प्रशासन कव्जा गरेपछि गुल्मीमा प्रहरी र आन्दोलनकारीबीच झडप : २४ घाइते, ४ गम्भिर

प्रशासन कव्जा गरेपछि गुल्मीमा प्रहरी र आन्दोलनकारीबीच झडप : २४ घाइते, ४ गम्भिर


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १ पुष २०७३
  • 7.5K
    Shares

जिल्ला प्रशासन कार्यालय गुल्मी

संविधान संशोधन प्रस्तावविरुद्ध आन्दोलनको १७ औँ दिन गुल्मीका सरकारी कार्यालयमा आन्दोलनकारीले ताला बन्दी गरेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीमा आन्दोलनकारीले तालाबन्दी गर्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । झडपमा नेकपा मालेका तर्फबाट सांसद बनेकी कमला विश्वकर्मासहित १४ जना घाइते भएका छन् । घाइते १४ जनामध्ये दुई प्रहरी छन् । उनीहरुको रेसुंगा र जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

बिहानैदेखी प्रदर्शनकारीले नाराबाजी गर्दै सरकारी कार्यालयमा तालाबन्दी गरेपछि प्रहरीले बल प्रयोग गरेको हो । पुर्वघोषित कार्यक्रमअनुसार जिल्लाका सरकारी कार्यालयहरुमा संयुक्त संघर्ष समितिले लगाएको ताला प्रहरीले खोल्नेक्रममा झडप भएको थियो । प्रदर्शनकारीले बिहान ९ बजे नै जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति, वन, कृषि, शिक्षा, नगरपापलिका लगायत कार्यालयमा तालाबन्दी गरेका थिए ।

gulmi-prasasan

प्रदर्शनकारीले सरकारी कार्यालयमा तालाबन्दी सुरु गरेपछि प्रहरीले भिड नियन्त्रणका लागि १२  राउण्डभन्दा बढी अश्रुग्यास प्रहार गरेको छ । प्रदर्शनकारीले प्रहरीले हस्तक्षेप गरेको भन्दै जिल्ला प्रशासन कार्यालय र जिविस तोडफोड गरेका छन् । आक्रोसित भीडले दुईवटा  गाडीमा समेत आगजनी गरे । बा १ झ ६६८१ नम्बरको जिल्ला विकास समितिको गाडी र वास प्रोजेक्टको ६६-१-०-७५५ नम्बरको निलो प्लेटको गाडीमा आगजनी भएको हो ।

प्रदेश नम्बर पाँचमा आमहड्तालको घोषणा भएसँगै गुल्मीमा शैक्षिक संस्था, बजार, कलकारखाना, उद्योगधन्दा र यातायात बन्द भएका छन् । शैक्षिक संस्थालाई खुल्ला राखेका आन्दोलनकारीले आजदेखि शैक्षिक संस्थापनि बन्द गराएका हुन् ।

पाँच नम्बर प्रदेश टुक्राएको विरोधमा झण्डै तीन सातादेखि शान्तिपूर्ण आन्दोलन गर्दा पनि सरकारले नसुनेको भन्दै गुल्मीमा आजदेखि आमहड्ताल शुरु गरिएको छ । आमहड्तालपछि गुल्मी जिल्ला तनावग्रस्त बनेको छ । जिल्ला प्रशासनमा ताला ठोक्दै आन्दोलनकारीले एक जना कर्मचारी पनि छिर्न नदिई कब्जा जमाएका छन् ।

दमन गरेको भन्दै प्रजिअको सरुवा माग

आन्दोलनमा दमन गरेको भन्दै संघर्ष समितिले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगाना, डिएसपी भोला रावलको सरुवा माग गरेका छन् । शुक्रबारको आन्दोलनको नेतृत्व गरेकी मालेकी सांसद विकले एक हप्ताभित्र सरकारले सरुवा नगरे थप आन्दोलन चर्काउने चेतावनी दिइन् ।

नेकपा एमालेका नेता एवम् गुल्मीका सांसद गोकर्ण विष्ट पनि शुक्रबारै जिल्ला सदरमुकाम आइपुगेका छन् । पाँच नम्बर प्रदेशको सीमांकन हेरफेरको विरोधमा गुल्मीमा जारी आन्दोलनको आज १७ औं दिन हो । बन्दका कारण बजार, यातायात, सरकारी कार्यालय, शिक्षण संस्था सबै ठप्प हुँदा सर्बसाधारण मर्कामा परेका छन् । उनीहरुले बन्दको विकल्प खोज्न आन्दोलनकारीलाई आग्रह गर्दै आएका छन् ।

आमहडतालको असर,

यहाँका सवै शैक्षिक संस्था, यातायात सेवा, व्यापार व्यवसाय पुरै ठप्प पारिएको छ भने मेडिकलसमेत बन्द गरिएको छ । आमहड्ताल आज देखि तीन दिनसम्मका लागि घोषणा गरिएको छ ।

यसबाट पनि सुनुवाई नभए सरकार विरुद्ध यो भन्दा पनि कडा आन्दोलन घोषणा गरिने चेतावानी संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक भुवनप्रसाद श्रेष्ठले दिएका छन् ।

सदरमुकाम वाहिरको आन्दोलन पनि आक्रमक बन्दै गएको छ । सिमलटारी, मजुवा, वामीटक्सार, वलेटक्सार रिडी, पुर्कोटदह, ईस्मालगायतका प्रमुख स्थानहरुमा विशाल विरोध सभा भइरहेका छन् ।

सिमलटारीमा बन्दको अवज्ञा गर्ने केहि व्यक्तिहरु संग हातपातसमेत भएको स्थानिय सञ्चारकर्मी खड्ग नेपालीले जानकारी दिए ।

प्रतिक्रिया