नेता गोपाल किराँतीको चुनाब उपयोगको बाटो र माओवादी एकीकृत अभियान : ओम हमाल

नेता गोपाल किराँतीको चुनाब उपयोगको बाटो र माओवादी एकीकृत अभियान : ओम हमाल


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १९ असोज २०७७
  • 4.9K
    Shares

ओम हमाल

धेरै लामो समयपछि मैले राजनीतिक भेटघाटका क्रममा पुनर्गठित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक गोपाल किराँतीसंग पोखरामा भेट गर्ने मौका पाएं। लामो समय देशको परिस्थिति, राजनीतिक उतारचढ़ाव र माओवादी आन्दोलनको बारेमा छलफल भयो।

बाहिर धेरैले भन्ने गर्छन, “गोपाल किराँती अति जातिवादी हो। ” तर उनले मसंगको कुराकानीमा त्यो कुरा स्वीकारेनन्। उनले २०५४ सालदेखि २०६० सालसम्म किरांत वोर्कर्स पार्टी खोलेर जातीय मुक्तिका लागि सशस्त्र आन्दोलन गरेको स्वीकार त गरे। त्यसपछि जातीय मुक्ति आन्दोलनलाई स्थगित गरेर त्यो मुक्ति माओबादी जनयुद्धबाट सम्भव छ भन्ने निष्कर्षका साथ तात्कालिन सशस्त्ररत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)संग पार्री एकता गरेको कुरा सुनाएका किरांतीले अहिले आफु माओबादमा अडिग रहेको जिकिर गरे। आफुसंग सति नगएपछि प्रचण्ड जस्ता केही नेताहरुले आफुलाई ‘अति जातिवादी’ भनेर आरोप लगाउने गरेको उनले गुनासो गरे। “यदि म अति जातिवादी भएको भए अहिले पनि मंगोलका नाममा आन्दोलन चलिरहेको छ, त्यहीं गएर आन्दोलन हाँक्न सक्ने थिएं नि। तर म अहिले के निष्कर्षमा छु भने-माओवादी आन्दोलनले नै जातीय मुक्ति सम्भव छ। त्यही भएर म माओबादी आन्दोलन पुनर्गठन गर्ने अभियानमा छु। सत्तामा जान चाहेको भए प्रचण्डको पछि लागेर अहिले पनि मन्त्री हुनसक्थे होला। एकपटक मुलुकको मंत्री भएको मान्छे हुँ नै।” नेता किराँतीका यी कुरा मनासिब नै लग्यो मलाइ। अरुको कुरा सुन्दा र उनले आफ्नो भनाई राखिरहदा उनी अति जातिवादी रहेनछन कि लाग्यो मलाई। तर उनी ब्यबहारमा के छन्। उनीसंग निकट नेताहरुलाई नै थाह होला

माओवादी आन्दोलनलाई पुनर्गठित गर्ने अभियानमा रहेको बताउने नेता किरांतीले तत्काललाई निर्बाचन आयोगमा पार्टी दर्ता गरेर चुनाब उपयोग गर्ने पक्षमा आफु रहेको कुरा सुन्दा भने म छक्क परें। एकातिर माओवादी आन्दोलनको कुरा अर्कोतिर चुनाब उपयोगको कुरा, मेरो छोटो बुद्धिले यी मिल्ने नसक्ने कुरा गरेर नेता गोपाल किराँतीले के गर्न खोजेका होलान भन्ने मलाई लाग्यो। मैले पनि प्याट्टै आफ्नो कुरा राखिदिएँ, “कहाँ वर्गीय मुक्तिका लागि सशस्त्र संघर्ष गर्ने कुरा, कहाँ देश र जनताको नाममा भोट मागेर खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने दलाल संसदीय ब्यबस्था उपयोग गर्ने कुरा। यो कुरो त पटक्कै मिलेन।

मैले दलाल संसदीय ब्यबस्था उपयोग गर्ने कुरामा असहमति जनाउदै थप जिकिर के गरें भने,”हिजो सर्वहारा वर्गको राज्यसत्ता प्राप्त नभएसम्म वर्गीय मुक्तिका लागि दिर्घकालिन जनयुद्ध शरु गरेका प्रचण्डहरु संसद्बाद्मा फंसेर बिजोग हालतमा छन्। जसले उनीहरुलाई सत्तामा पुर्यायो उनैलाई दमन गरिंदैछ। हिजोको क्रान्तिका नायक आज प्रतिक्रान्तिको नेतृत्व गरिरहेछन। दलाल संसदीय ब्यबस्था उपयोग गर्ने कुरा सर्वथा गलत।

