सहिद सप्ताहको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा कवि एवम् आदरणीय सहिद कृष्ण सेन ‘इच्छुक’ द्वारा रचित कविता “बर्माझिया” को पाठन उहाँकी जीवन संगिनी तक्मा केसीले गर्नुभएको थियो । कविता वाचन गर्ने क्रममा केसीले जनयुद्धका क्रममा सहिद हुनुभएका आफन्तको अहिलेको अवस्थाका बारेमा कसैले पनि वास्ता गरेनन् भन्ने गुनासो गर्नुभयो । उहाँले भनेका कुरा ठिकै हुन् ।
यो दस वर्षको दौरानमा माओवादीको नाममा दुई जना प्रधानमन्त्री बन्न पुगेका थिए । यी दुई जना प्रधामन्त्रीले जनयुद्धका क्रममा सहिद, बेपत्ता भएका परिवारका बारेमा कुनै निर्णय गर्न सकेनन् । शान्ति प्रक्रिया सुरु भएपछि “माओवादी” दुई जना प्रधानमन्त्री, केही दर्जन मन्त्रीहरू बन्न पुगे । उनीहरू आफैँ मोटाए । पैसा कमाए । परिवार र आफन्तको पुस्तालाई चुस्त बनाए ।
सहिद परिवार, बेपत्ता योद्धा परिवारलाई केही पनि गरेनन् । “द्वन्द्वका क्रममा मारिएका वा बेपत्ता भएका” सीमित पारिदिएका छन् । जुन उद्देश्यले जनयुद्धको सुरुआत गरिएको थियो, राजनीतिक लक्ष्य लिइएको थियो, जनयुद्धका सिद्धान्तकार, योजनाकार र नेतृत्व पंक्तिको मुख्य तप्का दलाल संसदीय व्यवस्थामा चुर्लुम्म डुबेको छ, त्यसको नेतृत्व प्रचण्डले गरेका छन् ।
अर्को पंक्तिले माक्र्सवाद नै परित्याग गर्न पुगेको छ । त्यसको नेतृत्व बाबुरामले गरेका छन् । नेपालको सन्दर्भमा जनयुद्धलाई पद, पैसा, प्रतिष्ठा र परिवारको उन्नयनमा प्रयोग गरेर सम्भ्रान्त बन्न पुगे । जनयुद्धको मुख्य नेतृत्व गरेका प्रचण्ड नेपाली चाउचेस्कुमा परिणत भएका छन् ।
माक्र्सवादलाई नै परित्याग गरी भद्दा बुर्जुृवामा रूपान्तरित हुन पुगेका बाबुरामले नेपाली बोरिस यल्त्सिनको रूप धारणा गर्न पुगेका छन् । साथै एउटा पंक्ति छद्म संशोधनवादमा पतन भएको छ, जसको प्रस्थान बिन्दु “प्रचण्डपथ” हो ।
यी तिनै वटाको विसर्जन बुर्जुवाकरण हो । यस्तो परिवेशमा विगतका यी नेता उनीहरूको गुटबाट सहिद परिवार, बेपत्ता योद्धा परिवार, घाइते वा अन्य जनताले के आशा गर्ने ? यिनीहरूबाट आशा गर्नु मूर्ख बन्नु या भ्रम पाल्नु बाहेक अरू केही होइन । यी मान्छेको नजिक रहेर केही जुठो पुरो चाट्न पाएकाले मात्र आशा गर्दछन् ।
जनवादी आन्दोलनका सहिदहरू
नेपालमा जहानियाँ सामन्ती राणा विरोधी आन्दोलनका पहिलो सहिद लखन थापालाई मारिएको छ । पुरानो गोरख गणमा भर्ना भएका लखन थापा अंग्रेजले भारतीय विद्रोहीलाई दबाउन जंगबहादुर राणाले नेपालबाट सेना पठाएको थियो । त्यो सेनाले विद्रोहीहरूलाई दबाएको थियो । त्यो परिघटना “लखनउ लुट” चित्रित छ । उनले यी घटनाहरू आफ्नै आँखाले देखेका थिए ।
साथै त्यहाँका विद्रोहीसँग लखन थापाको सम्पर्क पनि भएको थियो । यो परिघटनाले लखन थापामा राजनीतिक चेतना आयो । उनी त्यहाँबाट फर्किएपछि राणा शासनका विरुद्ध ६० नाल भरुवा बन्दुक, ठूलो संख्यामा तरबार, भाला, डण्डी, धनुकाँड, खुँडा र कटारी जम्मा गरेर गोरखाको बुङ्कोटमा सैन्य तालिम गरिरहेका थिए ।
