पोखरा,२७ फागुन २०८२।
जनताबाट उठाएको राजस्व ठुलाबडा र हुनेखानेले तिर्नुपर्ने राजश्व मिनाहामा खर्चिने पोखरा महानगरका मेयर धनराज आचार्यले बीरगन्जको कृषि औजार कारखाना संचालन गर्न आफ्नो जीवनी बेचिरहेका बैज्ञानिक डा. महाबीर पुनलाई सांसद पदको गरिमा सम्झाएका छन्।
आफ्नो सामाजिक सन्जाल फेसबुकमा एक स्टाटस राख्दै मेयर आचार्यले नवनिर्वाचित सांसद महावीर पुनलाई सांसदको भूमिका स्मरण गराएका हुन् । उनले आफ्नो स्टाटसमा सांसदको भूमिका पुस्तक बिक्री गर्ने नभई देशका लागि नीति र कानुन निर्माण गर्ने भएको सम्झाएका छन् ।
म्याग्दीबाट प्रतिनिधि सभामा निर्वाचित महावीर पुनले आज पोखराको चिप्लेढुंगा, पृथ्वीचोक लगायतका स्थानमा आफ्नो जीवनी बेचिरहेका छन्ग। उनले आफ्नो जीवनी बेचिरहेका मात्र छैनन्, उपस्थित सबैलाई आफ्नो जीवनी बिक्रीबाट प्राप्त सबै रकम बीरगन्जको कृषि औजार कारखाना संचालन गर्न खर्चिने बताएका छन्सो। राज्य अग्रसर भएर संचालन गर्नुपर्ने जीर्ण बीरगन्जको कृषि औजार कारखाना पुनले आफ्नो जीवनी लेखेर देशभरका जनतालाई बेचिरहेका छन् र त्यो रकम त्यही कृषि औजार कारखानामा खर्च गरिरहेका छन्।

बैज्ञानिक पुनले गरेको कामलाई सहयोग गर्नुपर्नेमा मेयर आचार्यले बुधबार आफ्नो फेसबुकमा लेखेका छन्, ‘माननीयज्यू, अब तपाईंको भूमिका देशका लागि नीति र कानुन निर्माण गर्ने हो र पुस्तक व्यवसायीको भूमिका पुस्तक बिक्री–वितरण गर्ने हो ।’
उनले सांसद पुनलाई पुस्तकको स्टक उपलब्ध गराए पुस्तक व्यवसायी महासंघमार्फत् बिक्री गरेर भुक्तानी उपलब्ध गराउने पनि भनेका छन् ।
‘यदि तपाईंको पुस्तकको स्टक उपलब्ध गराउनु भयो भने हामी महासंघमार्फत् त्यसलाई बिक्री गरी उचित भुक्तानी तपाईंलाई उपलब्ध गराउन सहजीकरण गर्न सक्छौं,’ आचार्यले लेखेका छन् । उनले त्यस पुस्तक बिक्री गरे बापत कति कमिशन दिनु पर्ने हो या कमिशन दिन नपर्ने हो केही उल्लेख गरेका छैनन्।
बैज्ञानिक डा. महाबीर पुनले पुस्तक पसलहरुलाई पुस्तक बेच्न दिंदा धेरै कमिसन मागेकाले आफै देशभर डुलेर आफ्नो जीवनी बेचिरहेको बताउने गरेका छन्।
मेयर आचार्यले हालसम्म बिक्री–वितरण भएको पुस्तकको विवरण सार्वजनिक गर्न सकिए पारदर्शिता बढ्नुका साथै कर भुक्तानीसम्बन्धी उठ्न सक्ने प्रश्नहरूको पनि सहज जवाफ प्राप्त हुन सक्ने उल्लेख गरेका छन् ।
त्यसो त बैज्ञानिक महाबीर पुनले पुस्तक बिक्रीबाट प्राप्त रकम आफ्नो वेबसाइटमा राख्ने गरेको जिकिर गरिरहेका छन्। के मेयर आचार्यले बैज्ञानिक महाबीर पुनले बिक्री गरेको पुस्तकमा कर असुल्न खोजेका हुन् ? या मणिपाल शिक्षण अस्पताललाई जस्तै बीसौं करोड रुपियाँ राजस्व मिनाहा छुट दिए जसरी प्रक्रिया पुर्याएर डा. पुनलाई पनि राजस्व मिनाहा दिन खोजेका हुन् ?
मेयर आचार्यले पुनको अभियान र उद्देश्यप्रति उच्च सम्मान व्यक्त गर्दै सहयोग र सहकार्यका लागि सदैव तयार रहेको पनि जानकारी गराउन चाहेका छन् । तर उनले डा. पुनको उक्त जीवनी किनेर सहयोग गरे या नगरेको बारे आफ्नो स्टाटसमा मेयर आचार्यले केही खुलाएका छैनन्।