दलाल संसदीय ब्यबस्था उपयोग गर्ने हुन्न भन्ने अर्को जिकिर मैले वहाँसंग राखें। त्यो यस्तो थियो,”संसदीय ब्यबस्थामा जनतासंग दुई-तिहाई बहुमत ल्याएर जनताले चाहेको जस्तो संबिधान जारी गर्ने भन्ने हैन त ? दुइ-तिहाइ बहुमतले जनासंबिधान जारी हुने र जनताले चाहेको जस्तो ब्यबस्था ल्याउन अहिलेको कथित कम्युनिष्टको दुई-तिहाइ बहुमतलाई कसले छेकेको छ त ? यिनीहरुले जनताले चाहेको जस्तो ब्यबस्था र जनासंबिधान त जारी गर्न सकेनन नै,गरीब, किसान, मजदुर, सुकुम्बासी जस्ता आधारभूत वर्गको पक्षमा कार्यक्रम पनि ल्याउन सकेनन त। किन ? हिजो जनताको पक्षमा लडेका र अहिले सत्तामा पुगेका नेताहरु जनताका पक्षमा संघर्षरत शक्तिलाई दमन गरिरहेका छन्। अनि के दलाल संसदीय व्यबस्थाको उपयोगबाट मुलुकमा समाजवाद आउँछ त ? नेता किराँतीसंग यो मेरो प्रश्न थियो।

संसदीय व्यवस्था उपयोगको कुरामा नै असहमति जनाएपछि नेताजीले माओवादी आन्दोलनलाई पुनर्संगठित र एकीकृत गर्ने कुरा उठाउनु भयो। जुन कुरो वहांको सकारात्मक थियो। नेपालमा सर्वहारावर्गको राज्यसत्ता स्थापना गर्न २०५२ सालमा शुरु गरिएको दिर्घकालिन जनयुद्धमा सहभागी माओबाद मान्ने शक्तिहरु छिन्नभिन्न भएका छन्। हिजो दश वर्षीय जनयुद्ध लडेका शक्तिहरु विभाजित भएर कोहीले कम्युनिष्ट विचारधारा नै परित्याग गरे, कोही माओवादी नामको पसल खोलेर बसेका छन्, कोही बढी र छिटो क्रान्तिकारी बन्न सशस्त्र संघर्ष शुरु गरि हाले पनि आन्तरिक कलहका कारण रक्षात्मक अवस्थामा छन्।

महान जनयुद्धका चार जना कमाण्डरहरु मध्ये पुष्पकमल दाहाल र रामबहादुर थापा दुई जना दलाल संसदीय व्यबस्थाको मतियार बनेर क्रान्तिकारी शक्तिलाई दमन गरिरहेका छन्। अर्का कमान्डर डा. बाबुराम भट्टराई कम्युनिष्ट विचारधारा नै परित्याग गरेर पुँजीवादी आन्दोलनतिर लम्किरहेका छन्।

जनयुद्धका तात्कालिन अर्का कमान्डर हुन् मोहन बैद्य’किरण’ . उनको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले आफु मात्र सच्चा माओवादी भएको जिकिर गरिरहेको छ। आफु मात्र माओवादीको सच्चा पहरेदार ठान्ने मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) भित्र अहिले पनि माओवाद मान्ने कि नमान्ने, माओवाद हो कि माओबादी विचारधारा हो ? भन्ने बारेमा छलफल चलिरहेको छ। तर निर्क्यौलमा पुग्न सकिरहेको छैन। मोहन बैद्य बिप्लवलाइ समर्थन गरेर अघि बढ्नुपर्छ भनिरहेका छन्। तर जनयुद्धमा सहभागी नभएका तर पार्टी एकता प्रक्रियाबाट आएका केही नेताहरु अहिले पनि माबाद हैन, माओबादी विचारधारा हो भनेर किचलो झिकिरहेका छन्। यस्तो अवस्थामा क्रान्तिकारी माओवादी एकमुष्ट एकीकृत अवस्थामा तत्काल क्रान्तिमा जाने सम्भावना देखिदैन।

