साम्राज्यवादी अमेरिकाको विश्वभर जारी दादागिरीका शृंखलाहरु

साम्राज्यवादी अमेरिकाको विश्वभर जारी दादागिरीका शृंखलाहरु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ११ साउन २०७७
  • 5.3K
    Shares

आइएस लडाकुलाई यातना दिदै अमेरिकी सेना

कुनैबेला बेलायती साम्राज्यको सिकन्जामा कैद अमेरिकाले झन्डै दस वर्ष लामो सशस्त्र स्वाधीनताको युद्ध लड्नुपरेको थियो । आफ्नो स्वतन्त्रता सङ्ग्रामका क्रममा अमेरिकाले यति मीठो स्वतन्त्रताका लागि घोषणापत्र तयार पारेको थियो ।

सो घोषणापत्रमा भनिएको थियो, ‘हामी यो सत्यलाई स्वयंसिद्ध मान्छौँ कि सबै मान्छे समान रूपले उत्पन्न भए । उनीहरुले आफ्नो सिर्जनाद्वारा अधिकारलाई विभूषित गरे । जसमा जीवन, स्वाधीनता र सुखको प्राप्ति सम्मिलित छ ।’ (स्वतन्त्रताको घोषणापत्र, ४ जुलाई १७७६ ।)

अमेरिकी स्वन्तत्रता सङ्ग्रामपछि सो सङ्ग्रामका प्रमुख नायक जर्ज वासिङटनपछिका दोस्रा नायक थिए थोमस जेफर्सन । जो सन् १७९० मा राष्ट्रपतिमा निर्वाचित भएका थिए, राष्ट्रपतिमा निर्वाचित भएपछि जेफर्सनले भनेका थिए, ‘यस पृथ्वीमा प्रत्येक मान्छे र प्रत्येक मान्छेको समूहलाई स्वशासनको अधिकार छ ।’ वाह, कति मीठो विचार र नारा ।

 

लामो स्वतन्त्रता सङ्ग्रामपछिको त्यो अमेरिका, जसले राजनीतिक स्थिरताका कारण आधुनिक कृषि, विज्ञान प्रविधि, सेवा क्षेत्रलगायत तमाम क्षेत्रमा ठूलो क्रान्ति ल्याएर देशलाई विकास र समृद्धिको उचाइमा पुर्यायो । यहाँसम्म अमेरिकाको इतिहास कति सुन्दर र नमुनायोग्य छ । कुनैबेला फ्रान्सेली राज्यक्रान्ति (सन् १७८९)को समानता, स्वतन्त्रता र भ्रातृत्वबाट प्रभावित भएर सङ्घर्ष गरेको अमेरिकाले पछि किन धेरै कुरूप, विखण्डनता र हत्या आतङ्कको बाटो रोज्यो ? यहीबाट अमेरिकाले आफ्नो पुरानो इतिहासलाई नामेट पार्ने काम गर्यो ।

अमेरिकाको अघिल्लो इतिहास क्रान्तिकारी र स्वाधीनताको पहरेदारी रहेको छ भने पछिल्लो इतिहास असाध्यै विध्वंशकारी र आतङ्ककारी रहेको छ । जस्तो कि सन् १७७२–१७८२ हुँदै सन् १८५० को दशकसम्म अमेरिकी इतिहास स्वाधीनताका साथै विकास र प्रगतिको इतिहास रहेको देखिन्छ । जब विकासबाट साम्राज्यतिर प्रवेश गर्न थाल्छ, खासगरी सन् १८५० को दशकबाट अमेरिकाले विस्तारै युरोपेली साम्राज्यवादको सिको गर्न थाल्छ । त्यपछि त झन् (सन् १९१५–१९४५) पछिको अमेरिकाको पहिचान त एक विध्वंशक र आततायी शक्तिको रूपमा देखिन्छ ।

अघिल्लो अमेरिका समानता, स्वतन्त्रता र भ्रातृत्वको नाराबाट अभिप्रेरित भएर क्रान्ति गर्ने देश हो भने पछिल्लो अमेरिका आफ्नै पुरानो लय छोडेर विध्वंशक, विखण्डन र आतङ्कको बाटो रोज्ने देश बनेको छ ।

विलियम ब्लुम अमेरिकी लेखक, इतिहासकारका साथै अमेरिकी विदेश नीतिका आलोचक हुन् । उनको ‘किलिङ होप, यूएस मिलेटरी एन्ड सीआईए इन्टरभेन्सन्स सिन्स वल्र्ड वार–२’ नामक बुक सन् २००३ मा प्रकाशित भयो ।

