भारतका खाद्यमन्त्री रामविलास पासवानको निधन

भारतका खाद्यमन्त्री रामविलास पासवानको निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २३ असोज २०७७
  • 3K
    Shares

भारतका उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्री रामविलास पासवानको निधन भएको छ ।

हालसालै मुटुको अप्रेसन गराएका केन्द्रीय मन्त्री पासवानको दिल्लीस्थित एस्कर्ट्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ७४ वर्षका उनी लामो समयदेखि बिरामी थिए ।

मन्त्री पासवानका छोरा तथा लोक जनशक्ति पार्टीका अध्यक्ष चिराग पासवानले ट्विटरमार्फत बुवाको निधन भएको जानकारी दिएका छन् । बिहारको जमुई क्षेत्रबाट लोकसभा सदस्यसमेत रहेका चिरागले लेखेका छन्, ‘बुवा… अब हजुर यस संसारमा हुनुहुन्न । तर मलाई थाहा छ, हजुर सधैं मेरो साथमा हुनुहुनेछ ।’

५ दशकदेखि भारतीय राजनीतिमा सक्रिय रहेका पासवान भारतका प्रमुख दलित नेतामा गनिन्थे । ८ पटक लोकसभा सदस्य बनेका पासवान पछिल्लो पटक भने राज्यसभा सदस्य रहेका थिए । यसअघि उनले रेल, सञ्चार तथा सूचना प्रविधि, खनिजलगायतमा महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

प्रतिक्रिया