घूससहित गाविस सचिव रंगेहात पक्राउ

घूससहित गाविस सचिव रंगेहात पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ४ चैत्र २०७२
  • 10.4K
    Shares

जग्गा सिफारिस गर्नका लागि लिएको घूससहित धनुषाको हंसपुर कठ्पुल्लाका गाउँ विकास समितिका सचिव  रंगेहात समातिएका छन् । वैदेशिक रोजगारमा रहेका एक महिलाका पतिको त्यहीँ मृत्यु भएपछि पतिको नाममा रहेको जग्गा आफ्नो नाममा सार्नका लागि गाविस सचिवसँग सिफारिस गराउन जाँदा ४२ वर्षीय सचिव निरसन साहले पाँच हजार घुस मागेका थिए ।
पटक पटक अनुरोध गर्दा पनि सचिव साहले घूसबिना काम नगर्ने भनेपछि ती महिलाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बर्दिबासमा गएर उजुरी गरेकी थिइन् ।
आयोगका प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले ती महिलालाई पाँच हजार रकम दिएर सोही रकम सचिव साहलाई घूस बापत दिनका भनेका थिए । सोही क्रममा विहीबार ती महिलाले जनकपुरमा मालपोत कार्यालय अगाडी रहेको एक चिया पसलमा सचिव साहलाई बोलाएर अख्तियारका कर्मचारीले उपलब्ध गराएको रकम दिइन । यता, पहिलादेखि नै साहमाथि निगरानी गरेका डिएसपी आचार्यसहितको टोलीले घुस रकम लिनबित्तिकै उनलाई पक्राउ गरेका हुन् ।
डिएसपी आचार्यले ती महिलाको नाम सुरक्षाका कारणले नखुलाइएको बताए । पक्राउ परेका साहको साथबाट घूस बापतको पाँच हजार बाहेक एक लाख नगदसमेत बरामद भएको आचार्यले जानकारी गराएका छन् ।
तर, सचिव साहले सो रकम गाविसमा सामाजिक सुरक्षा भत्ता बाड्न बैंकबाट ल्याएको बताए । डिएसपी आचार्यले साहको साथबाट बरामद भएको एक लाख रुपैंयाबारे अनुसन्धान गरिने बताएका छन् ।
पक्राउ परेका सचिव साहलाई थप अनुसन्धानको लागि अख्तियारले आयोगको केन्द्रीय कार्यालय पठाउने जनाएको छ ।

प्रतिक्रिया