नेपालमा एकीकृत जनक्रान्ति किन ?: नेत्रविक्रम चन्द ‘विप्लव’

नेपालमा एकीकृत जनक्रान्ति किन ?: नेत्रविक्रम चन्द ‘विप्लव’


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १८ कार्तिक २०७३
  • 34.1K
    Shares

हामीले नेपाली क्रान्तिलाई एकीकृत क्रान्तिको कार्यदिशाद्वारा पूरा गर्ने भनेका छौँ । किन ? किन हामीले विद्रोह वा जनयुद्धमध्ये एक भनेनौँ ? के विद्रोह वा जनयुद्ध भनेर गल्ती हुन्छ ? हाम्रो विचारमा नेपाली विशेषताहरूले गर्दा नेपाली क्रान्तिको कार्यदिशालाई एकीकृत क्रान्तिको कार्यदिशा भन्नु वस्तुवादी हुन्छ ।
  किनकि रुस एक पुँजीवादी देश थियो । रुसको राजनीतिक एवम् आर्थिक अन्तरविरोध मालिक वर्ग र तिनको संरक्षक जारशाही र मजदुर वर्गका बीचमा थियो । रुसका सहरहरू नै क्रान्तिका केन्द्र थिए । क्रान्तिको आधारशक्ति मजदुर वर्ग थियो । यता चीनमा राजनीतिक एवम् आर्थिक अन्तरविरोध एक बेला जापानी साम्राज्यवाद र देशभक्त, किसानका बीचमा र अर्को बेला किसान र सामन्तवादी राज्यसत्तासँग थियो । चीनमा क्रान्तिको केन्द्र गाउँ थियो । क्रान्तिको आधारशक्ति किसान थिए । तर आज नेपालको स्थितिलाई वस्तुवादी प्रकारले विश्लेषण ग¥यौँ भने स्पष्ट हुन्छ– यो न रुसको जस्तो विशेषतामा छ, न त चीनको जस्तो विशेषतामै छ । रुसका जस्ता सहरहरू सर्वहारावर्गीय आन्दोलनका केन्द्र छैनन् । यहाँका सहरहरू मजदुर वर्गीय नभई मध्यमवर्गीय चरित्रका छन् । किनकि यहाँका सहरहरूको चरित्र नै औद्योगिक खालका नभई प्रशासकीय, व्यापारिक, आवासीय प्रकृतिका छन् ।
अर्कोतर्फ न नेपालको अवस्था पैँसट्ठी वर्ष पहिलेको जस्तो गाउँ नै गाउँ र किसानैकिसानले भरिएको चीनको जस्तो नै छ । भन्ने नै हो भने चीनमा माओले दीर्घकालीन जनयुद्धको सिद्धान्त अगाडि सार्दा विश्वका ८० प्रतिशतभन्दा बढी देशमा सामन्तवादी हैकम थियो । जब कि आज नगण्य देशमा मात्र सामन्तवादको समस्या होला । नेपाल रुस र चीन दुवैको हुबहु स्थितिमा छैन । यसका आफ्नै विशेषताहरू छन्, जो आजको भूमण्डलीकृत विश्वराजनीति र नेपालमा विकास भइरहेको राजनीतिक एवम् आर्थिक उत्पादन सम्बन्धले गर्दा पैदा हुन पुगेका छन् । तिनलाई हामीले गहिरो गरी नबुझेसम्म र आत्मसाथ नगरेसम्म नेपाली क्रान्तिलाई पार लगाउन सकिनेछैन । ती विशेषता, जसलाई हामीले नेपालका मौलिक विशेषता भनेका छौँ, ती निम्नअनुसार रहेका छन् ः
१) सानो र भूपरिवेष्ठित अवस्था 
२) गाउँ र सहरको निकट सम्बन्ध
३) मध्यमवर्गको विकास
४) जाति, जनजाति र दलित जातिको बसोबास
५) दलाल पुँजीवादको प्रभुत्व 
६) देशभक्त शक्तिको प्रभाव
१. सानो र भूपरिवेष्ठित अवस्था 
हाम्रो देशको पहिलो विशेषता यो सानो र भूपरिवेष्ठित अवस्थामा रहनु हो । यसको जनसङ्ख्या पनि पौने तीन क्रोड मात्र छ । सानो देश हुनुको कारणले राज्यको उपस्थिति प्रशासनिक रूपले सबैतिर रहिरहेको र रहनसक्ने खालको छ ।