यो कुरा जंगबहादुरले थाहा पाएर १९३३ साल फागुन २ तेका दिन लखन थापा, उनका साथीहरू जयसिंह चुमी (राणा), अच्छामी मगर र अन्य चार गरी ७ जनालाई क्रुरतापूर्वक झुण्ड्याएर मारिएको थियो । सबैभन्दा पहिला लखन थापा झुन्ड्याइकोले उनलाई पहिलो सहिद भन्ने गरिएको छ । लखन थापाले उठाएको राणा शासन विरुद्धको विद्रोह नै नेपालको पहिलो राजनीतिक विद्रोह पनि भनिने गरिएको छ ।
राणा शासनका विरुद्ध व्यवस्थित राजनीतिक आन्दोलन गंगालाल, दशरथ चन्द, धर्मभक्त र शुक्रराज शास्त्रीहरू थिए । यिनीहरूमा पनि गंगालाल माक्र्सवादी विचारबाट प्रशिक्षित थिए । गंगालाल र दशरथ चन्दलाई शोभा भगवतीमा झुण्ड्याइएको थियो ।
भारतमा अंग्रेज विरुद्धको आन्दोलनका क्रममा भारतीय हिरासतमा बसेर नेपाल फर्किएका भीमदत्त पन्तले राणा विरोधी आन्दोलनमा सहभागी भएका थिए । २००७ सालमा राणा, काङ्ग्रेस र राजाबीच दिल्लीमा सम्झौता भयो, त्यसको भीमदत्तले विरोध मात्र गरेनन् । उनी काठमाडौँमा आएर तत्कालीन कम्युनिस्ट पार्टीका महासचिव मनमोहन अधिकारीलाई भेटेर सशस्त्र आन्दोलन गर्न प्रस्ताव राखेका थिए ।
उनले कम्युनिस्ट पार्टीको सदस्यता पनि मागेका थिए । उनलाई सदस्यता दिइएन । नरबहादुर कर्मचार्यले उनलाई अखिल नेपाल किसान संघको सदस्यता दिएका थिए । त्यहाँबाट फर्किएपछि उनले किसान संघर्ष सुरु गरेका थिए ।
स्थानीय समान्तहरूका विरुद्ध उनले फौज तयार किसान राज स्थापना गरे । उनलाई दवाउन तत्कालीन सरकारले पुलिस र सेना परिचालन ग¥यो । नेपाली पुलिस र सेना उनको फौजसँग हारेपछि नेपाल सरकारले भारतीय सेना नेपाल भित्र्यायो । भारतीय सेनासँग पनि जमेर लडेको थियो भीमदत्तको सेना । भारतीय सेना तहस नहस त भयो तर भीमदत्तको फौजले हराउन सकेन ।
“कि जोत हलो, कि त छोड थलो, होइन भनें अब छैन भलो” भन्ने नारा दिएका थिए । भूमिगत बसिराखेको अवस्था भीमदत्त पन्तका मितले बसेको ठाउँ पत्तालाई २०१० साल साउन १७ गते गोली हानी हत्या ग¥यो । उनको टाउको काटेर मितले सामन्तलाई बुझाएको थियो । उनको टाउको कैयौँ दिनसम्म डडेल्धुरामा बाँसको लिङ्गोमा टाँगिएको थियो । साम्यवादी विचारद्वारा लैस भएर हतियारबद्ध आन्दोलनको नेतृत्व गरी सहादात प्राप्त गर्ने पहिलो व्यक्ति भीमदत्त पन्त हुन् । यो राज्यले उनलाई अहिलेसम्म सहिद मानेको छैन ।
विगतका अनुभव, अनुभूति, तत्कालीन निरकुंश पञ्चायती व्यवस्था, कम्युनिस्ट पार्टीमा हुर्किएको संशोधनवाद र दरबारसँगको आत्मसमर्पणका विरुद्ध झापाका युवाहरूले सशस्त्र विद्रोह गरेका थिए । उक्त विद्रोहको भावनात्मक पक्ष सही थियो ।
