केही दिन अघि नेपालको इतिहासकै उत्कृष्ट भनिएको संविधानको दिवस मनाउने काम सम्पन्न भएको छ । सो दिन सरकारले सार्वजनिक बिदा पनि दिएको थियो । केही दलले सो दिन दीपावली पनि गरेका छन् भने केहीले कालो दिवसका रूपमा पनि मनाएका छन् । धेरै अन्तर्क्रिया कार्यक्रम पनि सम्पन्न भए । अब प्रश्न उठ्छ कि के साँच्चै यो संविधान भविष्यमा सफल हुँदै जानेछ त ? यसका असफलताका केही मुख्य बुँदा यसरी प्रस्तुत गर्न सकिन्छ ।
१. २०६३ सालको गणतन्त्र वा लोकतन्त्र आएपछि जनताले धेरै ठूलो आशा र सपना देखेका थिए । कुनै पनि पार्टी विरोधमा जाने छैनन्, द्वन्द्वका अवशेष नरहलान्, शान्तिले पूर्ण रूप पाउला भन्ने आशा पनि थियो । के यो पूरा भयो त ? विप्लवको विद्रोहदेखि वैद्य, मातृका आदि हुँदै केही तप्का आज पनि सङ्घर्षमैं छन् । सबभन्दा ठूलो घातक विरोध तराईवादी दलको छ जसले भविष्यमा ठूलो रूप लिनेछ भन्ने अनुमान गर्न सकिन्छ । गणतन्त्र ल्याउनका लागि जुन जातीय र क्षेत्रीय मुद्दालाई उचालियो तिनै शीर्षक नै भविष्यमा विषवृक्ष बन्ने देखिएका छन् । सिके राउत प्रवृत्ति अर्को पाटोमा छँदै छ । आरक्षण र धर्म जस्ता थप केही संवेदनशील विषय पनि सँगसँगै समानान्तर विषवृक्ष बनिरहेका छन् ।
२. तीन तहका सरकार बनेपछि गाउँगाउँमा सरकार जानेछ, सिंहदरबार जानेछ भनेर जुन परिकल्पना गरिएको थियो त्यो पूर्णतया असफल भइसकेको छ । काम वा विकास केही पनि नगरीकन आफ्नो सुविधा र भत्ता बढाउनका लागि जनताका टाउकामा धेरै भन्दा धेरै कर थुपार्नु मात्रै स्थानीय र क्षेत्रीय सरकारका उपलब्धि देखिएका छन् । जनताका धैरै तप्काले भनिसकेका छन् कि यतिविधि छोटे राजाहरू यो गरिब देशले पाल्न सक्दैन । गाडी किन्ने, भत्ता बढाउने प्रतिस्पर्धामा नीतिगत वा कानुनी शोषणको जमाना आइसकेको अनुभूति सबैले गरिसकेका छन् । विकासको विकेन्द्रीकरण होइन कि भ्रष्टाचार मात्रै बाँडिएको छ । प्रादेशिक सरकारको औचित्य त झन् कसैले पनि बुझ्नै सकेका छैनन् । भ्रष्टाचारको यो चरम स्थिति पीडादायक श्राप बनेको छ । महिला जति खाडीतिर, युवा जति मलेशियातिर बेच्ने मात्रै होइन कि मन्त्रालय भएकै जग्गा बेचिदिन्छन् ।
३. तीन तहका सरकारका बीचमा अधिकारको लुछाचुँडी पनि छँदै छ । एकातिर तलदेखि माथिसम्मका सरकार लडिरहेछन् भने अर्कोतिर छिमेकी-छिमेकी सरकारहरू पनि कुन दिन एकापसमा लडेर अर्को जात्रा देखाउने हुन् भन्न सकिन्न । कालीगण्डकीका मामिलामा लगभग यो कुरा सामुन्ने आइसकेको छ । राजनीति सेवा होइन पेशा हो भन्ने मान्यता स्थापित भइसकेको छ । पेशा मात्रै होइन गुन्डागर्दी नै हो भन्ने सर्वमान्यता पनि बन्दै छ ।
४. जनताले न देश विकास देख्न सके, उदाहरण रेल ल्याएर थन्क्याएर राखी खिया लगाउनुबाटै स्पष्ट छ । हावाबाट बिजुली, घरघरमा ग्याँसको पाइप, नारायणीमा डुँगा वा जहाज आदि-आदि गफ मात्रै साबित भएका छन् । तुइन विस्थापनका समस्या हल गर्न नसक्नेले विकासका अरू सपना के देखाउनु । ओलीको भाषण मात्रै होला अरूको पनि गफै मात्र हुन् । कुनैले पनि लछारपाटो लगाउने सम्भावना देखिन्न । जाबो एउटा स्टेडियम बनाउन धुर्मुस सुन्तलीले भिक्षा माग्दै हिंड्नुपर्ने देशमा सरकारहरूले किन शिखर चुम्लान् कल्पना गर्नै सकिन्न । असारे र डोजरे विकासका भरमा जनताले संविधान कहिलेसम्म मानिदेलान् यो पनि हेर्नै बाँकी छ ।
५. छिमेकीहरूसितको सम्बन्ध कहिल्यै समान हैसियतको बनाउन नसक्नु गणतान्त्रिक सरकारको अर्को ठूलो असफलताको कारक बनेको छ । एमसिसी जस्ता केही काम गर्न बाँकी छ त्यसपछि लाखेनाच शुरू हुनेछ र यो संविधान नै धरापमा पर्ने पूरा सम्भावना छ । चीन र भारत त जुदाउने नै हुन् साथसाथै अमेरिका जस्ता बाघ पनि यिनका लोभले बिच्किने देखिएको छ ।
यसरी जातीय-क्षेत्रीय विवाद, भ्रष्टाचार, अधिकारको लडाइँ, अविकास, असफल छिमेकी सम्बन्ध लगायतका मुद्दा कुन दिन बिष्फोटक हुनेछन् समयको प्रतीक्षा गरौं ।