नेपालमा कोरोना भाइरसबाट संक्रमित हुने बालबालिकाको संख्या ५४ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डाक्टर मदन उपाध्यायले हालसम्म ५४ हजार ४ सय ६० जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
यो तथ्यांक साउन १३ गतेसम्मको हो । पहिलो लहरमा २१ हजार पांच सय २३ जना बालबालिका संक्रमित हुदा दोस्रो लहरमा ३२ हजार नौ सय ३७ बालबालिका संक्रमित भएका छन् ।
डा. उपाध्यायले दोस्रो लहरमा संक्रमित भएका बालबालिकामध्ये २९ हजार सात सय ७७ जना निको भएका छन् । कोरोना संक्रमणबाट पहिलो लहरमा ३८ र दोस्रो लहरमा ४३ जना गरी कुल ८१ जना बालबालिकाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार गएको सात दिनमा पीसीआर र एन्टिजन परीक्षण गरी कुल १०,६३५ जना सङ्क्रमित थपिएका छन्।
त्यसमा नौ वर्षसम्मका २२३ जना र १० देखि १९ वर्षसम्मका ८६५ जना छन्। प्रतिशतका हिसाबले त्यो क्रमशः २.१ र ८.१ प्रतिशत हो।
चिकित्सकहरूले कोरोनाभाइरस सङ्क्रमणको दोस्रो लहरले पहिलेभन्दा तुलनात्मक रूपमा बालबालिकालाई बढी प्रभाव पारिरहेको बताएका छन्।
वयस्क व्यक्तिहरूको तुलनामा बालबालिकाको कोभिड १९ परीक्षण कम भएको हुँदा सङ्क्रमित बालबालिकाको सङ्ख्या अझ बढी हुन सक्ने ठानिएको छ।
कोरोनाभाइरसबाट सङ्क्रमित हुने बालबालिकाहरूको सङ्ख्या बढ्ने क्रममा रहेता पनि हालसम्म अस्पतालमै पुर्याउनु परेका बालबालिकाहरूको सङ्ख्या भने कम नै रहेको बीबीसीले सम्पर्क गरेको काठमाण्डूका केही अस्पतालले जनाएका छन्।
बालबालिकामा लक्षण कसरी थाहा पाउने?
सामान्यतया बच्चाको अवस्था नराम्रो रहेको अभिभावकहरूलाई थाहा हुने पौडेल बताउँछन्।
बच्चाले राम्रोसँग खाइरहेको छैन, सास फेर्न छिटोछिटो गरेको छ, खेल्न मन गरेको छैन, पखाला छ, खोकी लागेको छ वा सबैभन्दा महत्त्वपूर्ण ज्वरो छ भने चिकित्सकको सल्लाह लिनुपर्ने र बेलैमा परीक्षण गर्नुपर्ने उनी बताउँछन्।
बेलैमा अवस्था थाहा पाए उपचार गर्न सहज हुने उनको भनाइ छ।
उपचारका क्रममा चिकित्सकलाई सही सूचना दिन पनि जरुरी हुने उनी बताउँछन्।
कतिपय बालबालिका सङ्क्रमित भए पनि लक्षण भने नदेखिने पनि हुन सक्ने नेपाल पेडियाट्रीक सोसाइटीको भनाइ छ।
“विश्वका बालबालिकामा बिरामीको समय भन्दा पनि रोग लागेको ४ – ६ हप्ता पछि मल्टी सिस्टम इन्फलेमेटरी सिनड्रोम इन चिल्ड्रेन (एमआइएससी) भई बच्चाहरू सिकिस्त हुन सक्छन्। यसको उपचार निकै महँगो छ, अत्यन्तै कडा रूपमा प्रस्तुत हुने र आईसीयूको आवश्यकता सँगै कतिपय अवस्था जटिल समेत हुन्छ,” सोसाइटीले सार्वजनिक गरेको अपिलमा उल्लेख गरिएको छ।
उक्त अवस्थाको लक्षण ज्वरो, कडा झाडा पखाला, बढी पेट दुख्ने, श्वास फेर्न गाह्रो र शरीरमा डाबरको साथै मुटुका समस्याहरू पनि हुन सक्ने बताइएको छ।
डा. शाक्यका अनुसार बालबालिका र बढी उमेर भएकाहरूमा देखिने लक्षण लगभग उस्तै नै हुन्छन्। प्रायमा श्वासप्रश्वास असहज हुने, ज्वरो आउने र निमोनिया देखिने गरेको उनको अनुभव छ।