काठमाडौं, १३ साउन २०८३
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित देवानगञ्ज बजारमा मंगलबार साँझ दुई पक्षबीच भएको हिंसात्मक झडप करिब अढाई घण्टापछि सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्। प्रहरीका अनुसार राति ९:३० बजेदेखि अवस्था सामान्य बन्दै गएको छ।
इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालका अनुसार हाल नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सुरक्षा निकायको बाक्लो परिचालन गरिएको छ। सम्भावित अप्रिय घटना रोक्न सुरक्षा निगरानी थप कडा पारिएको उनले बताए।
प्रहरीका अनुसार साँझ करिब ७ बजेदेखि सुरु भएको झडपमा रड, भाला, खुँडा र तरबारजस्ता घरेलु हतियार प्रयोग भएका थिए। घटनाका क्रममा आगजनी र तोडफोडसमेत भएको प्रहरीले जनाएको छ।
प्रारम्भिक विवरणअनुसार देवानगञ्ज बजारका २० भन्दा बढी घर तथा पसलमा क्षति पुगेको अनुमान गरिएको छ। यद्यपि भौतिक क्षति र क्षतिको मूल्याङ्कन सम्बन्धी विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
यसअघि मंगलबार दिउँसैदेखि देवानगञ्ज र घुस्की क्षेत्रमा तनाव उत्पन्न भएको थियो। केही घरमा आगजनी हुनुका साथै सुरक्षाकर्मीमाथि पनि आक्रमण भएको प्रहरीले जनाएको छ। सुरक्षा अवस्था निगरानी गर्न नेपाली सेनाले हेलिकोप्टरमार्फत हवाई गस्तीसमेत गरेको थियो।
घटनामा केही व्यक्ति घाइते भएको अनुमान गरिए पनि घाइतेको संख्या र अवस्थाबारे आधिकारिक विवरण सार्वजनिक गरिएको छैन।
सुरक्षा निकायले हाल अवस्था पूर्ण रूपमा नियन्त्रणमा रहेको जनाएको छ। साथै स्थानीयलाई अफवाहमा विश्वास नगर्न, सामाजिक सञ्जालमा फैलिने अपुष्ट सूचना नफैलाउन तथा शान्ति कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।