त्यसैगरी क्रान्तिकारी पार्टीको प्रभाव र उपस्थिति पनि सबैतिर रहेको छ । अर्कोतिर हाम्रो देश भूपरिवेष्ठित अवस्थामा पनि छ । दुईवटा विशाल उदीयमान महाशक्ति देशहरूका बीचमा छ । तीनतिरबाट भारत छ भने एकतिरबाट चीन छ । भारतसँगको सीमा निकै खुला र सुगम छ भने चीनतिरको सीमा अग्लाअग्ला हिमाल र तिब्बतको मरुभूमिका कारणले अप्ठ्यारो र कडा छ । चीनको मूल भूमि निकै टाढा रहेको छ । हामीले चाहेर पनि यी दुई मुलुकभन्दा अर्को देशसँग सहज सम्बन्ध राख्ने अवस्थामा छैनौँ । आफ्नो उत्पादनमा निर्भर रहने वस्तुबाहेक सबै माल यिनै देशहरूमा भर पर्नु पर्दछ । नेपालमा क्रान्ति गर्नका लागि यो विशेषतालाई क्रान्तिकारी शक्तिले विशेष हेक्का राख्नै पर्दछ ।
२. गाउँ र सहरको सम्बन्ध
नेपालमा गाउँ र सहरको सम्बन्ध नजिकको रहनु दोस्रो विशेषता हो । भौतिक पूर्वाधार शिक्षा, स्वास्थ्य, व्यापार, प्रशासनिक सम्बन्ध, यातायात, सूचनासञ्चारका कारण गाउँ र सहरबीचको सम्बन्ध विगतमा पनि विशेषतः पछिल्लो कालमा निकै निकट बन्दै गएको छ । नेपालको कुल जनसङ्ख्याको एक तिहाइ भाग सहरमा केन्द्रित हँुदै गएको छ भने दुई तिहाइ भाग गाउँमा छ । सहरमा रहने जनसङ्ख्या सापेक्षतामा गतिशील, चलाख छ अर्थात् सहरमा बस्ने वा आइपुग्ने जनशक्ति सापेक्षतामा दक्ष जनशक्ति देखिन्छ भने गाउँमा रहने सापेक्षतामा मध्यम र साधारण जनशक्ति देखिन्छ । गाउँहरू सामाजिक एवम् वर्गदृष्टिकोणले बढी उत्पीडित छन् भने सहर पनि बेरोजगारी र महँगीका कारणले समस्यामै छन् । अहिले सहरमा के भइरहेको छ, गाउँ तुरुन्तै सूचित र प्रभावित रहन्छ भने गाउँमा के भइरहेको छ, सहर तुरुन्तै सम्बन्धमा गइसक्छ ।
पुँजीको चरित्रले गर्दा पनि मुनाफामुखी बजारिया सम्बन्ध सहर र गाउँमा सँगसँगै पुग्ने खालको छ । जस्तो कि एउटा पुँजीपतिलाई सहर र गाउँमा फाइदा बराबर वा प्रशस्त हुने भयो भने विगतमा जस्तो नभई उसले एकैपटक गाउँ र सहरमा लगानी गर्नसक्ने र पुग्ने खालको छ । पछिल्लो समयमा आईएमईको कुरा गरौँ । वैदेशिक रोजगारीको कारणले पुँजीपतिलाई आईएमई सहरमा मात्र होइन, गाउँमा पनि खोल्दा फाइदा हुने भएपछि गाउँगाउँसम्म पनि जहाँ उसलाई फाइदा हुन्छ, त्यहाँ पुगिहालेको छ । त्यस्तै अन्य लगानी पनि यो चरित्रमा देखिन्छ । यहाँ भन्न खोजेको के हो भने बीसौँ सदीसम्म गाउँ र सहरको बीचमा रहेका अन्तरहरू एक्काईसौँ सदीमा आउँदा निकै कम भएर गएको र तीव्रतामा गाउँ र सहरका बीचको दूरी घट्दै गएको छ । अब गाउँलाई मात्र वा गाउँलाई मात्र मुख्य जोड दिएर वा पक्डेर बीसौँ सदीमा गरेको जस्तो क्रान्ति सम्भव छैन । अझ नेपालमा त त्यो सम्भव देखिँदैन । नेपालको विशेषता नै गाउँ र सहरको निकट सम्बन्ध भएको स्थितिमा छ । कुनै एकलाई मुख्य बनाएर जान सकिने खालको छैन । समय परिस्थितिअनुरूप कुनै विशेषतालाई पकड्नु पर्ने यो दुवैलाई सँगसँगै पकड्नुपर्ने आवश्यकता छ ।
