११ महिनादेखि अमेरिकामा रहेका सुदूरपश्चिम प्रदेशसभाका सांसद प्रकाश देउवा पदमुक्त

११ महिनादेखि अमेरिकामा रहेका सुदूरपश्चिम प्रदेशसभाका सांसद प्रकाश देउवा पदमुक्त


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २ भाद्र २०८३
  • 836
    Shares

धनगढी २ भदौ २०८३ ।

सुदूरपश्चिम प्रदेशसभाका सदस्य तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा पदमुक्त भएका छन्। प्रदेशसभा बैठकमा लगातार १० भन्दा बढी पटक बिना सूचना अनुपस्थित भएपछि संविधानमा रहेको व्यवस्थाअनुसार उनको पद रिक्त गरिएको हो।

प्रदेशसभा सचिवालयले तयार गरेको पद रिक्तसम्बन्धी टिप्पणी आदेश सभामुख भीमबहादुर भण्डारीले सदर गरेपछि देउवाको प्रदेशसभा सदस्य पद रिक्त भएको हो। यसबारे सभामुखले आगामी प्रदेशसभा बैठकमा औपचारिक जानकारी गराउने तयारी छ।

देउवा गत वर्ष भदौ २८ गते जेनजी आन्दोलनलगत्तै व्यक्तिगत कामका लागि अमेरिका गएका थिए। त्यसपछि स्वास्थ्य समस्या देखिएपछि उपचारका लागि उतै बसेका उनी करिब ११ महिना बितिसक्दा पनि नेपाल फर्किएका छैनन्।

छैटौँ अधिवेशनका क्रममा लगातार पाँच बैठकमा अनुपस्थित भएपछि देउवाले चैत २३ गते प्रदेशसभा सचिवालयलाई पत्र पठाउँदै आफू स्वास्थ्य परीक्षण तथा उपचारका क्रममा अमेरिकामा रहेको जानकारी गराएका थिए। स्वास्थ्यमा सुधार आएपछि नेपाल फर्किएर संसदीय जिम्मेवारीमा सक्रिय हुने प्रतिबद्धता उनले जनाएका थिए।

तर, त्यसयता चार महिनाभन्दा बढी समय बितिसक्दा पनि उनी नेपाल फर्किएका छैनन्। उनको उपचारको अवस्था तथा नेपाल फर्किने समयबारे कांग्रेसका नेताहरूलाई समेत स्पष्ट जानकारी नरहेको बताइएको छ।

नेपालको संविधानको धारा १८०(घ) मा प्रदेशसभा सदस्य सभालाई सूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित भएमा पद रिक्त हुने व्यवस्था छ। सोही संवैधानिक व्यवस्थाका आधारमा देउवाको पद रिक्त गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ। सुदूरपश्चिम प्रदेशसभा नियमावली, २०८० मा पनि यससम्बन्धी व्यवस्था छ।

प्रदेशसभा सचिवालयका अनुसार छैटौँ अधिवेशनमा २५ बैठक बसेकामा देउवा आठवटा बैठकमा मात्र उपस्थित भएका थिए। त्यसपछि सातौँ र आठौँ अधिवेशनका कुनै पनि बैठकमा उनी सहभागी भएनन्। पछिल्ला २७ बैठकमा उनको हाजिरी नरहेको सचिवालयको अभिलेखमा उल्लेख छ।

सुदूरपश्चिम प्रदेशसभाको दोस्रो कार्यकालमा हालसम्म १२८ वटा बैठक बसेका छन्। तीमध्ये देउवा ६० वटा बैठकमा मात्र उपस्थित भएका छन्।

११ महिनामा ७ लाख ५३ हजारभन्दा बढी सेवा–सुविधा

अमेरिकामा रहे पनि देउवाले प्रदेशसभा सदस्यका रूपमा पाउने सेवा–सुविधा भने नियमित रूपमा प्राप्त गर्दै आएका थिए।

प्रदेशसभा सचिवालयका अनुसार पछिल्लो ११ महिनामा उनले ७ लाख ५३ हजार ५ सय रुपैयाँ बुझेका छन्। मासिक पारिश्रमिक, धारा–बिजुली, सञ्चार तथा अतिथि सत्कारलगायत शीर्षकमा उनको खातामा रकम जम्मा हुँदै आएको थियो।

सचिवालयले मासिक रूपमा पारिश्रमिक ५६ हजार ५ सय, धारा–बिजुली २ हजार, सञ्चार सुविधा ३ हजार र अतिथि सत्कारबापत ७ हजार रुपैयाँ गरी कुल ६८ हजार ५ सय रुपैयाँ उपलब्ध गराउँदै आएको जनाएको छ। गत जेठमा निजी आवास मर्मत शीर्षकमा थप ३५ हजार रुपैयाँसमेत भुक्तानी गरिएको थियो।

यसअघि माघमा देउवा नेपालमा नरहेको भन्दै सचिवालयले उनको सेवा–सुविधा रोक्का गरेको थियो। तर, कानुनअनुसार प्रदेशसभा सदस्य पद कायम रहेसम्म सुविधा रोक्न नमिल्ने भएपछि जेठमा चार महिनाको रकम एकमुस्ट भुक्तानी गरिएको थियो।

देउवा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका भतिजा हुन्। उनी कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को (२) बाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

लामो समयदेखि निर्वाचित प्रतिनिधि सम्पर्कमा नरहेको भन्दै उनको निर्वाचन क्षेत्रका मतदाताले समेत असन्तुष्टि जनाउँदै आएका थिए। बैठकमा लगातार अनुपस्थित रहे पनि सेवा–सुविधा लिइरहेका देउवाको पद अब भने संवैधानिक व्यवस्थाअनुसार औपचारिक रूपमा रिक्त भएको छ।

प्रतिक्रिया