दिने गर्छ ।
०२. व्यापारिक आयाम : दशैं-तिहारकै सेरोफेरोमा व्यापारीहरूको व्यापार यस्तरी फस्टाउँछ कि कोरोनाका कारण खाएका घाटा पनि यही बेलामा क्षतिपूर्ति गर्न सक्ने देखिएको छ । दशैं-तिहारमा त आम्दानी बढ्ला नि भनेर कतिपय व्यापारी आश गरेर बसेका हुन्छन् । सरकारले नियम-ऐन-कानुन राम्ररी लागू गर्न सक्दैन, अनुगमन राम्रो गर्दैन र दुनियाँ लुटिन्छन् यो पाटो अलग छ, यी शोषणमा चाडको कुनै दोष पनि होइन नत्र व्यापारिक गतिविधि पनि ह्वात्तै बढ्छ । नयाँ गाडी किन्ने, बाइक किन्ने, नयाँ लुगा किन्ने आदि गतिविधिका कारण व्यापारिक चहल-पहल धानिनसक्नुको हुन्छ । फूल, मिठाई, बत्ती, लुगा, मसाला, खसी-बोका आदिको व्यापारका लागि त यी चाड सदावहार व्यापारिक प्वाइन्ट बनेका हुन्छन् ।
०३. सामाजिक सम्बन्ध : आज विदेशमा मान्छे नगएको घर भेट्न गाह्रै हुन्छ, प्रत्येक घरैपिच्छे मानिस विदेशमा हुन्छन् । नभए पनि गाउँमा कमै हुन्छन्, शहरतिर त पक्कै होलान् । यी सबैजसो शहरबासी र विदेशी नागरिकलाई एकपटक आफ्नो गाउँठाउँमा फिर्ता हुने, जमघट हुने, सम्बन्धहरू पुनर्ताजगी गर्ने, बूढाबूढीका आँखामा प्रतीक्षाका घडी मेटाउने अवसर भनेकै दशैं-तिहार बनेको छ । मान्छे यति व्यस्त र यति टाढा छन् कि यिनका सम्बन्ध फेसबुक र म्यासेन्जर आदिले जति जोडे पनि लाइवको आनन्द लिन यिनै चाडबाड बढी सुन्दर मौका बन्ने गर्छन् । कतिपयका बीचमा झगडा भएका हुन्छन्, तिनमा बोलचाल समेत बन्द भएको हुन्छ, ती सम्बन्धलाई पनि सहजीकरण गर्न यी चाड बढी मूल्यवान बनेका हुन्छन् ।
सबभन्दा त शहरमा बसेका आधुनिक बाबुनानीलाई आफ्ना मामा, फुपू, दाजुभाइ, काकाकाकी, चाचाचाची, भतिजा-भतिजी, सोल्टा-सोल्टी आदिलाई चिनाउने सुअवसर नै बनेको हुन्छ । बच्चाबच्चीहरूलाई मामाघरको आनन्द यही बेलामा हुने गर्छ । नयाँ पुस्तालाई अभिवादन सिकाउने, ठूलाप्रति सम्मान सिकाउने, दिदीबैनीप्रति प्रेम-सम्मान बुझाउने, पारिवारिक जमघटको अर्थ, संयुक्त परिवारको झलक, सामूहिकताको आनन्द, दाजुभाइसित पनि जोडिनुपर्छ भन्ने सन्देश सिकाउने-बुझाउने यहाँभन्दा सुन्दर समय अरू हुन सक्दैन । कति सिक्छन्-बुझ्छन् यो अलग कुरा हो तर पश्चिममा जस्तै आइसोलेटेड जीवन बाँचेर डिप्रेशनमा जाने आधुनिक रोगबाट बँचाउन एउटा प्रयासको बीजारोपण चाहिं यही बेलामा हुने गर्छ । आज समाजमा झगडा, हत्या, बलात्कार आदि सामाजिक अपराध वृद्धि हुँदै गइरहेका छन् । अपराधका कारण खोज्दै गए धेरै कारण फेला पर्न सक्छन् तर जति कारण खोजेर पाए पनि सामाजिक सम्बन्ध सुदृढ नहुनु पनि एक प्रमुख कारण हो ।
