पोखरा,२७ फागुन २०८२।
विराटनगरमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा परेर नेपाल प्रहरीका एक जना सइ (प्रहरी नायव निरीक्षक)को मृत्यु भएको छ भने अर्को एक जना घाइते भएका छन्।
राजवंशी चोकबाट भित्री सडक खण्ड भएर नोबेल अस्पतालतर्फ जाँदै गरेको स ७ प ९१५२ नम्बरको मोटरसाइकल बिहान ७:३५ बजे विराटनगर महानगरपालिका–४ राजवंशी चोकमा आफैं अनियन्त्रित भएर दुर्घटनाग्रस्त हुँदा कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरमा कार्यरत सई ४० वर्षीय मीनबहादुर बोहोराको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेले दिएको जानकारी अनुसार , सई बोहराले चलाएको उक्त मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनाग्रस्त हुँदा उनीसहित मोटरसाइकलको पछाडी बस्ने उदयपुरको त्रियुगा नगरपालिका–६ का ४१ वर्षीय पेशलकुमार बस्नेत घाइते भएका थिए ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएकोमा उपचारकै क्रममा बिहान ९ बजेतिर मृत्यु भएको डीएसपी लामिछानेले बताए । शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल लगिएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार उदयपुरको त्रियुगा नगरपालिका–६ का ४१ वर्षीय पेशलकुमार बस्नेत घाइते भएका छन् । मध्यम अवस्थाका उनको नोबेलमै उपचार भइरहेको छ ।