बुद्धले संसार छोड्नुभएको विषयलाई प्रतीकरुपले बुझ्न सकिन्छ । उहाँले विषय, गृहस्थ, दैनिक, राज्यप्रशासन र व्यवस्थापनका काम अरु नै कसैका लागि उपयुक्त हुने देख्नुभयो र त्यो जिम्मेवारी सुम्पिएर अध्यात्मयात्रामा सहभागी हुनुभयो । यसको अर्थ उहाँ जिम्मेवारीविहीन हुनुभयो भन्ने होइन, बरु अझ व्यापक र सर्वहितकारी जिम्मेवारी वहन गर्नुभयो भन्ने हो । सायद, उहाँ दरबारमै बसेका भए यति धेरै चर्चा पाउनुहुने थिएन, जति बुद्ध भएर पाउनुभएको छ । सायद, उहाँ दरबारमै राजा भएर बसेका भए यति धेरै मानिसले शान्ति, अहिंसा र प्रेमको शाश्वत प्रेरणा पाउने थिएनन्, जति उहाँ बुद्ध भएपछि पाउनुभएको छ ।
गौतम बुद्धलाई नचिन्ने को छ ? धरतीका सबैसबैका प्रिय हुनुहुन्छ, उहाँ । उहाँ दरबारका राजा भएर बस्नुभएका भए देश र जनताका लागि केही लौकिक व्यवस्थापनको काममा सहयोग गर्न सक्नुहुन्थ्यो होला, तर बुद्ध भएपछि उहाँको सहयोग विश्वव्यापी हुन पुग्यो । विश्वका सारा मानिसले उहाँबाट अमरताको सन्देश पाए । उहाँ आपूmमात्रै अमर हुनुभएन, अरुलाई पनि अमर बनाउनुभयो ।

बुद्ध भगुवा हुनुुहुन्न । भगुवाहरू त सिद्धिन्छन्, गुमनाम हुन्छन्, तर बुद्धको नाम त कहिल्यै सुन्न नपरे हुन्थ्योे भनेर कान थुनेर बस्नेहरूले पनि नसुनी भएको छैैन । अनि बुुद्धलार्ई भगुवा भन्नेहरूले बुझ्नुपर्छः उहाँ भगुवा होइन, अगुवा हो । दरबारबाट भागेर उहाँ कतैै जानुभएको छैन । यदि जानुभएको छ भने पनि प्रत्येक मान्छेको मन—मनमा जानुभएको छ । प्रत्येक विश्ववासीको स्पन्दन बन्न पुग्नुभएको छ । के यसरी जन—जनको हृदयमा पुग्न सक्ने व्यक्ति भगुवा हुन सक्छ ? उहाँकै अगुवाईमा आज समग्र विश्वशान्तिको महायात्रा अघि बढेको छ ।
त्यसैले, बुद्ध हुनु सिद्धिनु होइन, बरु भरिनु हो, पूर्ण हुनु हो, मस्त हुनु हो, मस्त बनाउनु हो, मुक्त तुल्याउनु हो । हामी हरेकले व्यक्तिलाई मुक्ति, बोध र अमरताका लागि प्रेरित गर्नुपर्दछ । हाम्रा पूर्वजहरुको प्रायः प्रयास भनेकै व्यक्ति कसरी अमर हुन सक्छ वा व्यक्तिलाई कसरी अमर तुल्याउन सकिन्छ भन्ने रहेको देखिन्छ । व्यक्तिभित्रको सम्भावना व्यर्थ खेर नजाऊन्, ऊ सामान्य पशुप्राणी र कीटपतंगजस्तै गुमनाम सकिएर नजाओस् । ऊ त आफ्नो आयुलाई पनि जितेर साँचो अर्थमा मनुष्य बनेर उच्च जीवनबोध गर्दै अमरताको इतिहास लेख्न सकोस् । यही हाम्रा आचार्यहरुको आदेश हो ।