कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई भेट्न भारतीय राजदूत रणजीत राय बुढानिलकण्ठ पुगेका छन् । विदेशमन्त्री सुस्मा स्वराजले बधाई दिएको भोलिपल्ट राजदूत राय देउवालाई बधाई दिन उनको निवास बुढानिलकण्ठ पुगेका हुन् ।
देउवा निवास बुढानिलकण्ठ पुगेर राजदूत रायले नेपालमा सदैव लोकतान्त्रिक आन्दोलनको अगुवाई गर्दै आएको पार्टी कांग्रेसको सभापतिमा निर्वाचित भएकोमा उनलाई बधाई दिएको नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले जानकारी दिए। करिब आधा घण्टा भएको सो भेटमा राजदूत रायले भारत सरकार र आफ्नो व्यक्तिगत तर्फबाट बधाई दिँदै भारतले सदैव नेपालमा शान्ति, स्थिरता र समृद्धि भएको हेर्न चाहेको विचार व्यक्त गरे ।
भेटमा सभापति देउवाले नेपाल र भारतबीच सदियौँदेखि ऐतिहासिक सुमधुर सम्बन्ध रहेको बताउँदै आगामी दिनमा दुबै मुलुकबीचको सम्बन्ध अझ प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरे । स्वराजले बुधबार विज्ञप्ती निकाल्दै रोटी बेटीको सम्बन्ध रहेको दुईदेशबीचको सम्बन्ध देउवा सभापति भएपछि अझ प्रगाढ हुने विश्वास व्यक्त गर्दै बधाई दिएकी थिइन् ।
उनले भारतीय स्वतन्त्रता संग्राममा नेपाली कांग्रेसका नेताहरुले गरेको योगदानको चर्चा गर्दै अबका दिनमा पनि दुई देशका नागरिकबीचको सम्बन्ध मजबुत हुने विश्वास व्यक्त गरेकी छन् ।