बागलुङ, २४ माघ ।
बागलुङको अधिकारीचौर–३ घैयाखेत, बगाहस्थित गोठमा आगलागी हुँदा आज एकै परिवारका दुई जना बालबालिका जलेर मुत्यु भएको छ ।
मृत्यु हुनेमा सात वर्षीय यमलाल विक र तीन वर्षीया सम्झना विक रहेका छन् । चुल्होमा बलिरहेको आगो एक्कासी खरले छाएको गोठमा सल्किँदा आगलागी भएको प्रहरीले जनाएको छ ।
सोमबार अभिभावक नभएका बेला गोठभित्र बसिरहेका दुवै बालबालिका जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए।
मृतकका आमा पारु विक बिहानै घाँस काट्न बारीमा गएका बेला उक्त घटना भएको जनाइएको छ । विकका श्रीमान् ओमबहादुर विक भने रोजगारीका लागि विदेशमा रहेका छन् ।
विक बालबच्चासहित अस्थायी रुपमा उक्त गोठमा बस्दै आउनुभएको थियो । घटना भएको ठाउँ नजिकै बस्ती नभएकाले बालबालिकाको समयमै उद्धार हुन नसकेको जनाइएको छ ।
मृतक दुवै बालबालिकाको शव परीक्षणका लागि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको प्रहरीले जनाएको छ ।