यो किताबमा ब्लुमले पहिलो र दोस्रो भाग गरेर लेखेका छन् । पहिलो र दोस्रो भागमा अमेरिकाले चीनमा सन् १९४५ देखि सन् १९६० सम्म गरेको सैन्य हमलादेखि चिलीमा सन् १९६४ देखि १९७३ सम्म स्वतन्त्र देशहरुको सत्तापलटका लागि अमेरिकी षडयन्त्र, हत्या र नरसंहारको जीवन्त तस्बिर टाइम लाइनसहित उजागर गरेका छन् ।

एडुआर्डो गेलेनियो, उरुग्वेका पत्रकार, लेखक र उपन्यासकार हुन्, उनको किताब ‘ओपन भेइन्स अफ ल्याटिन अमेरिका’ सन् १९७१ मा प्रकाशित भएको थियो । एक ल्याटिन अमेरिकी निवासीको आँखाबाट अमेरिकी हस्तक्षेपको चर्चा गरिएको छ । उनको बुकमा कसरी ल्याटिन अमेरिका संयुक्त राज्य अमेरिकाको खेल मैदान बन्यो भन्ने कुरा सविस्तार चर्चा गरेका छन् ।

प्रसिद्ध अमेरिकी लेखक हावर्ड जोनले आफ्नो चर्चित पुस्तक ‘अ पिपुल्स हिस्ट्री अफ युनाइटेड स्टेट्स’मा अमेरिकी इतिहास वास्तवमा आदिवासी रेड इन्डियनको कत्लेआमदेखि अहिलेसम्म आउँदा हत्या र नरसंहारको इतिहास हो भन्ने कुराको पर्दाफास गरेका छन् ।

नोम चोमस्कीको अन वेस्टन टेरोरिज्म (सन् १९७१), हेभेनको दि रियल टेरर नेटवर्क (सन् १९८५), अलेक्जेन्डर जर्जको वेस्टन स्टेट टेरोरिज्म (सन् २००५) लगायत लेखकका अनुसार २०औँ शताब्दीभर पश्चिमा शासकहरु (खासगरी अमेरिका)ले दोस्रो विश्वयुद्धपछि मात्र करोड बढी मान्छेको नरसंहार गरेको दृष्टान्त ती किताबमा भेटिन्छ ।

यसका लागि यी दृष्टान्त हेरे पुग्छ ।

सन् १९४५ को दोस्रो विश्वयुद्धपछि महाशक्ति बनेको अमेरिकाले कतै सैनिक आक्रमण, कतै सीआईएको डिजाइनमा प्रत्यक्ष सैनिक कू गरेर स्वतन्त्र एवं सार्वभौम सत्ता हत्याएको छ । विश्वको कुनै देश नहोला जहाँ अमेरिकाले हस्तक्षेप नगरेको होस् ।

अमेरिकाले उत्तर कोरियाली युद्ध (सन् १९५०–१९५३), भियतनाम युद्ध (सन् १९६५–१९७३) र इन्डोनेसिया नरसंहार (सन् १९६०–१९६६) मा मात्र गरेर ७० लाख बढी नागरिकको कत्लेआम गरेको छ । त्योभन्दा साना घटनाहरु त विश्वभर कति छन् कति ।

यस आलेखमा विश्वव्यापी अमेरिकी हस्तक्षेपको सानो झल्को पेश मात्र गर्नेछौं ।

कोरिया नरसंहार (सन् १९५०–१९५३) –

अमेरिका र उत्तर कोरियालीबीच सन् १९५० देखि १९५३ सम्म भएको युद्धमा अमेरिकाले ३० लाख उत्तर कोरियाली नागरिकको ज्यान लियोे । कम्युनिस्ट विचार लिएकै भरमा अमेरिकाले उत्तर कोरियामाथि हमला गर्ने दौरानमा दोस्रो विश्वयुद्धमा प्रयोग नगरेको हतियार प्रयोग गरेर उत्तरका दर्जनौ सहर खरानी पार्यो । तर उत्तर कोरियाली जनताको प्रतिरोधका कारण अमेरिका पराजित भएर घर फर्कनुपर्यो ।

भियतनामीहरुको कत्लेआम (सन् १९६५–१९७३)–

कम्युनिस्ट विचारमा अघि बढेको निहुँमा भियतनामी जनताको मुक्तियुद्ध कुल्चने भन्दै अमेरिकाले भियतनामसहित कम्पोचिया र लाओसमाथि ७० लाख टन बम खसाल्यो । हजारौँ गाउँ उजाड बनायो । यो युद्धको दस वर्षमा अमेरिकाले करिब ३० लाख भियतनामी जनताको ज्यान लियो । यहाँ पनि लज्जास्पद पराजय बेहोरेर अमेरिका आफ्नो मुलुक फर्कियो ।

