सेवाग्राहीसँग घूस लिँदालिँदै इलाका प्रहरी कार्यालय कडरवाना सप्तरीका प्रमुख प्रहरी निरीक्षक प्रेमबहादुर थापा पक्राउ परेका छन् । घूस लिइरहेको अवस्थामा प्रनि थापा र जवान अशोककुमार यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पूर्वाञ्चल क्षेत्रिय कार्यालय इटहरीको टोलीले पक्राउ गरेको हो । सेवाग्राहीसँग ४० हजार रुपैयाँ घूस लिँदै गरेको अवस्थामा अख्तियारका डिएसपी रमेशकुमार बस्नेत नेतृत्वको टोलीले थापा र यादवलाई प्रहरी कार्यालयबाटै बुधबार दिउँसो पक्राउ गरेको हो ।
सवारी दुर्घटनामा परेको मोटरसाइकल छुटाइदिन्छु भन्दै स्थानीय महमद सागिर अलीबाट घूस लिँदै गरेको अवस्थामा दुबैजना रंगेहातपक्राउ परेको अख्तियारको पूर्वाञ्चल क्षेत्रिय कार्यालय इटहरीका प्रमुख डुल्लुराज बस्नेतले बताए ।
डिएसपी बस्नेतले सप्तरीबाट पक्राउ गरि इटहरी ल्याइएका प्रनि थापा र यादवलाई र थप छानविन र कारवाहीका लागि अख्तियारको केन्द्रिय कार्यालयमा बुझाउने बताएका छन् । सवारी दुर्घटनाको केसमा नियन्त्रणमा लिएको मोटरसाइकलको मुद्दा मिलाई दिने भन्दै एक लाख ५० हजार मागेपछि अलीले अख्तियारमा उजुरी हालेका थिए ।
अलीको उजुरी पश्चात अख्तियारले थापाविरुद्ध निगरानी बढाएर ४० हजार रकमको फोटोकपी गरेर विदाको दिनमा उक्त रकम बुझाउन लाग्दा रंगेहात पक्राउ गरिएको क्षेत्रिय प्रमुख बस्नेतले बताए ।
प्रनि थापाले अलीसँग ४० हजार घुस लिएर अंगरक्षक यादवलाई कोठामा राख्न लगाएलगत्तै प्रहरी कार्यालय पुगेको अख्तियारको टोलीले दुबैजनालाई पक्राउ गरिएको डिएसपी बस्नेतले जानकारी दिएका छन् । घूससहित पक्राउ परेका प्रनि थापा र यादवको घट्नास्थलको मुचुल्का तयार गरी एक दिनको अनुसन्धानपश्चात बिहीवार थप कारबाहीका लागि काठमाडौं पठाउने भएको छ ।