१) देशको वर्तमान परिस्थितिलाई कससरी मूल्यांकन गर्नु भएको छ ?
अहिले कम्युनिस्ट आवरणमा पुरानै राज्यसत्ता र व्यवस्थाको संरक्षण गर्ने राजनीतिक शक्ति नेपालको शासनसत्तामा छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्या पहिले भन्दा झनै विकराल र असमाधेय बन्दै गएका छन् । भारतीय विस्तारवादी शासक वर्गले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई भारतको नक्सामा गाभी सार्वजनिक गर्दा पनि सरकार मौन छ र यसले नेपालको वास्तविक नक्सा सार्वजनिक गर्ने हिम्मत गरिरहेको छैन । अर्कोतिर यो सरकार एमसीसीलाई संसदबाट अनुमोदन गराएर नेपाललाई अमेरिकाको हिन्द–प्रशान्त सैन्य रणनीतिको हिस्सेदार बनाउन उद्यत रहेको छ । देशमा लोकतन्त्रको नाममा अभिजाततन्त्र स्थापित भएको छ ।
जनताले वास्तविक लोकतन्त्रको अनुभूति गर्न पाएका छैनन् । मजदुर, सुकुम्बासी, हरुवा चरुवा र मुक्त भनिएका कमैयाहरु भयावह गरीवीको मारमा छन् । युवा जनशक्तिको विशाल हिस्सा विदेशमा पलायन भएको छ । रोजगारीको समस्या जटिल बन्दै गएको छ । भ्रष्टाचार, कमिसनतन्त्र र कालाबजारीले सीमा नाघ्दै गएका छन् । सङ्क्षिप्तमा भन्नु पर्दा देशले आर्थिक, राजनीतिक र साँस्कृतिक रुपमा भीषण सङ्कटको सामना गर्नु परिरहेको छ । नयाँ जनवादी क्रान्तिका लागि वस्तुगत परिस्थिति अनुकूल बन्दै गएको छ, परन्तु त्यसका तुलनामा क्रान्तिकारीहरुको आत्मगत स्थिति भने कमजोर नै रहेको छ ।
२) यो व्यवस्थासित कम्युनिस्टहरुको अन्तरसम्बन्ध मुख्य हुन्छ कि अन्तरविरोध ?
दलाल तथा नोकरशाही पुँजीपति र सामन्तवर्गको पुरानै राज्यसत्ता अन्तर्गतको संसदीय व्यवस्थासित सच्चा क्रान्तिकारी कम्युनिस्टहरुको अन्तर्विरोध नै मुख्य हुन्छ । पुरानो राज्यसत्ता र व्यवस्थाको संरक्षण गरिरहेको कम्युनिस्ट नामधारी सरकारसित सच्चा कम्युनिस्टहरुको अन्तर्सम्बन्ध मुख्य हुन सक्दैन ।
३) राजनीतिक सैद्धान्तिक रुपमा अन्तरविरोध प्रधान भएको यो व्यवस्थामा कम्युनिस्टहरुले सरकारको नेतृत्व गरेका छन् केही आशा गर्ने ठाउँहरु छन् कि ?
यसबारे मैले बताइसकें, यस प्रकारको कम्युनिस्ट नामधारी सरकारसित देश र जनताको हितमा आशा गर्ने ठाउँ विल्कुलै छैन ।
४) होइन, मुलुकलाई समाजवादी संक्रमणको दिशामा अगाडि बढाइरहेका छौं भन्ने भनाई छ त ?
हो, उनीहरुले समाजवादी सङ्क्रमणको दिशामा मुलुकलाई अगाडि बढाइरहेको कुरा गरिरहेका छन् । तर, पुरानो प्रतिक्रियावादी राज्यसत्ता र व्यवस्थालाई आदर्श मानी तिनको संरक्षण गरेर, साम्राज्यवाद तथा विस्तारवादको आशिर्वाद ग्रहण गरी तिनको निर्देशन अनुरुप काम गरेर र साम्राज्यवादी नवउदारवादी अर्थतन्त्रलाई सिरानी हालेर देशलाई समाजवादी सङ्क्रमणको दिशामा अगाडि बढाउन कदापि सकिंदैन । समाजवाद प्रतिक्रियावादी, सुधारवादी, काल्पनिक र वैज्ञानिक विभिन्न प्रकारका हुन्छन् । उनीहरुले भन्ने गरेको समाजवाद वैज्ञानिक समाजवाद नभई प्रतिक्रियावादी समाजवाद हो, यो बाहेक अरु केही होइन ।
५) माक्र्सवाद, लेनिनवाद माओविचारधारा भन्ने तर वर्तमान व्यवस्थासितको अन्तरसम्बन्धलाई प्रधान ठान्ने, यो सरकारको समर्थन गरिरहने, यही व्यवस्थामा समाजवादका पूर्वाधार तयार पार्न सकिन्छ भन्ने, यो सरकारलाई वामपन्थीहरुको सरकार ठान्ने, निर्वाचनको उपयोग गरिरहने मात्र होइन पाएसम्म सरकारमा जान लालयित हुने, आज पनि देशमा दलाल पुँजीवादको चकचकी न देखेर सामन्तवादलाई खतरा देख्ने लाइन बोकेका गुटहरु पनि छन । यस सम्बन्धमा यहाँको सैद्धान्तिक प्रतिक्रिया के छ ?