०४. पर्यटनको आयाम : हाम्रा सरकारहरूलाई देशका बारेमा सोच्ने फुर्सत नै हुँदैन अन्यथा दशैंमा भत्ता दिइसकेपछि आन्तरिक पर्यटनको बढावाका लागि दशैंको एक महिने बिदा प्रयोग गर्न सुझाव सम्प्रसारण गर्ने हो भने यो आयाम पनि ह्वात्तै बढ्न सक्थ्यो । तैपनि व्यक्तिगत रूपमा यही बेलामा हुने लामो बिदाको सदुपयोग गर्दै धेरै मानिस पर्यटनको फाइदा लिन निक्लन्छन् । बन्जी जम्प, गोसाइँ कुण्ड यात्रा, मुक्तिनाथ यात्रा, चार धामको यात्रा आदि-आदि यस्तै-यस्तै उदाहरण हुन् । हुन त यो पर्यटनको प्रारम्भ सोह्र श्राद्धबाट नै हुने गर्छ तैपनि दशैं-तिहारमा आइपुग्दा पिकमा पुग्ने गर्छ । पर्यटनका रणनीतिलाई यही बेलामा प्रयोग गरेर आय आर्जन बढाउन सकिन्छ । दशैं र तिहारका बीचमा बच्चाहरूको शैक्षिक भ्रमणलाई राष्ट्रिय मान्यता नै दिने हो भने अझै समयको सदुपयोगका साथै आर्थिक उदय हुन जान्थ्यो ।
०५. लेखन-पठन : नेपाली समाजमा धेरैमा लेखन-पठनको संस्कृति विकसित छैन तैपनि कतिपय पठनप्रेमी यही बेलामा साहित्यलेखन वा पठनमा व्यस्त हुने गर्छन् । यसलाई पनि सरकारी रणनीतिमा पार्न सक्ने हो भने नयाँ आयाम खुल्न सक्छ । वर्षमा एकपटक स्वतन्त्र भएर महिना दिनसम्म कुनै एउटा शीर्षकमा गहिरिएर अध्ययन गर्ने सुनौलो अवसर बनाउन सकिन्छ, कतिपयले बनाएका पनि छन् । कोरोनाले अस्त-व्यस्त पारेको रूटिनमा यी सबै कुरा तत्काल सोच्न नसके पनि कालान्तरमा यसलाई यसरी नै विकास गर्न सकिन्छ ।
०६. आध्यात्मिक आयाम : किन अरू सबै चाड एक-एक दिनका हुन्छन् ? तर दशैं दस दिनको किन ? तिहार पाँच दिनको नै किन ? हिन्दू नै भए पनि भारतका कुनै पनि हिन्दूले दशैंमा निंधारभरि टीका लगाउने, तिहारमा भाइटीका मनाउने आदि गर्दैनन् तर नेपाली नै किन यी चाड यसरी फरक ढङ्गले मनाउँछन् ? जमराको महत्व किन ? बलिप्रथा विकृति हो कि सुकृति ? बलि नै किन ? बलिको सही अर्थ के हो ? पितृको पूजा गरेर सकेपछि दशैंमा देवीको पूजा अनि देवीको पूजा सकेपछि कुकुर-काग-गाई आदिको पूजा गर्दै दाजुभाइ आदि मान्छेको पूजा किन ? मानिसको पूजा गर्ने तिहारमा आएपछि नागपञ्चमीको पूजाबाट प्रारम्भ भएका सबै प्रकारका पूजा किन सकिन्छन् ? आदि-आदि धेरै-धेरै प्रश्नहरूको सही अर्थ र महत्व आध्यात्मिक गहिराइमा गएर मात्रै बुझिन्छन् । आध्यात्मिकतामा यी खानापिना, दौडादौडी, जुवातास, बलि आदि केही पनि हुन्नन् । यी कुरा सर्वसाधारण सबैका लागि खोज्ने र बुझ्ने कुरा पनि होइनन् । संस्कृति र अध्यात्म फरक कुरा