न्याय परिषदले सर्वोच्च अदालतका लागि ११ न्यायाधीशको नाम सिफारिस गरेको छ। न्याय परिषदको मंगलबार साँझ बसेको बैठकले सर्वोच्च अदालतका लागि ११ जना न्यायाधीशको नाम सिफारिस गर्ने निर्णय गरेको परिषदका सचिव कृष्ण गिरीले जानकारी दिए। गिरीका अनुसार परिषदले पुनरावेदनबाट मूख्य न्यायाधीश तहका सात जना र कानुन व्यवसायीमध्येबाट चार जनाको अधिवक्तालाई न्यायाधीशका लागि सिफारिस गरेको छ।
पुनरावेदनबाट सिफारिसमा पर्नेहरुमा दीपक कार्की, केदार चालिसे, शारदा घिमिरे, मिरा खड्का, विश्वम्भर श्रेष्ठ, इश्वर खतिवडा र आनन्द मोहन रहेको केसीले जानकारी दिए। यसैगरी अधिवक्ताहरुबाट हरिकृष्ण कार्की, प्रकाशमान राउत, सपना मल्ल र अनिलकुमार सिन्हाको नाम न्यायाधीशका लागि सिफारिस गरिएको उनले बताए।
सिफारिस भएका न्यायाधीशहरुको अब संसदीय सुनुवाई विशेष समितिमा छलफल हुने छ। छलफलका लागि सिफारिसमा परेका ११ जना न्यायाधीशलाई संसदीय समितिले बोलाउने व्यवस्था छ।
महान्यायाधीवक्ता कार्कीद्वारा राजीनामा
यस्रबीच आफू सर्वोच्च अदालतको न्यायधिश पदमा सिफारिस भएपछि महान्यायाधीवक्ता हरिकृष्ण कार्कीले आफ्नो पदबाट आज राजीनामा दिएका छन्। महान्यायाधीवक्ता कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो पदबाट राजीनामा दिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता धु्रवराज आचार्यले मंगलवार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
राष्ट्रपति भण्डारीले आजकै मितिबाट उहाँको राजीनामा स्वीकृत गरेकी छिन्। महान्यायाधीवक्ता कार्कीले आफ्नो पदबाट राजीनामा दिएपछि सो पद रिक्त रहेको छ।
साथै राष्ट्रपति भण्डारीले महान्यायाधीवक्ता कार्कीलाई उक्त पदमा रही कार्यसम्पादन गर्नु भएको प्रति धन्यवादसमेत व्यक्त गरेकी छिन्। वर्तमान सरकारले नै कार्कीलाई महान्यायाधीवक्तामा नियुक्त गरेको थियो।