‘पब्लिक स्पिकर सिजन–२’का विजेता रमेश प्रसाई विवाह बन्धनमा बाँधिने भएका छन् । उनले कालीकोटकी नन्दा सिंहसँग लगनगाँठो कस्ने भएका हुन् ।
रमेश र नन्दाले आगामी २२ गते सोमबारका दिन बिबाह गर्न लागेका हुन् । उनीहरु दुवै दृष्टिविहिन हुन् ।
पछिल्लो समय ‘रिङ्केबुङको राँगो’ गीतका कारण चर्चामा रहेका ताप्लेजुङ निवासी दृष्टिविहीन रमेशले दुई महिना अगाडि इन्द्रेणीमा कल्पना दाहालबीच चलेको रमाइलो दोहोरीले पनि निकै चर्चा पाएको थियो । उक्त दोहोरी गाएपछि रमेश र कल्पनाको नाम पनि जोडिएको थियो ।
नन्दा भने समाजसेवामा छिन् । उनले काठमाडौंमा बालआश्रम चलाइरहेकी छन् । नन्दा र रमेशविच ३ बर्षदेखि गहिरो प्रेम सम्बन्ध रहेको छ । ३ बर्ष अगाडि नन्दालाई रमेशले प्रेम प्रस्ताव राखेका थिए । ३ बर्ष अगाडि इन्द्रेणी कार्यक्रममा भेट भएपछि उनीहरु नजिक भएका थिए । रमेशले बिबाहको प्रस्ताव राखेका थिए । नन्दा र रमेशको बिहे धरानबाट हुने बुझिएको छ ।उनले अनाथ असहाय बालबालिकालाई सहारा दिँदै आएकी छन् ।
उनले आफ्नो बाल्यकालकी साथी गीता बस्नेतसँग मिलेर अनाथ असहाय बालबालिकाहरुको हेरचाहका लागि काठमाडौंमा ‘अन्तरदृष्टि नेपाल’ नामक संस्था चलाएकी छन् ।
तीन वर्षको लामो प्रेम सम्बन्धलाई रमेश र नन्दाले बिवाहमा परिणत गर्न लागेका हुन् । त्यस्तै, रमेश प्रसाईका मिल्ने साथी जीवन विष्ट पनि सोही दिन बैबाहिक बन्धनमा बाँधिने भएका छन् । जीवन विष्टले फेसबुकमार्फत उक्त जानकारी गराएका हुन् ।
उनले भनेका छन्, ‘मंसिर १७ गते रमेश प्रसाईं काठमाडौं र २२ गते जीवन विष्ट धरानबाट विवाह गर्ने सम्झौता भएता पनि १४ वर्ष लामो हाम्रो मित्रताको उपज एउटै कार्ड छापी एउटै मण्डपबाट यसै महिनाको २२ गते सोमबार विवाह गर्ने सहमति भएको समस्त सुभेच्छुकहरुमा जानकारी गराउँदछौं ।’
को हुन् नन्दा सिंह ?
मार्मीक अनि प्रेरणादायक यात्रा: कर्णालीदेखी काठ्माण्डौसम्म
उमेरले २४ वर्षमा मात्रै भएकी कालीकोट डिल्लीकोटका नन्दा सिंह आफैँमा आँखा देख्दिनन् । उनको उमेर हेर्दा आफैँ विश्वविद्यालय पढ्ने अवस्थामा छिन् । शारीरिकरुपमा ठीक भए पनि बाहिरी दृष्टिले उनलाई ठगेको छ । आफैँलाई अरुको सहारा दिनुपर्ने अवस्था छ । तर उनले आफूले ओट निचर्दा दूध आउने उमेरका एक दर्जन बालबालिकालाई साहारा दिएकी छिन्। बूढानीलकण्ठ नगरपालिका– १३ बालुवाखानीको एक घरको छिडीमा चार वटा कोठा भाडमा लिएर कालीकोटकी सिंहले गरेको काम भने सामान्य मानिसले गर्नेभन्दा ठूलो छ । मनमा साहस छ । आँट छ ।
जीवनमा केही गरौँ भन्ने सदीक्षा पनि छ । “मैले आँखा नदेखेर के हो भो त रु मलाई प्रकृतिले यस्तै बनायो, म यसैमा खुशी छु”, नन्दाले भनिन्। “अभिभावक नभएका यी कलिला बालबालिकालाई शिक्षा दिक्षा दिनसके भने त्यसले मलाई खुशी दिनेछ, किनकि मैले बाहिरी आँखा नदेखे पनि यी बाबु नानी भविश्यमा ठूला मान्छे भए भने मेरा लागि त्यो नै सबैभन्दा खुशीको विषय हुनेछ”, उनले भनिन्।तीन वर्षको उमेर हुँदासम्म उनले आँखा देख्थिन् । झाडापखलाले नराम्ररी सतायो ।
मरी भनेर घरकाले सेतो कपडामा बेरेर नजिकैको जङ्गलमा लगेर गाड्न ठिक्क पारेका थिए । राति म चलमलाएपछि यो त ज्यूँदै रहिछ भनेर आफू बाँचेको उनले बताइन् । बाँचे पनि मेरो जीवनमा अन्धकार थपियो । झाडापखला लाग्नुअघि आँखा देख्ने आफू त्यसपछि भने नदेख्ने भए । मेरो बाल्यकाल अन्धकारको रसातलमा भासियो ।
“बाल्यकाल अरु साथी खेलेको देख्दा मलाई पनि खेल्न मन लाग्थ्यो ।अरु साथीसँग मलाई खेल्नसमेत दिइँदैनथ्यो, किनकी मैले जस्तै अरुको पनि आँखा नदेख्ने हुन्छन् भनेर रोकिन्थ्यो, मलाई गाली गरिन्थ्यो । मन भित्रभित्रै रुन्थ्यो”, नन्दाले अगाडि भन्दै जानुभयो, “बालककालमा आँखा नदेख्ने अन्धी भनेर हेप्थे । तर मेरो मनमा एउटा आँट पलायो । जीवनमा केही न केही गर्छु भनेर मनलाई दह्रो बनाइन् ।”कर्णाली प्रदेशको कालीकोट । अहिले पनि दुर्गम छ । यातायातको सहज सुविधा छैन । कुनै सुविधा पाउने कुरा परको जस्तै भयो । शिक्षा, स्वास्थ्य तथा अन्य भौतिक सुविधाबाट पर पारिएको कालीकोटकी चेलीको आँट साच्चै अदम्य छ । आमा रुखबाट लडेर निधन भएका, छाउगोठमा बस्दा सर्पले डसेर मरेका आमाका बच्चा स्याहार्ने र उनीहरुलाई शिक्षित बनाउने जिम्मा लिनुभएकी नन्दाले आफ्नो दुःख मात्रै फुकाउनु भएन । कलिला बालबालिकाको जीवनमा खुशी ल्याउने जिम्मासमेत लिएकी छिन्।
उनलाई बाल्यकालकै साथी गीता बस्नेतले साथ दिएकी छिन्। बस्नेत भने आँखा देिख्छन् । उमेरले उनी पनि मात्रै २३ वर्षको । यी सखीले बालबालिकाको हेरचाहका लागि ‘अन्तरदृष्टि नेपाल’ नामक संस्था खोलेकी छिन् !!!