देशै सक्ने तन्त्र त किन चाहियो ?

देशै सक्ने तन्त्र त किन चाहियो ?

परशुराम कोइराला


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ४ असार २०७८
  • 6.1K
    Shares

राहत बारे कार्टुन
देशै सकेर के को लोकतन्त्र र गणतन्त्र ? राष्ट्रिय स्वाधीनता र जनतन्न्रका खोजी विषयले हजारौंका कुर्वानी पनि भएकै हुन् । तर न देश जोगिने स्थिति देखियो ,न आममानिसलाई परिवर्तनका अनुभूति हुन सक्यो नै । लोकतन्त्रका नाममा विदेशीका हितमा भएगरिएका परिवर्तनहरूबाट एक राजाका ठाउँमा देशै लिलाम गर्नसमेत पछि नपर्ने हजारौं खर्चिला र महङ्गा राजाहरु जन्माउने र देशलाई चरम भ्रष्ट्राचारका दलदलमा फँसाउने जनविरोधीहरूका सरकारहरू पनि धेरै देखिए । दुईतिहाइ निकट सरकार हुँदा पनि आफूलाई सक्षम प्रमाणित गर्न प्रायले सकेनन् । विदेशी भरिया,एजेन्ट भएर तिनका जुठोपुरो मै गर्व गौरव गर्ने मवादी पदलिप्से देशघाती,जनघाती अहम् प्रवृत्ति देखिंदादेखिदै पनि दुईतिहाइ नरुचेर यतिबेला सरकारलाई चरम सङ्कट छ ।
परशुराम कोइराला
लेखक : परशुराम कोइराला
एमसिसि पास गरे चीन रिसाउने,नगरे अमेरिका रिसाउने ।भारत र युरोपियन युनियनले जन्माएका दास प्रभूहरूकै कारण एकातिर जनाकाङ्क्षादेखि राष्ट्रिय स्वाधिनता सङ्ङ्कटमा छ ।देश सिक्किमीकरण प्रक्रियाउन्मुख छ ।देशका अङ्गप्रत्यङ्ग आफैमा नियन्त्रण बाहिर छ । जनताका अवस्था अस्तव्यस्त छ ।भ्रष्टाचार चरम भैसक्यो ।अनियन्त्रित छ । जलस्रोत,सिमा लगायत भारतसंगका गलत सन्धिसम्झौता , नागरिकता विधेयकजस्ता देशलाई सिक्किम बनाउने घातक विषय सम्झौता ०४६ यता धेरै भए ।अर्कोतिर होलीवाइन दिने र लिनेबीचका द्वन्द्वकै बीच दिल्ली रोहवरको उही नेपालविरोधी १२ बुँदे राष्ट्रघाती सहमतिमा हस्ताक्षर दन्काउने पात्र मध्यकै पूर्व प्रधानमन्त्रीहरूका संयुक्त बक्तव्यसम्मका आशयले पनि यतिवेला अनिष्टकै सङ्केत हुन्छ नै । यो अयोग्य र भ्रष्ट दम्भी नेतृत्व आफैबाट सिर्जिएको समस्या हो ।
हिजोसम्म आफूलाई निर्विकल्प देख्नेका ओंठमुखै सुक्ने गरी परिस्थिति एकाएक मोडिएका दृष्यहरू ,देशभक्त शक्तिका छटपटाहट,सामाजिक न्याय र परिवर्तनका अनुभूति गर्नै बन्चित नागरिक समाजका छटपटाहट ,तिनका अगुवाहरु र सेनाका चासो आदिबीच चीनको पछिल्लो चेतावनी र अन्य राष्ट्रिय अन्तराष्ट्रिय परिस्थिति, देशभक्त जनपक्षीय आन्दोलन विद्रोह ,विरोध आदिले असफलै असफलताको पीडा खेप्दै मुठ्ठीभरका हितमा टिकेको लोकतान्त्रिक गणतन्न्रका आयु पनि अब धेरै लामो हुने देखिएन ।
मूल समस्या संबिधानमै देखिन्छ । जुन जोगी आए पनि कानै चिरेका अनुभव गर्दै आएका जनता चुनावबाट समाधान हुने कुरामा अब विश्वास गर्न सकिरहेका छैनन् । छयालीसयता दुईतिहाइ र त्यसका नजिकनजिक पनि जनताले पटकपटक पुर्याइदिएकै हुन् । तर विडम्बना नै भन्नुपर्छ,विदेशी दलालहरूलाई जनताका अभिमत रुच्नै सकेन । पचेन । यही व्यवस्था रहिरहे ब्यक्ति फेरिदैमा पनि समाधान सम्भावना अव देखिएन । यतिबेला बहुसंख्यक जनताले अहिलेका संविधान र व्यवस्थाकै विकल्प खोजिरहेकै छन् । राष्ट्रिय स्वाधीनताका मुद्धाहरू ओझेल पर्नु हुँदैनथ्यो ।तर यो व्यवस्थाका दलाल मतियारहरुबाट देश जोगिने सम्भावना अब देखिएन ।
देशभक्त र वास्तविक अग्रगमनका पक्षधरहरूलाई प्राय तलै निमोठ्ने ,माथि पुग्नै नदिने र पुगे पनि अनेक अफवाहहरू सिर्जेर निमिट्यान्नै पार्ने कम्युनिष्ट पार्टीभित्रका विगतका रोगहरूबाट पनि कम्युनिष्टहरु सचेत हुन नसक्दा देशले ठूलो क्षति व्यहोर्नु परेकै छ । मातृभूमि जोगाउनु पहिलो कर्तव्य हो । आफ्ना बोर्डरहरू प्राय सिल राख्ने चीन,उत्तर कोरिया आदिबाट सिक्ने काम कम्युनिष्टहरूले पनि गर्नुपर्ने हुन्छ । देशभक्त ,जनपक्षीय शक्तिबीच बलियो मोर्चा आवश्यक छ ।नेतृत्व (शासक ) र जनताबीच कुनै खालका अन्तरविरोधका अनुभूति नहुने गरी जनतालाई सर्वशक्तिमान ठान्ने ,पूर्ण सामाजिक न्याय अनुभूति हुने ,नयाँ योजना र प्रष्ट वैज्ञानिक दृष्टिकोणसहित सबै जनपक्षीय , देशभक्त शक्तिहरू बीचका सशक्त एकताविना सम्भव पनि नहोला । जनताहरूले पनि बुझेरै होला सायद ,अहिले प्रतिगमनप्रिय होइनौं भन्दै अनेक प्रश्नहरू गर्न थालेका छन् । ‘अहिले लोकतान्त्रिक गणतन्त्रका नाममा हिजो कुनैबेला संसार थर्काएका पुर्खाहरूका नासो देशै सक्ने तन्त्र त किन चाहियो र …?’ प्रश्नैप्रश्नबीच उत्तर अपेक्षामै वस्तीहरू तातिरहेछन् यतिबेला ।
(पोखरा ,२०७८-०३-०३)

प्रतिक्रिया