अस्ट्रेलिया बस्दै आएका ठाकुरप्रसाद पोखरेलको पोखरा १३ गौडाकोमुखस्थित जयमार्गको घरमा चोरी गर्ने एक दम्पत्तिलाई कास्की प्रहरीले उनीहरुको घरबाटै पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पोखरा १२ बस्ने २३ वर्षीय सन्तोष लामिछाने र उनकी श्रीमती २० वर्षीया रोशनी थापामगर लामिछाने रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालका अनसार, उनीहरुले पोखरेलको घरबाट भदौ १० गते घरको चाबी फोरेर टिभी, कुकर लगायतका भाडा, लत्ताकपडा र १ लाख ९५ हजार ५ सय ५० रुपैयाँ चोरी गरेका थिए। चोरी गरेपछि आफ्नै घरमा बसिरहेका लामिछाने दम्पत्तिलाई प्रहरीले चोरीको २४ घण्टा नबित्दै पक्राउ गरेको बताइएको छ।
उनीहरुको साथबाट ४२ इन्चको एलजी स्मार्ट टिभी १ थान, क्यानन क्यामरा १ थान, मोबाइल १ थान, लत्ताकपडा र भाडावर्तन बरामद भएको डिएसपी हमालले जानकारी दिए।
प्रहरीले सो चोरीमा अन्य व्यक्ति पनि संलग्न भएको आशंका गरेको छ। तर पक्राउ परेका लामिछाने दम्पत्तिलाई जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी तथा डाँका कसुरमा मुद्दा दर्ता गरी सात दिनको म्याद थप गरेर आबश्यक अनुसन्धान शुरु गरिएको प्रहरीको भनाई छ।