ताप्लेजुङको खोक्लिङ गाविसमा हत्या गरीएका वन रक्षक गणेशबहादुर शाहीको हत्या प्रकरणमा मुख्य अभियुक्त भनिने सबिन लिम्बुसहित ६ जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला न्यायाधीश अशोकुमार बस्नेतको इजलासबाट खोक्लिङ ८ का सबिनसहित दावा शेर्पा, चेतबहादुर गुरुङ, कृष्ण गुरुङ, नन्दराम गुरुङ र वीरबहादुर गुरुङ पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
घटनामा संलग्न खोक्लिङ-८ का तोयानाथ लिम्बूलाई ५० हजार, विष्णुलाल भन्ने हरि पन्त, दल बहादुर लिम्बू, पदम गुरुङ, लाल बहादुर लिम्बूलाई जनही ३० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
हाङदेवा-५ का राम बहादुर लिम्बू, ता.न.पा-६ की देउकला लिम्बू मादेन र हाङदेवा-५ की रीया भन्ने सोनिसा लिम्बूलाई जनही ४० हजार धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका नायब सुब्बा होम प्रसाद खनालले जानकारी दिए ।
प्रहरीले सबिन सहितका १५ जनालाई अनुसन्धानका लागि भन्दै यस अघि नै नियन्त्रणमा लिएको थियो ।
जिल्ला अदालतका कर्मचारी डिवी तामाङका अनुसार सबिनले बैठकका लागि भन्दै बोलाएर उपस्थित भएका ६ जनालाई पुर्पक्षमा राखी अनुसन्धान गर्न अदालतले आदेश गरेको छ ।
सामुदायिक वनको स्रोत सर्बेक्षणका लागि भन्दै बोलाएर वन रक्षकको हत्या भएपछि प्रहरीले सबिन सहित १५ जनालाई निगारानीमा राखेर अनुसन्धान गर्दै आएको थियो । प्रहरीले सबिनलाई मुख्य अभियुक्त मान्दै आएको छ ।
प्रहरी नियन्त्रणमा रहेका मध्ये अदालतले खोक्लिङ ८ का पुर्णबहादुर लिम्बुुलाई मात्र सामान्य तारेखमा छाडेको छ ।
जाजरकोटको दशेरा गाविस वार्ड नं ८ घर भई दुई बर्षदेखि वन रक्षकमा कार्यरत शाहीको गएको पुष १७ गते कार्य स्थलमै बिभत्स हत्या भएको थियो ।