३. मध्यमवर्गको उपस्थिति 
नेपालको तेस्रो विशेषता भनेको मध्यमवर्गको विकास हो । नेपालको फरकखाले आर्थिक उत्पादन सम्बन्धका कारणले यो वर्गको विकास हुन पुगेको छ । पुँजीवादी उत्पादन सम्बन्ध वा औद्योगिक पुँजीवादी आर्थिक सम्बन्धले उत्पादक शक्ति वा मजदुरवर्गीय श्रमशक्तिको विकास गर्दछ भने कृषि उत्पादन सम्बन्ध वा आर्थिक उत्पादन सम्बन्धले किसान जनशक्तिको विकास गर्दछ । विगत कालमा नेपालमा सामन्तवादी एवम् अर्धसामन्तवादी उत्पादन सम्बन्ध बढी थियो । त्यसले गर्दा किसान जनशक्तिको स्थिति मुख्य थियो । परन्तु यति बेला नेपालमा औद्योगिक अर्थतन्त्र र उत्पादन सम्बन्ध तीव्र विकासमा छैन भने कृषि अर्थ सम्बन्ध पनि दिनप्रतिदिन घट्दै र कमजोर हँुदै गएको छ । यसले गर्दा मजदुरवर्गीय शक्तिको विकास निकै धिमा छ भने किसान जनशक्तिको स्थिति पनि घट्दो छ । तथ्याङ्कअनुसार मजदुरको जम्मा सङ्ख्या सात प्रतिशतमा छ भने किसानको सङ्ख्या साठी प्रतिशतमा झरेको छ । अझ अर्थ उत्पादनका दृष्टिले कृषिमा आधारित अर्थ उत्पादन जम्मा पैँतीस प्रतिशतमा छ । तर मध्यम वर्गको वृद्धि हँुदै गएको छ । यसको सङ्ख्या हाललाई बीसदेखि चौबीस प्रतिशत पुगेको मानिन्छ ।
सामान्यतः मध्यम वर्ग भन्नाले विभिन्न निकायको विश्लेषणमा दिनमा हजारदेखि पन्ध्र सयसम्म कमाउन सक्ने वर्गलाई लिइएको छ । यसमा मुख्यतः डाक्टर, इन्जिनियर, प्रोफेसर, लेक्चरर, वकिल, कर्मचारी, मझौला खालका व्यापारी व्यवसायी पर्दछन् । यो वर्गको वर्गस्रोत मुख्यतः किसान वर्ग नै देखिन्छ भने अन्य विविध वर्गहरू पनि छन् । यो वर्ग आफैँमा कुनै मालिक पनि होइन र परम्परागत मजदुर पनि होइन । यसले श्रम पनि गर्दछ । केही मात्रामा पैसा पनि कमाउँछ । यो वास्तवमा दक्ष श्रमशक्ति नै हो । डाक्टर आफैँ भौतिक श्रममै भाग लिन्छ । बिरामीको उपचारमा प्रत्यक्ष सहभागी बन्छ । इन्जिनियर आफैँ बौद्धिक एवम् शारीरिक श्रममा भाग लिन्छ । प्रोफेसर वा लेक्चरर कम्तीमा छ घन्टा श्रममा सहभागी बन्छ । वकिल र कर्मचारीहरू पनि श्रममा सहभागी हुन्छन् । व्यापारी र व्यवसायी पनि प्रतिदिन बाह्रौँ घन्टा खटिरहेका हुन्छन् । नेपालको हकमा यो वर्ग कुनै पश्चगामी र यथास्थितिवादी पनि छैन । यसको मुख्य चरित्र प्रगतिशील एवम् अग्रगामी नै देखिन्छ । राजनीतिक दृष्टिले पनि यो वर्गको भूमिका अग्रस्थानमा छ । नेपालका राजनीतिक क्रान्तिहरूमा मजदुर–किसानका अलावा यो वर्गको सहभागिता एवम् भूमिका अग्रस्थानमै रहिआएको छ । नेपालको राज्यसत्तामा यो वर्गको सहभागिता निकै महत्वको देखा पर्दछ । आउँदो क्रान्तिमा यो वर्गको सहभागिता र भूमिकालाई विशेष महत्वका साथ लिनैपर्ने विशेषता नेपालमा नयाँ देखिएको छ ।
