काठमाडौंबाट मकवानपुरतर्फ जाँदै गरेको एम्बुलेन्स रोकेर चालकसँग भएको धनमाल लुटेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
प्रदेश ३–०१–२३ च–११०९ नम्बरको एम्बुलेन्स रोकेर धनमाल लुटपाट गरेको अभियोगमा प्रहरीले काठमाडौं चन्द्रागिरि नगरपालिका–४ बस्ने २४ वर्षीय सरोज कामी (वि.सी), ३१ वर्षीय राम भगत शाही र २७ वर्षीय शिव शाहीलाई पक्राउ गरेको छ । उनीहरुले चन्द्रागिरि नगरपालिका–४ पानिघाटस्थित जंगलमा एम्बुलेन्स जबरजस्ती रोकी चालकसँग रहेको धनमाल लुटपाट गरेको प्रहरीले जनाएको छ ।
उनीहरुले आफु सादा पोशाकका प्रहरी हुँ भन्दै गणेशमान मार्गमा पर्ने चित्लाङ सडकमा तरकारी ढुवानी गर्ने बा.४ ख ९९० नम्बर तथा ग.१च ७६३३ नम्बरको गाडी रोकेर चालकलाई लुटेका थिए।
उनीहरुको साथबाट घटनामा प्रयोग भएको प्रदेश ३–०२–००३ प ४७७७ र बा.७१ प ६९४५ नम्बरका २ मोटरसाइकल, लुटपाट गरेको नगद ३३ हजार ८ सय ९५ रुपैयाँ र मोबाइल ६ थान प्रहरीले बरामद गरेको छ । तीनैजना उपर चोरी तथा डाँका सम्बन्धि कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।