पुष्पकमल दाहालको नेतृत्वको तात्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)लाई पुनर्गठन गरेर गोपाल किराँती कार्यकर्ता खोज्दै संगठन निर्माणमा लागेका छन्। उनले क्रान्ति सम्बन्धि तयारी गर्न धेरै बाँकी छ। अझ भनौं, उनले भर्खर दियो बाल्दैछन। यसरी सरसर्ती हेर्दा तत्काल क्रान्ति गर्न सक्ने सम्भावना बोकेका माओवादीहरु एक नहुने हो भने नेपालमा क्रान्तिले द्रुत गति लिने सम्भावना न्यून छ। उनीहरु एक्लैले तत्काल क्रान्ति गर्न सक्ने अवस्था छैन। तर बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपालमा सर्वहारावर्गको राज्यसत्ता प्राप्ति गर्ने भन्दै एकीकृत जनक्रान्तिको मोडल अघि सारेर अघोषित रुपमा सशस्त्र युद्ध शुरु गरिरहेको छ। तर ऊ एक्लैले शुरु गरेको क्रान्ति पनि सोचे जस्तो अघि बढ्न सकिरहेको छैन। बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको निर्णय आफ्नो पक्षमा हुन्छ कि भनेर बाटो हेरेर बसेको छ। तर क्रान्तिकारी माओवादी तत्काल आन्तरिक कारण विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसंग एकीकरण गर्न सक्ने अवस्थामा छैन। क्रान्तिकारी माओवादीले बिप्लवद्वारा अघि सारिएको एकीकृत जनक्रान्तिको मोडलप्रति नै असहमति जनाइरहेको छ। उसले स्पस्ट शब्दमा भनिदिएको छ कि ,”विप्लबजी ! एकीकृत जनक्रान्ति भनेको के हो हामीलाई बुझाइदिनुस। हामीले एकीकृत जनक्रान्ति भनेको के हो बुझेकै छैनौं। ” यस्तो अवस्थामा बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले क्रान्तिकारी माओवादी लगायतका मित्र शक्तिहरुलाई एकीकृत जनक्रान्तिका बारेमा प्रष्ट पर्नुपर्ने अवस्था छ। हुन त उसले क्रान्तिकारी माओवादीभित्र माओबाद भन्ने की माओवादी विचारधारा मान्ने भन्ने बिबाद देखेर माओबाद नै नस्वीकारेको अवस्थामा एकीकृत जनक्रान्तिका बारेमा बुझाउनु आवश्यक नठानेको हुनसक्छ।

त्यसो त् विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले क्रान्तिकारी माओवादीको पुरै नेतृत्वसंग पार्टी एकीकरण गर्न नचाहेको जस्तो देखिएको छ। किनकि माओवाद पनि नमान्ने नेताहरुलाई पार्टीमा भित्राउदा आफुहरुले अघि बढाएको एकीकृत जनक्रान्तिको बाटो अलमल र बिबादमा पर्ने आङ्कलन बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको हुनुपर्छ। माओवाद पनि नमान्ने नेतालाई पार्टीमा भित्राएर माओबाद पढाउने र त्यसपछि मात्र एकीकृत जनक्रान्ति बारे बुझाउन उसले झन्झट र जोखिमपूर्ण मानेको हुनुपर्छ। तर क्रान्तिकारी माओबादी भित्रको हिजो जनयुद्ध लडेको मोहन बैद्य नेतृत्वको क्रान्तिकारी तप्कासंग पार्टी एकीकरण गर्न सके नेपालमा एकपटक क्रान्तिको उभार आउने बुझाइ बिप्लव ने.क.पा.को हुनुपर्छ।

नेपालमा क्रान्ति नै गर्ने हो भने सबै माओवादी बिचार मान्नेहरु तत्काल एकीकृत भनुं या ध्रुविकृत वा संगठित जे भनौ तुरुन्त हुनु आवश्यक छ। नेपालमा एकीकृत माओवादी जनशक्तिले मात्र सर्वहारा वर्गको राज्यसत्ता प्राप्तिको लागि हुने क्रान्ति गर्न सक्छ।

यदि नेपालमा तत्काल माओवादी शकि तत्काल ध्रुबीक्रित वा एकीकृत नहुने हो भने अबको पुस्ताले माओबाद भुल्नेछ र यो मुलुकमा सदाका लागि सर्वहारा वर्गको राज्यसत्ता प्राप्तिका लागि हुने संघर्षको बाटो बन्द हुनेछ। तसर्थ नेपालमा माओबादी संगठित अभियान चलाउनु नितान्त आवश्यक छ।  जुन कुरा नेता गोपाल किरांतीले उठाए, त्यो अति आबश्यक छ। नेपालमा फेरी अघि बढ्ने माओबादी पुनर्गठन अभियान अवसरवादीहरुको हातमा नपुगोस भन्नका लागि सबै सचेत हुन् आबस्यक छ।  किनकि जनयुद्धका नायक प्रचण्ड दलाल संसदीय ब्यबस्थामा घुसेर प्रतिक्रान्तिको नेतृत्व गर्ने पुष्पकमल दाहाल बनेका छन्।  माओवादी सिद्धान्त मान्ने तप्का एकजुट होऔं र वर्गीय मुक्ति संघर्षका लागि जुटौं।

प्रतिक्रिया