दैलेख ९ कात्तिक २०८३।
दैलेखको भगवतीमाई गाउँपालिकास्थित जंगलमा दुई जना बालिका मृत अवस्थामा फेला परेका छन्।
गाउँपालिकाको वडा नम्बर ४ मनघर भन्ने ठाउँमा नाताले दिदीबहिनी पर्ने १३ र १४ वर्षीया दुई बालिका एकै ठाउँमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
मृतक दुवै जना दिदी-बहिनी नाता पर्ने र एक अर्काको मामा-फुपूका छोरी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्पराज रोकायले जानकारी दिए।
प्रहरीका अनुसार गएराति एउटै घरमा सँगै सुतेका उनीहरु राति कतै निस्किएका थिए। बिहान परिवारले खोजी गर्ने क्रममा घरभन्दा केही पर रहेको जंगलमा दुवै जनाको शव एकसाथ फेला परेको हो।
घटनाको प्रकृति र मृत्युको कारण खुलेको छैन। घटनास्थलमा प्रहरी टोली पुगेर मुचुल्का उठाउने र शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
सूचना अधिकारी रोकायका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ र अनुसन्धानपछि मात्रै विस्तृत विवरण आउने छ।