इन्डोनेसिया नरसंहार (सन् १९६०–१९६६)–

कुनैबेला सशस्त्र सङ्घर्षमा रहेको इन्डोनेसियन कम्युनिस्ट पार्टी सन् १९५५ को निर्वाचनबाट दोस्रो ठूलो शक्तिका रूपमा उदायो । यही निर्वाचनबाट राष्ट्रवादी पहिचान बनाएको सुकार्नोको नेतृत्वमा रहेको इन्डोनेसियन नेसनल पार्टीले पहिलो शक्तिका रूपमा सरकारको नेतृत्व गर्यो । सुकार्नोको सरकारमा कम्युनिस्टहरु पनि सहभागी भए । त्योबेला इन्डोनेसियाको जनसङ्ख्या १० करोड रहेकोमा त्यहाँ कम्युनिस्ट पार्टीको सदस्य सङ्ख्या ३० लाख र जनवर्गीय सङ्गठनहरुको सङ्ख्या जोड्दा झण्डै १ करोड थियो । अमेरिकाविरोधी कम्युनिस्ट समर्थित सुकार्नो सरकार बढार्न भनेर अमेरिकाले सीआईएलाई नेतृत्व प्रदान गर्यो । अन्तमा सन् १९६० देखि १९६६ सम्ममा सीआईएको डिजाइनमा जनरल सुहार्तोले सैनिक ‘कू’ मार्फत् इन्डोनेसियामा कम्युनिस्ट सखाप पार्ने अभियान लियो । त्यसक्रममा १० देखि १५ लाख कम्युनिस्टहरुको मात्र नरसंहार गरियो ।

चिलीको राष्ट्रपति हत्याकान्ड (सन् १९७३)–

शान्तिपूर्ण निर्वाचनबाट चिलीमा वामपन्थी नेता साल्भाडोर एलेन्डे चार पटकसम्म राष्ट्रपति बने । सन् १९७० बाट सत्ताको नेतृत्व लिएपछि एलेन्डेले कैयौँ आर्थिक सुधारका कार्यक्रम लिए । दलाल पुँजीपतिहरुको उद्योगहरु राष्ट्रियकरण गरे । यो कुरा अमेरिकालाई सह्य भइरहेको थिएन । यही क्रममा सन् १९७३ मा अमेरिकी जासुसी संस्था सीआईएको योजनामा सेनापति अगस्त पिनोचेको नेतृत्वमा सैनिक विद्रोहमार्फत् राष्ट्रपति भवन कब्जामा लिइयो । राष्ट्रपतिलाई एलेन्डेलाई आत्मसमर्पण गर्न अल्टिमेटम दियो सीआईए नेतृत्व जनरल पिनोचेको विद्रोही सेनाले । तर वामपन्थी नेता एलेन्डेले आत्मसपर्मण गर्नुको साटो आफ्ना घनिष्ट क्युबाली मित्र फिडेल क्यास्त्रोले उपहार दिएको हतियार समाएर सीआईए नेतृत्वको विद्रोही सेनाविरुद्ध लड्न मैदानमा उत्रिए । प्रहरी प्रमुखको नेतृत्वमा रहेको ५० सशस्त्र जवान र आफ्ना २८ अङ्गरक्षसहित प्रतिरोधमा उत्रिएका राष्ट्रपति एलेन्डेको टोलीले केही घण्टा लड्यो तर एलेन्डेको घटनास्थलमै गोली लागेर मृत्युपछि चिलीको सत्ता अमेरिकी दलाल जनरल पिनोचेको हातमा पुग्यो र उसले १८ वर्षसम्म शासन सञ्चालन गर्यो ।

हिरोसिमा र नागासाकी नरसंहार (सन् १९४५) –

दोस्रो विश्वयुद्ध (सन् १९३९–१९४५) को अन्त्यमा जब जापानी साम्राज्य पराजयतिर उन्मुख थियो, त्यो समय आफ्नो साम्राज्यवादी चरित्र सिद्ध गर्न र रुसी समाजवादी शिविरलाई आतङ्कित पार्न अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा परमाणु बम खसाल्यो । जहाँ २ लाख बढी जापानी सर्वसाधारणको अमेरिकाले ज्यान लियो ।