४. जाति, जनजाति र दलित जातिको बसोबास 
जाति, जनजाति र दलित जातिको बसोबास नेपालको चौथो विशेषता हो । हाम्रो जस्तो सानो देशमा यस्तो जातीय विशेषता कमै मात्र पाउन सकिन्छ । बसोबासका हिसाबले एक कुनै जातिको मात्र बाहुल्य छैन । तर राज्यसत्तामा सयौँ वर्ष आर्यखस जातिले नेतृत्व गरेका कारण जनजातिमाथि राजनीतिक उत्पीडन छ भने दलित जातिमा सामाजिक, आर्थिक, राजनीतिक सम्पूर्ण क्षेत्रमा अमानवीय उत्पीडन थोपरिएको छ । सामाजिक, राजनीतिक र आर्थिक रूपले समान स्थान र अवसरको विकास गर्नैपर्ने वस्तुस्थिति बन्न पुगेको छ ।
नेपालमा क्रान्ति गर्दा कुनै एक जातिलाई मात्र सङ्गठित र परिचालित गरेर वा कुनै एकलाई मात्र पक्डेर सम्पन्न हुनसक्ने देखिँदैन । सचेतता र योजनाबद्धताका साथ सबै जाति–जनजातिलाई सङ्गठित र परिचालित गर्न जरुरी छ । क्रान्तिकारी शक्तिले यो आवश्यकतालाई समाधान दिन नसक्दा साम्राज्यवादी शक्तिहरूको चलखेल अतिवादसम्म पु¥याउने गरी हुनेमा कुनै द्विविधा छैन । तसर्थ क्रान्तिका लागि यो विशेषतालाई जोड्नु अनिवार्य बन्न गएको छ ।
५. दलाल पुँजीवादको प्रभुत्व 
दलाल पुँजीवादको प्रभुत्व नेपालको छैटौँ विशेषता हो । दस वर्षको जनयुद्ध र राजतन्त्रको अन्त्यपछि नेपाली राज्यसत्तामा दलाल पुँजीवाद हाबी हुन पुगेको छ । सामाजिक एवम् राजनीतिक क्षेत्रमा आमूल परिवर्तन पूरा हुन नसक्नु तर पुरानो सत्तासीन वर्गको एउटा हिस्सा पराजित हुन पुग्नुको कारण सत्तामा दलाल पुँजीवाद हाबी हुन पुगेको छ । सत्ता नियन्त्रण गरेको राजतन्त्रात्मक शक्तिको पराजय अनि क्रान्तिकारी कम्युनिस्ट शक्तिको पनि विचलन–विघटनले दलाल पुँजीवादलाई हाबी बन्न निकै सहज बन्यो । दलाल पुँजीवाद राज्यको कुनै एक क्षेत्रमा मात्र होइन, राजनीतिक, आर्थिक, प्रशासनिक, सुरक्षा, भौतिक निर्माण सबै क्षेत्रमा हाबी हुन पुगेको छ ।
केही समयपहिले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आए । उनी आउनुअगाडिसम्म पीटीए, पीडीए आदि विषयमा निकै विवाद थिए । प्रायजसो ले यसको विरोध गर्दै थिए । जब मोदी आउने दिन नजिकिँदै आयो, अनौठो प्रकारले ती नेता र व्यक्तिहरूका बोलीहरू लर्बराउन थाले । मोदी आउँदै गर्दा ती चुप लागे र जब मोदी नेपाल ओर्लिए, तब नेपालमा अनौठो चित्र देखाप¥यो । मानिलिनुस्, नेपालमा कुनै देवदूतको आगमन भएको छ । उनको सेवा र चाकरी गर्नु भक्तहरूको कर्तव्य हो । मोदी अगाडिअगाडि, भक्तहरू पछाडिपछाडि लर्को लागेर हिँड्ने अवस्था आयो । मानिलिनुस् कि मोदीबाट जसले तथास्तु पाउँछ, उसले नै नेपालको शासक बन्ने सौभाग्य पाउनेछ ।