वैचारिक पक्षमा केही कमजोरी थिए । पञ्चायती शासकहरूले उक्त आन्दोलन दबाउनका लागि दमन थोप¥यो यही क्रममा झापाको सुखानी जंगलमा पहिला नै गिरफ्तार भएका रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजबंशी, नारायाण श्रेष्ठलाई २०२९ साल फागुन २१ गतेका दिन गोली हानी हत्या गरेको थियो । झापा विद्रोहका क्रममा जो जति सहिद भए, उनीहरू नयाँ जनवादी व्यवस्था स्थापना गर्नका लागि भएका थिए ।
नेपालका सबैखाले राजनीतिक आन्दोलन, जनवादी आन्दोलन, विगतका त्याग, बलिदान र समर्पणहरूलाई संश्लेषण गर्दै, अनुभवहरूबाट पाठ सिक्दै २०५२ साल फागुन १ गतेका दिन जनयुद्धको शंखघोष गरिएको थियो । त्यो जनयुद्ध विचार, राजनीति, फौजी सबै पक्षबाट सशक्त थियो । जनयुद्धले नेपालको सामन्तवादी राजतन्त्रको अन्त्य गरेको थियो ।
जनयुद्धले दुई वटा लक्ष्य लिएको थियो, वर्गीय मुक्ति र राष्ट्रिय मुक्ति । यही क्रममा २०५२ साल फागुन १४ गतेका दिन विद्यालयमा पढ्दै गरेका बालक दिलबहादुर रम्तेलको हत्या तत्कालीन शासकहरूले गरेका थिए । यसरी दिलबहादुर रम्तेल जनयुद्धका पहिला सहिद भएका थिए । त्यसपछि राज्यले हत्याकाण्डको अभियान नै सञ्चालन गरेको थियो ।
यसक्रममा माओवादीका माथिल्ला स्तरका नेताहरू पोलिटब्युरो सदस्य सुरेश वाग्ले ‘वासु’, केन्द्रीय सदस्यहरू किमबहादुर थापा ‘सुनिल’, शेरमान कुँवर, रीतबहादर खड्का, मोहनचन्द्र घिमिरे, नेपबहादुर केसी, जनकवि एवम् वरिष्ठ पत्रकार कृष्ण सेन ‘इच्छुक’, कमान्डरहरू जीत, योद्धा, बहुबीर, प्रहार, स्वप्नशिला, महिना नेतृहरू कमला भट्ट, दिलमाया योञ्जन, ललि रोकाया लगायतका नेता, कार्यकर्ता, जनताले सामन्ती राजतन्त्रात्मक संसदीय व्यवस्थाको अन्त्य गरी नयाँ जनवादी राज्य व्यवस्था स्थापनाका लागि जनयुद्धमा आफ्नो अमुल्य जीवन गुमााउने ८ हजार ५ सय २५ जना सहिद हुनुका साथै तत्कालीन राज्यद्वारा केन्द्रीय सदस्य डण्डपाणि न्यौपाने, विद्यार्थी नेताहरू पूर्ण पौडेल, विपिन भण्डारी, ज्ञानेन्द्र त्रिपाठी लगायत बेपत्ता पारिएका १ हजार ५४ जना बेपत्ता र हजारांैं घाइते हुन पुगेका जनयुद्ध त्याग, बलिदान र समर्पणको उच्चता थियो ।
जनयुद्धको विकास र विस्तारसँगै यसलाई व्यापकता बनाउनुपर्ने आवश्यकता महसुस गरी नेपालमा विगतमा भएका सबैखाले जनवादी आन्दोलनलाई “इतिहासका टुटेका कडी” लाई जोड्ने काम २०५५ सालमा भएको चौथो विस्तारित बैठकले निर्णय गरेको थियो ।
जनयुद्धलाई उच्चता दिन र इतिहासको सही मूल्याङ्कन गर्न “चिहान खन्ने र निकाल्ने” नीति पनि लिएको थियो । त्यही नीति अनुसार उक्त विस्तारित बैठकले २०२९ साल फागुन २१ गते सुखानी हत्या काण्ड र २०५२ साल फागुन गते दिलबहादुर रम्तेलले सहादत प्राप्त गरेको दिनबीचको एक हप्तालाई “सहिद सप्ताह” मनाउने निर्णय गरेको थियो ।
सहिदका सपना
