किर्ते कागज बनाएर जग्गा बिक्री गरेको आरोपमा पर्सा प्रहरीले एक महिला र मालपोत कार्यालयका एक कर्मचारी सहित चार जनालाइ पक्राउ गरेको छ । प्रहरीले जिल्ला मालपोत कार्यालय पर्सामा कार्यरत नायब सुब्बा ४७ वर्षिय मुरारी प्रसाद तिमिल्सीना , वीरगन्ज – ८ माइस्थानका ३८ वर्षिय संदिप कुमार गुप्ता , उनकी श्रीमति इन्द्रावती कुमारी गुप्ता र माइस्थानकै ४२ वर्षिय राजेश कुमार गुप्तालाइ पक्राउ गरेको हो ।
वीरगन्जको गीता मन्दिर देखि पुर्वमा रहेको इन्द्रावती कुमारीको नाममा रहेको कित्ता नम्बर ५१ को एक धुर जग्गालाई मालपोत कार्यालयबाट किर्ते कागजपत्रको आधारमा सात धुरको क्षेत्रफल बनाएर इन्द्रावती र उनका श्रीमान सन्दिपले गत बैशाख ७ गते ललितपुरका सचेन्द्र महर्जनलाइ ८० लाख रुपैयामा बिक्री गरेका थिए ।
महर्जनलाइ बिक्री गर्नु भन्दा पहिले इन्द्रावती र उनका श्रीमान सन्दिपले उक्त फर्जि जग्गाको किर्ते कागजपत्र वीरगन्जमा रहेको प्राइम बैंकमा धितो राखेर ४० लाख रुपैया ऋण पनि निकालेका थिए । जग्गा खरिद बिक्री गर्ने क्रममा महजर्नले दिएको ८० लाख मध्ये ४० लाख रुपैया ऋण बैंकमा तिरेर इन्द्रावती र उनका श्रीमान सन्दिपले जग्गा फुकुवा गराएर गत बैशाख ७ गते जिल्ला मालपोत कार्यालय पर्साबाटै महर्जनको नाममा पास गरेका थिए । इन्द्रावतीबाट खरिद गरिएको जग्गा बेच्नका लागि भनेर गत आइतवार वीरगन्ज आएका महर्जनले ग्राहकलाइ लिएर जग्गा भएको स्थानमा नापजोख गर्न जादा असली जग्गाधनीले उनीहरुलाइ गाली गलौज गर्दै लखेटेपछि मात्र महजर्नले आफु ठगीएको थाहा पाएका थिए ।
जिल्ला प्रहरी कार्यालय पर्सामा गत आइतवार महर्जनले दिएको उजुरीको आधारमा प्रहरीले चारै जनालाइ पक्राउ गरेर आज सार्वजनिक गरेको हो ।घटनामा मालपोत र नापी कार्यालयका अन्य कर्मचारीहरुको पनि संलग्नता रहेको पाइएको बताउदै प्रहरी उपरिक्षक श्रेष्ठले अनुसन्धान अझै जारी रहेको बताए ।
पक्राउ परेका चारै जनालाइ जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर उनिहरु विरुद्ध ठगी तथा किर्ते मुद्धामा थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक श्रेष्ठले जानकारी दिए ।