नेपाल कम्युनिस्ट पार्टीले अरुण तेस्रोलगायतका राष्ट्रघाती सन्धि सम्झौता खारेजीको माग गर्दै प्रदर्शन गरेको छ । नेपाल कम्युनिस्ट पार्टी र सो निकट १४ संगठनले संयुक्त रुपमा सो बिरोध प्रदर्शन गरेका हुन् । नेकपा निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी), अखिल नेपाल किसान संगठन (क्रान्तिकारी), अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघ, अनेरास्ववियु (क्रान्तिकारी), नेपाल राष्ट्रिय बुद्धिजीवि संगठन, अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघ, नेपाल राष्ट्रिय प्राध्यापक संगठन, संयुक्त उद्योग वाणिज्य महासंघ नेपाल, अखिल नेपाल शिक्षक संगठन, नेपाल उड्ययन तथा पर्यटन व्यवसायी संगठन, नेपाल निर्माण व्यवसायी संगठन, दलित मुक्ति मोर्चा, नेपाल र नेपाल राष्ट्रिय इन्जिनियर्स संगठनले संयुक्त रुपमा गरेको सो बिरोध प्रदर्शन नेकपाका पोलिटब्युरो सदस्य उमा भुजेलकाे नेतृत्वमा सम्पन्न भएको छ । काठमाडौँको सुन्धारादेखि न्युराेड पिपलबाेटसम्म -र्याली र नाराजुलुशसहित भएको सो बिरोध प्रदशन काेणसभा गरेर टुंगिएको थियो ।

यसैबीच, नेकपा(क्रान्तिकारी माओवादी)ले पूर्व घोषित कार्यक्रम अनुसार मोदी भ्रमणको विरोधमा गरिएको काठमाण्डौको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको छ । काठमाण्डौको नरदेवीबाट शुरु भएको विरोध ¥याली रत्नपार्कको बसपार्क अगाडि आईपुगे पछि प्रहरीले हस्तक्षेप गरेर पार्टीका स्थायी समिति सदस्य तथा देजमा, नेपालका केन्द्रीय अध्यक्ष सी.पी गजुरेल सहित सयौं नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेको छ । गिरफ्तारमा पर्ने अन्य नेताहरुमा पार्टी पी.बि.एम द्वय पवनमान श्रेष्ठ र कमल चौधरी, केन्द्रीय सदस्यहरु सुरेश श्रेष्ठ, शारदा महत, हुकुमबहादुर सिंह, सरोज, देजमोका केन्द्रीय सदस्यहरु खगेन्द्र छन्त्याल, इन्दिरा अधिकारी लगायत रहेका छन् । गिरफ्तार नेता कार्यकर्ताहरुलाई टेकु स्थित प्रहरी कार्यालयमा राखिएको छ ।
मोदी भ्रमणको विरोधमा कालो ब्यानर र काला झण्डाहरुसहित विरोध प्रदर्शनमा उत्रिएका क्रान्तिकारी नेता कार्यकर्ताहरुले भारतीय विस्तारवादका विरुद्ध चर्का नाराबाजी गरेका थिए । गिरफ्तारमा पर्नु अघि मोर्चाका अध्यक्ष गजुरेल लगायत क्रान्तिकारी नेता कार्यकर्ताहरु र प्रहरी बीच झडप भएको थियो । विरोध ¥यालीलाई भृकुटीमण्डप तर्फ अगाडि बढ्न रोके पछि नेता गजुरेलले विरोध मन्तब्य राख्नु भएको थियो ।