जनयुद्ध सुरु भएको २० वर्ष पुगेर २१ वर्ष लागेको छ । यसबीचमा माओवादी आन्दोलनमा निकै ठूलो उतार चढाव आएको छ । माओवादी जनयुद्ध केन्द्रीय सत्ता कब्जाको सन्निकट पुग्यो । पुरानो सामन्ती सत्ताको सबै सुरक्षा शक्तिलाई युद्धमैदानमा परास्त ग¥यो । राजनीतिक रूपमा जनताको सत्ता स्थापना गरेर जनताको सेवा गरिराखेको थियो ।
संसदीय व्यवस्था पूर्णरूपले ध्वस्त भएको थियो । संसदीय पार्टीका नेताहरू आफ्नो जीवन रक्षाका लागि माओवादीसँग गुहार मागिरहेका थिए । थोरै पनि हेलचेक्राइँ गर्नेहरूलाई ज्ञानेन्द्र शाहीले शाही सेनाको कडा पहरामा बन्दी बनाएका थिए ।
वैज्ञानिक विचार, उत्कृष्ट राजनीति, सक्षम नेतृत्व, त्याग, बलिदान र समर्पणले ओतप्रोत पार्टीका नेता र कार्यकर्ता, जनतामा फिंजिएको पार्टी सङ्गठन अभेद्य शक्ति थियो । नेता, कार्यकर्ता र जनताको एउटै अभीष्ट थियो अमेरिकी साम्राज्यवाद, भारतीय विस्तारवाद पालित पोषित नेपाली प्रतिक्रियावादी राज्य सत्तालाई पूर्ण ध्वंस गरी नयाँ जनवादी राज्य सत्ता स्थापना गर्दै समाजवाद हुँदै साम्यवादमा पुग्ने ।
मानव जीवनकै उत्कृष्ट, सुन्दर, सभ्य र समान समाज स्थापना गर्ने । यी उत्कट चाहनाका कारण मान्छेहरू स्पातमा परिणत भएका थिए । त्यसैले दुश्मनका अमानुषी दमन, यातना र तडपनले उनीहरूलाई गलाउन सकेन । झुकाउन सकेन । फुटेको मुटुबाट ह्वालह्वालती रगत बगिरहँदा उनीहरूको मुठ्ठी उठ्थ्यो । मुखबाट महान् जनयुद्ध जिन्दावादको आकाश थर्किने नारा लाग्दथ्यो । यही नै सहिद, बेपत्ता योद्धाहरूको सपना थियो ।
अहिले प्रचण्ड र बाबुरामहरूले जनता, नेता÷कार्यकर्ता, सहिद, बेपत्ता योद्धा र घाइते योद्धाहरूका यी सपनामाथि होली खेलेका छन् । प्रचण्डले गरेको वर्गघात र बाबुरामले गरेको वर्गघातका साथै राष्ट्रघातका कारण माओवादी आन्दोलनमा वैचारिक विचलन आयो ।
प्रचण्ड संसदीय व्यवस्थामा फर्किएका छन् । बाबुरामले माक्र्सवादलाई नै परित्याग गर्न पुगेका छन् । त्यसैले उनीहरू प्रधानमन्त्री हुँदा अथवा पुरानो सत्तासँग वार्ता, सहमति र सम्झौता गर्दा सहिद, बेपत्ता योद्धा परिवार र घाइते योद्धाका जीवनयापन, सुखसुविधा, राज्यद्वारा लिइनुपर्ने अभिभावकत्वका बारेमा केही पनि गरेनन् ।
यसरी सिंगो जनयुद्धले ठूलो धक्का खायो नै साथै सहिदको मान्यता दिइएन । बेपत्ता योद्धाहरूको खोजी गरिएको छैन । न सास छ, न आस । ज्यूँदो सहिदका रूपमा आधा जीवन बाँचेका घाइते योद्धाहरूको बेहाल छ । उनीहरूलाई जनयुद्धमा सामेल भएर गल्ती गरियो भन्नुपर्ने अवस्थामा प्रचण्ड–बाबुरामले पु¥याएका छन् । यी सबै परिघटनाहरू विचार र राजनीतिमा देखापरेको विचलन सङ्गठनमा देखापरेको पलायनता हो ।
यो परिस्थितिमा नेपालका क्रान्तिकारीहरूले माओवादी आन्दोलनलाई सबैखाले विचलन, पलायनता, विकृति र विसंगतिका विरुद्ध लड्दै नयाँ शिराबाट उठाउनुपर्ने आवश्यकता भयो । त्यसका लागि सबैभन्दा पहिला आन्दोलनमा वर्गघात र राष्ट्रघात गर्नेहरूसँग सम्बन्ध विच्छेद गर्नुपर्ने हुन्छ । उनीहरू सँगसँगै बसेर क्रान्तिकारी आन्दोलन अगाडि बढ्न सक्दैन ।