हुन् । संस्कृति सतहमा हुन्छ अध्यात्म गहिराइमा हुन्छ । सतहमा जहिले पनि फोहोर र विकृति पनि देखिन सक्छन् जसरी समुद्रको पानीको उपल्लो तहमा फिंज देखिन्छ तर नितान्त गहिराइमा फिंज हुन्न । सतहमा छालको चञ्चलता हुन्छ तर गहिराइमा हुन्न । सबै चाडमा भएका आध्यात्मिक पाटोलाई यहाँ उल्लेख गर्न साद्धे र सरल नभए पनि कतिपय साधकका लागि यी चाडपर्व साधनाका लागि सुनौला अवसर हुन् ।
०७. मनोवैज्ञानिक आयाम : यी चाडबाडका बेलामा आराम गरेर होस्, घुमेर होस्, सम्बन्ध सुधार गरेर होस्, आर्थिक पुनरावलोकन गरेर होस्, पठन-मनोरञ्जन-पर्यटन जे गरेर होस् सबैको अन्तिम फल भनेको मनोवैज्ञानिक शान्ति र सुख हो । वर्षा-बाढी-पहिरोले दिक्क पारेको मनोविज्ञान, विदेशको थकाइको मनोविज्ञान, झगडा वा द्वेषहरूले पैदा गरेको विषालु मनोविज्ञान सबैलाई एक छिन बिर्सेर मानिस पुनर्ताजगीमा जान्छ, नयाँ चेतना ग्रहण गर्छ जुन थाहा होस्-नहोस् भएकै हुन्छ ।
०८. कृषिको आयाम : प्राचीन समयमा त चाडबाड खेतीपातीसित पनि सम्बन्धित हुन् तर आज अधिकांशले खेती छोडिसकेको हुनाले यसको अर्थ बुझ्न गाह्रै होला तैपनि जो आज पनि खेतीको भरमा छन् तिनले यसको सम्बन्ध सजिलै बुझ्न सक्छन् । दशैंको बेलामा पाक्न-पाक्न लागेको धानखेती तिहारतिर आउँदा पाक्ने मेलोमा हुन्छ । असारको र कार्तिकको आत्तुरी भन्ने त उखान नै छ । आत्तुरीमा राहत दिन वा पश्चिमले सिकेको-सिकाएको विश्राम हाम्रा पुर्खाले चाडबाडका माध्यमबाट सदियौं अगाडि नै सिकाएका रहेछन् ।
मानिसले समयको दौरानमा जेसुकै परिवर्तन गरोस् तर राम्रो आयाममा कमैको ध्यान जान्छ । कोट गएर देवीको पूजा नगरे पनि मासु खाने, दाजुभाइसित मनोरञ्जन नगरे पनि सर्वस्व गुमाउने गरी जुवातास खेल्ने, रक्सी खाने, मौलिक नाचगानका स्वस्थ भैलोलाई छोडेर मानसिक रोगी बनाउने र्यापमा उफ्रने जस्ता विकृतिलाई छोड्न सक्दैन तर सामाजिक सम्बन्ध बनाउने, मनोवैज्ञानिक विकास गर्ने जस्ता राम्रा पक्षलाई याद नै गर्न चाहन्न । विकृतिलाई बढाई-चढाई गर्छ मानौं यही नै यिनको अर्थ हो तर सकारात्मक पक्षतिर ध्यान नै दिन्न । विघटन हुँदै गइरहेका परिवार र सामाजिक सम्बन्धलाई विकास गर्ने हो भने समाजबाट कति अपराध त त्यसै हराएर जान्थे, कतिलाई डिप्रेशनको रोग नै लाग्दैनथ्यो, आजका पुश्तामा विचलन आएर वृद्धाश्रमहरू बढ्दैनथे तर हामी यतातिर ध्यान दिइरहेका छेनौं । जनसञ्चार परिवार हाम्रा सबै पाठकहरूमा तिहारको हार्दिक मङ्गलमय शुभकामना सहित चाडलाई सकारात्मक बनाएर मनाउन हार्दिक अपिल गर्दछ ।