पोखरा, १० कार्तिक २०८३।
लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँ गएराति पक्राउ परेका छन् । मध्यराति घरमा सुतिरहेको अवस्थामा उनलाई प्रहरीले गएराती पक्राउ गरेको हो।
मध्यराति घरमा सुतिरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको महाअभियानका सहसंयोजक रामविकास चौधरीले जानकारी दिए।
उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको तस्बिर जलाएको आरोपमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गरेसंगे महाअभियानले त्यस नियुक्तिको बिरोध गर्दै आएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सोमबार राति साढे १० बजे मन्त्रीको तस्बिरमा आगो लगाएर विरोध गर्ने क्रममा महाअभियानका अध्यक्ष लुम्बिनी सांस्कृतिक नगरपालिका-६ का बासिन्दा अकरम खाँ र लुम्बिनी सांस्कृतिक नगरपालिका-९ पिपराका वाजिउद्दिन मुसलमानलाई नियन्त्रणमा लिइएको थियो ।
इलाका प्रहरी कार्यालय लुम्बिनीबाट प्रहरी निरीक्षक होमनाथ रेग्मीको कमान्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाएको थियो । जिल्ला प्रहरी प्रमुख एसपी जनकबहादुर शाहीले मन्त्रीको फोटो जलाउने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताएका छन् ।
यसअघि सोमबार साँझ ५ बजे पनि महाअभियानले लुम्बिनीको पर्सा चोकमा आनीको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन गरेको थियो ।
नियुक्तिदेखि नै विरोध
सरकारले करिब पाँच महिनादेखि रिक्त रहेको लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका तथा बौद्ध भिक्षुणी आनी छोइङ डोल्मालाई गत असोज ३० गते मन्त्रिपरिषद् बैठकबाट नियुक्त गर्ने निर्णय गरेपछि विरोध सुरु भएको हो ।
नियुक्ति भएदेखि नै महाअभियानले नागरिकता र सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा उठेका प्रश्नहरूको निष्पक्ष छानबिन र नियुक्ति बदरको माग गर्दै चरणबद्ध आन्दोलन गर्दै आएको छ । लुम्बिनी र काठमाडौंमा स्थानीय अगुवा र विभिन्न संघसंस्थाले विरोध प्रदर्शन जारी राखेका छन् ।
महाअभियानका सहसंयोजक चौधरीले मध्यरातमा गरिएको धरपकडले विरोध दबाउन खोजिएको भन्दै सरकारको कदमको कडा शब्दमा भर्त्सना गर्दै अध्यक्ष खाँलाई निःशर्त रिहा गर्न माग गरेका छन् ।