नेपालीमा एउटा उखान छ “कुहिएको आलुले बोराका सबै आलुलाई कुहाउँछ ।” माओवादी आन्दोलनका कुहिएका आलुबाट अलग हुने काम भयो पार्टी पुनर्गठन । अहिले केही मान्छेहरू एकताभन्दा बाहिरबाट माओवादी आन्दोलन सम्भव छैन भनिरहेका छन् । सहिदहरूको सपना यही हो भन्न थालेका छन् । यसो भनेर ठूलो भ्रम छरिरहेका छन् । सहिद र बेपत्ता योद्धाहरूको सपना साकार पार्नका लागि नयाँ क्रान्तिको बाटोमा अघि बढ्न जरुरी छ, त्यो नै एकीकृत जनक्रान्तिको बाटो हो ।
नेतृत्व
२१ जनयुद्ध दिवस र सहिद सप्ताह मनाइरहँदा नेपाल कम्युनिस्ट पार्टी माओवादीले नयाँ जनवादी क्रान्ति सफल गर्दै वैज्ञानिक समाजवादको स्थापनाको कुरा गरिराखेको छ । जनयुद्धले स्थानीय सामन्तवादको जरा काटिदियो ।
केन्द्रीय सामन्ती राजतन्त्रलाई नामेट पारिदियो तर भारतीय विस्तारवाद र साम्राज्यवाद हैकम हट्न नसेकाका कारण त्यस त्यो स्थान दलाल पुँजीवादले लियो । यो दस वर्षको दौरानमा भएको प्रतिक्रान्ति, प्रतिक्रियावादीहरू गठजोड र चलखेलले गर्दा नयाँ रूपरङमा “लुई पोनापार्टको अठारौँ ब्रुमेयर” नेपालमा पनि घट्न सक्दछ ।
नयाँ रङ्गढङ्गमा देखापरेको प्रतिक्रान्ति, माओवादी आन्दोलनमा देखापरेको विचलन, संशोधनवादको भद्दा आयम र नयाँ र पुराना प्रतिक्रियावादका विरुद्ध लड्दै नेपाली क्रान्ति सफल पार्ने विचार नै नयाँ र सक्षम नेतृत्व हो । त्यो एकीकृत जनक्रान्ति । प्रचण्ड, बाबुराम र केही छद्म संशोधनवादीहरूले आम जनता मुख्यरूपमा सहिद परिवार र बेपत्ता योद्धा परिवारलाई नेकपा माओवादीसँग सही विचार छैन भन्ने भ्रम फैलाएका छन् ।
सही कुरा प्रचण्ड, बाबुराम र छद्म संशोधनवादीहरूले नयाँ विचारको निर्माण गर्न नसकेका कारण जनयुद्ध विजयसम्म पुग्न नसकेको हो । उनीहरूले विचरलाई समृद्ध गर्नेतिर लागेनन् अथवा सकेनन् ।
सही विचार नै सही नेतृत्व हो । त्यसैले माओले सही विचार कार्यदिशाको कुरा गर्नुभएको थियो । सही विचार र कार्यदिशाका साथै त्यसलाई ठिक तरिकाले बुझ्ने, जीवन व्यवहारमा लागू गर्ने व्यक्ति पनि चाहिन्छ । त्यो सही विचारको मुख्य प्रवर्तक जो हो उसलाई नै कार्यान्वयन गर्न पनि सहज हुन्छ । विश्वका सफल र असफल क्रान्तिहरूले यसलाई पुष्टि गरेका छन् ।
लेनिनले माक्र्सवाद–लेनिनवादको प्रतिपादन गर्नुभयो । उहाँले त्यसलाई विशाल रुस, त्यहाँका जनता र आफ्नै जीवनमा पनि लागू गर्नुभयो । लेनिन विचार हुनुहुन्थ्यो । संघर्षको नेतृत्व कार्यक्षेत्रमा जमेर गर्नुहुन्थ्यो ।
साथै त्याग, बलिदान र समर्पणमा पनि समकालीन नेताहरू अग्रपंक्तिमा रहनुभएको थियो । त्यसैले सन् २२ जनवरी १९०५ मा “मुच्छेल आइतबार” मा भएको भीषण दमन जसमा १ लाख ५० हजार मजदूरले विरोधमा भाग लिएका थिए, उक्त विरोध कार्यक्रममा जारले गोली हानेर ४ हजारको हत्या गरेको थियो र हजारौँ घाइते भएका थिए ।