यहाँले भन्नु भए जस्तै नेपालमा यसप्रकारको लाइन अर्थात् कार्यदिशा अवलंबन गर्ने कतिपय गुट वा समूहहरु अवश्यै छन् । हामीले सैद्धान्तिक तथा राजनीतिक रुपमा त्यसप्रकारका गुटहरुलाई एकातिर घोर दक्षिणपन्थी संशोधनवादी गुटका रुपमा लिनु पर्दछ भने अर्कोतिर तिनको विरोध तथा भण्डाफोर गर्नु पर्दछ ।
६) होइन त्यसरी विश्लेषण गरेर अगाडि जाने हो भने त प्रतिगमनको खतरा अगाडि आउँछ भन्ने भनाई छ नि ?
नेपाली र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासमा पनि यसरी प्रतिगमनको खतरा देख्ने तुलनावादी चिन्तन प्रचूर मात्रामा देखापर्दै आएको छ । निुङ्कुश राजतन्त्रको तुलनामा संबैधानिक राजतन्त्र र संबैधानिक राजतन्त्रको तुलनामा गणतान्त्रिक संसदीय व्यवस्थालाई कुनै खास अवस्थामा प्रगतिशील मान्न सकिन्छ, परन्तु सदाका लागि यही रटान गर्नु अतीतमुखी चिन्तन हो । भविष्यमुखी दृष्टिले हेर्दा नयाँ जनवादका तुलनामा वर्तमान राज्यसत्ता र व्यवस्थालाई प्रतिक्रियावादी राज्यसत्ता र व्यवस्थाका रुपमा ग्रहण गर्नु पर्दछ । संसदीय गणतन्त्रको रक्षाका लागि नयाँ जनवादी गणतन्त्रको बलि चढाउन सकिंदैन ।
७) काम नेकपाको जस्तै गर्ने तर कुरा क्रान्तिकारी गर्नेहरुलाई माक्र्सवादी लेनिनवादी दृष्टिकोणमा के भनिन्छ ?
– अत्यन्तै सङ्क्षिप्तमा भन्नु पर्दा काम सरकारमा आसीन नेकपाको जस्तै गर्ने, तर कुरामा भने आफूलाई क्रान्तिकारी देखाउने राजनीतिक शक्तिहरुलाई माक्र्सवादी–लेनिनवादी दृष्टिमा छद्म वा मध्यपन्थी अवसरवादी भनिन्छ । सारमा त्यो दक्षिणपन्थी अवसरवाद तर्फ नै उन्मुख रहेको हुन्छ ।
८) आफूसँग त्यति ठूलो जनयुद्ध लडेका सहयोद्दाहरुको यो महापतन देख्दा यहाँलाई कस्तो लाग्दछ ?
– सँगसँगै जनयुद्ध लडेका सहयोद्धाहरु यसरी आत्मसमर्पण गरी प्रतिध्रुवीय कित्तामा पुगेको तथा क्रान्तिप्रति गद्दारी गरेको देख्दा एकातिर निकै दुःख लाग्छ । परन्तु अर्कोतिर, विश्व र नेपालमा पनि यस्ता घटना घट्दै आएको स्थितिमाथि ध्यान दिंदा यसमा कुनै आश्चर्य भने लाग्दैन ।
९) नेपाली कम्युनिस्ट आन्दोलनमा नयाँ क्रान्तिकारी ध्रुवीकरणको सम्भावना छ कि छैन ?
आज नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवाद तर्फ अगाडि बढ्नका लागि नेपाली कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारीहरुको ध्रुवीकरण एक अनिवार्य आवश्यकता बन्न गएको छ । यस प्रकारको ध्रुवीकरणका पचूर संभावना छन् र तिनलाई यथार्थमा बदल्न आवश्यक छ । त्यस दिशामा हाम्रो पार्टीले गंभीरतापूर्वक पाइला चाल्दै आएको छ ।
१०)थप केही छ कि ?
अहिलेलाई थप केही छैन । हार्दिक धन्यवाद ।
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव क.मोहन वैद्य (किरण) को हाँक साप्ताहिकमा आएको अन्तर्वार्ता