यी थिए अमेरिकाद्वारा सुनियोजित रूपमा सिर्जित निकै ठूलो नरसंहार र कत्लेआमको घटना । यसबाहेक अरू साना–ठूला केही अमेरिकी हस्तक्षेपको फेहरिस्त प्रस्तुत गरिनेछ । सन् १८५० को दशकमा झण्डै युरोपेली साम्राज्यवादी शक्तिहरुको हारहारीमा पुग्न थालेको अमेरिकाले यसपछि कमजोर राष्ट्रहरुमाथि अतिक्रमणको बाटो लिन थाल्छ । यस्ता छन् ती दृष्टान्तहरु ।

मेक्सिकोमाथि हमला (सन् १८४६–१८४८)–

अमेरिकी सेनाले मेक्सिकोमाथि फौजी हमला गरेर सबैभन्दा पहिले मेक्सिकोको बन्दरगाहलाई घेराबन्दी गर्याे । त्यसपछि मेक्सिको सिटीलाई कब्जा गरियो । ठूलो शक्तिको सामु झुक्नुको विकल्प नरहेपछि मेक्सिकोले आफ्नो ठूलो भूभाग अमेरिकालाई दिन बाध्य भयो । जसमा न्यु मेक्सिको, क्यालिफोर्निया र उत्तरी मेक्सिकोको ठूलो हिस्सा अमेरिकाको कब्जामा पर्न गयो ।

स्पेन–अमेरिका युद्ध (सन् १८९८)–

क्युबाको स्वतन्त्रताको समर्थन दिने आडमा अमेरिकाले प्रशान्त महासागर र क्यारेबियनमा स्पेनी सेनामाथि हमला गरेर पराजित गरेपछि स्पेनको उपनिवेशमा रहेको क्युबा, प्युर्टोरिका, गुआस र फिलिपिन्समाथि आफ्नो प्रभुत्व स्थापित गर्यो ।

फिलिपिन्समाथि हमला (सन् १८९९–१९४६)–

फिलिपिन्स पनि कुनैबेला स्पेनको उपनिवेशमा थियो । जब सन् १८९८ मा अमेरिकाले स्पेनलाई पराजित गर्यो । त्यसपछि अमेरिकाले उपनिवेश कायम गर्यो । अमेरिकी उपनिवेशका विरुद्ध फिलिपिन्सका जनताले लामो आन्दोलन गरे । यसक्रममा उपनिवेश विरोधी शक्तिलाई अमेरिकाले निर्दयतापूर्वक दमन गर्यो । प्रसिद्ध अमेरिकी लेखक मार्क ट्रेनको शब्दमा अमेरिकीहरुले सिङ्गो गाउँ जलाइदियो । विधवा, अनाथ बच्चाहरुलाई घरबाट बाहिर धकेलिदिने, देशभक्त नेतालाई देशबाट निकालिदिने र लाखौँ फिलिपिन्सवासीलाई गुलाम बनाउने काम गर्यो ।

हैटीमाथि आक्रमण (सन् १९१५)–

२८ जुलाई सन् १९१५ मा एक स्वतन्त्र अफ्रिकी मुलुक हैटीमाथि ३३० अमेरिकी समुद्री लडाकु जहाजले मुख्य हैटी बन्दरगाह कब्जामा लियो । साथै अमेरिकी नौ सैनिकले नेसनल बैङ्क कब्जामा लियो र सुनको भण्डार उठाएर सीधैँ न्युयोर्क सिटी पुर्याउने काम गर्यो ।

तुल्सा हत्याकाण्ड (सन् १९२१)–

अमेरिकाकै ओक्लाहोमा राज्यमा पर्ने ग्रिनबुड जिल्ला तुल्सामा श्वेत अधिकारीहरुले श्वेत जातिका मान्छेहरुमाथि गोली चलाएर सयौँ मान्छेको हत्या गर्नुका साथै लुटपाट गरेर जहाजबाट बम खसालेर पूरै बस्ती खरानी बनाइयो ।

ग्रीसमा अमेरिकी हस्तक्षेप (सन् १९४७–१९५०)–

सन् १९४७ देखि सन् १९५० को दशकसम्म ग्रिसमा कम्युनिस्ट प्रभावलाई रोक्न बेलायतको सहयोगमा अमेरिकाले सैन्य दमन गरेर वामपन्थी विद्रोहलाई पराजित गरेको थियो । पहिलो, दोस्रो र तेस्रो चरण गरेर भएको विद्रोहमा अमेरिकाले ग्रीस सरकारलाई कठपुतली बनाएर वामपन्थी आन्दोलनलाई नष्ट गर्ने काम गरेको थियो ।

सुदर्शन मङ्गोल / राताेपाटीबाट साभार 

प्रतिक्रिया