त्यसले रसियन जनतामा निराशा पैदा गरेको थियो । त्यो निराशालाई लेनिनले आशा र प्रेरणामा परिणत गर्नुभएको थियो । यही अवसर पेरिस कम्युनमा ब्लाँकीले पनि पाएका थिए तर सकेनन् नि ।
माओत्सेतुङले चीनमा माक्र्सवाद–लेनिनवादलाई लागू गर्नुभएको थियो । उहाँ पनि लेनिनभन्दा कम हुनुहुन्थेन । उहाँको परिवारले चिनियाँ जनवादी क्रान्तिका ठूलो बलिदान गरेको थियो ।
माओका जीवन साथी याङ्काई हुईलाई सन् १९३० अक्टोबरमा च्याङ्काई सेकका सुरक्षा फौजले यातना दिएर सार्वजनिक स्थानमा लगी छोरा माओ एनिङको अगाडि नै झुण्ड्याइएको थियो र एनिङलाई आमालाई गोली हानेको हेर्न बाध्य पारिएको थियो । त्यस समयमा एनिङ केवल ८ वर्षका मात्र थिए ।
एनिङ र उनका भाइ अर्थात माओका अर्का छोरा एकिङ दोस्रो विश्वयुद्धमा सोभियत लाल सेनामा भर्ना भएका थिए । माओ एकिङ पोल्याण्ड लड्न गएका थिए । माओ एनिङ २५ नोभेम्बर १९५० मा कोरिया युद्धका क्रममा उनी सहिद हुन पुगेका थिए । लेनिनले पनि आफ्नो दाजु अलेकजेण्डरलाई जार विरुद्धको संघर्षमा गुमाएका थिए ।
अहिले लेनिन र माओकालीन समयभन्दा निकै फरक छ । अहिलेको सूचना, सञ्चार र प्रविधिको विकासले कुनै पनि सूचना तीब्र रूपमा प्रचार प्रसार हुन पुग्दछ । भ्रम र यथार्थता सँगसँगै दौडन सक्दछन् । नेपालमा प्रचण्ड र बाबुरामहरूले रोपेको अविश्वास, आशंका अहिले व्याप्त छ ।
एउटा रोचक प्रसंग छ– माओको एउटी श्रीमती हे जिझेले माओलाई गुरिल्ला लडाकु विशेषज्ञका रूपमा मात्र बुझेकी रहिछन् तर विहे गरिसकेपछि उनले माओलाई गुरिल्ला लडाकुका रूपमा देखेपछि दिमाग खराब भएको थियो ।
यो शताब्दीमा नेतृत्वको विचारक, योजनाकार, राजनीतिज्ञ, युद्ध कमान्डर, कुशल सेनाको एउटा सशक्त टिम चाहिन्छ । त्यो त्याग, बलिदान, समर्पण, शौर्यपूर्ण पनि हुनुपर्छ । यिनै कुराहरूलाई लिएर मान्छेहरूले भ्रम सिर्जना गरिराखेका छन् ।
प्रचण्ड र बाबुरामहरूको गद्दारी र आत्मासमर्पणकारी हर्कतले मलजल गरेको छ । यी सबै भ्रमलाई चिर्दै नेपाली क्रान्तिलाई अगाडि बढाउन सके मात्र सहिद, बेपत्ता योद्धा, घाइते योद्धा, जनयुद्धका वास्तविक योद्धा, क्रान्तिकारी जनताको सपना साकार हुन्छ ।
एकीकृत जनक्रान्तिका अभियान्ताहरूको काँधमा यही गहन जिम्मेवारी आएको छ । काम चुनौतीपूर्ण, जटिल अवश्य छ तर त्यत्ति नै गौरवपूर्ण र सम्भव पनि छ ।
(लेखक सहिद परिवार हुन्)
– See more at: http://janapati.com/%e0%a4%b5%e0%a4%bf%e0%a4%9a%e0%a4%be%e0%a4%b0/%e0%a4%b8%e0%a4%b9%e0%a4%bf%e0%a4%a6-%e0%a4%b8%e0%a4%aa%e0%a5%8d%e0%a4%a4%e0%a4%be%e0%a4%b9-%e0%a4%b8%e0%a4%aa%e0%a4%a8%e0%a4%be-%e0%a4%b0-%e0%a4%a8%e0%a5%87%e0%a4%a4%e0%a5%83%e0%a4%a4%e0%a5%8d/#sthash.iGTDiSPI.dpuf
