इलाम, १० कार्तिक २०८३।
कुखुराको भाले चोरीको निहुँमा मान्छे मारेर भागेका प्रतिवादी २२ वर्षपछि इलाममा पक्राउ परेका छन्। पक्राउ पर्नेमा इलामको चुलाचुली गाउँपालिका–३ निवासी कमल भन्ने प्रेमकुमार श्रेष्ठ रहेका छन्।
श्रेष्ठलाई प्रहरीले गत कात्तिक ४ गते दिउँसो २ बजे आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो। उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
प्रहरीका अनुसार २०६१ साल फागुन १ गते राति इलाम चुलाचुलीका बलबहादुर लिम्बुको घरमा कुखुराको भाले चोरी भएको थियो। सोही विषयलाई लिएर भोलिपल्ट फागुन २ गते अभियुक्तमध्ये अशोक राईको विवाह भोजमा भेला भएर मिलेमतोमा बलबहादुर लिम्बुको घर घेरा हालेका थिए।
सोही क्रममा अमित केरुङ समेतका व्यक्तिहरूले खुकुरी, लाठी र ढुंगामुढा प्रहार गरी बलबहादुरका छोरा शुक्रप्रसाद लिम्बुलाई टाउकोमा गम्भीर चोट पुर्याएका थिए। घाइते शुक्रप्रसादको धरानस्थित घोपा क्याम्पमा उपचारको क्रममा २०६१ साल चैत २ गते मृत्यु भएको थियो।
सो ज्यान मुद्दामा जिल्ला अदालत इलामले २०६६ साल कात्तिक १६ गते प्रेमकुमार श्रेष्ठ समेतलाई ५ वर्ष कैदको फैसला सुनाएको थियो। उक्त फैसलालाई सर्वोच्च अदालतले २०६८ साल चैत २४ गते सदर गरेको थियो। तर फैसला पछि श्रेष्ठ फरार रहँदै आएका थिए।पक्राउ गरी अदालतमा पेश गर्दा अदालतको आदेशले कैद भुक्तानका लागि उनलाई कारागार चलान गरिएको हो।