यो लाममा काङ्ग्रेस, एमाले, राप्रपा र मधेसवादी भनिने सबै सबै त लागेकै थिए, आफूलाई सर्वहारावर्गको प्रतिनिधि भन्दै आएको एमाओवादीसमेत सबैभन्दा अगाडि लाममा उभिन पुग्यो । एक भौतिकवादी विचारमा विश्वास राख्ने, माओवादी भनिने शक्ति र त्यसका नेता नै मोदीको अध्यात्मवादले भरिएको विषालु प्रशिक्षणमा सहभागी बन्दै उनको प्रशिक्षणमा मस्त बन्न पुग्नु सारा माओवादी र कम्युनिस्टका लागि साह्रै लज्जा र विस्मयको विषय बन्यो । यो वास्तवमा अरू केही नभई राजनीतिमा हाबी हुन पुगेको दलाल प्रवृत्तिकै मुख्य प्रभाव हो ।
जब हामी आर्थिक क्षेत्रको अवस्था अध्ययन गर्दछौँ, सबैभन्दा ठूलो दलालीकरण भएको पाउन गाह्रो नै पर्दैन । अर्थविद्हरूको तथ्याङ्कअनुसार नेपालको सम्पूर्ण आर्थिक क्षेत्रमा एउटा देशको मात्र असी प्रतिशतवरिवरि नियन्त्रण पुगेको छ । त्यसमा पनि जम्मा दसजना धनाढ्यहरूको हातमा पुँजीको नियन्त्रण हुन पुगेको छ । नेपाली अर्थतन्त्र निकै कमजोर बनेर गएको छ । विभिन्न क्षेत्रबाट बल्लतल्ल उम्रिन थालेका उद्योगी व्यवसायी पनि राज्यको उचित संरक्षण र संवद्र्धनको अभावमा सुकेर सकिँदै गएका छन् ।
देशको प्रशासनिक क्षेत्रको विश्लेषण गर्दा पनि दलालीकरण तीव्रतामा बढिरहेको बुझ्न कुनै गाह्रो छैन । निजामतीको त खुलेआम चर्चा भइरहेकै छ– खासखास संस्थाहरूको प्रमुख नियुक्तिसमेत विदेशीको इशारामा भइरहेको छ । कर्मचारी नै यस्ता देखिएका छन्, जो राष्ट्रघाती सम्झौताहरूका पक्षमा खुलेआम पक्षपोषण र समर्थन जुटाउन हिँडिरहेका छन् । स्थिति यतिसम्म गम्भीर छ, सुरक्षा क्षेत्रमा समेत कुनै न कुनै स्केलको घुसपैठ र हस्तक्षेप बन्दै गएको छ । यसप्रति आम नागरिक नै आक्रोशित बन्दै गएका छन् ।
दलाल पुँजीवादको विषालु प्रभाव दिनप्रतिदिन शिक्षा, स्वास्थ्य, विकास निर्माण, गैरसरकारी संस्था र तिनको परिचालन आदिमा समेत खुलेआम बढ्दै गएको छ । स्थिति कतिसम्म डरलाग्दो छ भने नेपालको राज्यभन्दा विदेशी राजदूतावास र गैैरसरकारी संस्थाहरू शक्तिशाली र निर्णायक हुँदै गएका छन् । क्रान्तिका लागि यो विशेषतामा पनि ध्यान दिनैपर्ने देखिन्छ ।
६. देशभक्त शक्तिको प्रभाव 
देशभक्त शक्तिको प्रभाव नेपालको पाँचौँ विशेषता हो । इतिहासतः नेपालमा आफ्नो देशको सार्वभौमिकता र स्वाधीनतालाई माया गर्ने र रक्षा गर्ने धारा निरन्तर कायम छ । यसले ब्रिटिस साम्राज्यदेखि नै सशस्त्र प्रतिरोध गर्दै आएको छ । पछिल्लो समयमा भारतीय हस्तक्षेप र नाकाबन्दीविरुद्ध पनि निरन्तर लड्दै आएको छ । यही धाराका कारण नेपालको राज्यसत्तामा समेत फेरबदल हुने गरेको पनि छ । कयाै राष्ट्रवादी शासक, नेता र व्यक्तित्वको हत्या र अन्त्यसमेत हुन पुगेको छ । आज पनि राज्यका विभिन्न निकाय र अङ्गहरूमा राष्ट्रवादी धारा कायम छ । नेपाली सेना, नेपाल प्रहरी, कर्मचारी, उद्योगी, व्यवसायी, विभिन्न पार्टी सबैतिर यो धारा कायम छ । राजनीतिक विचारधाराका दृष्टिले विभिन्न क्षेत्रमा रहे पनि राष्ट्रियताका सवालमा एकै ठाउँमा र बडो संवेदनशील छ । कुनै पनि शक्तिकेन्द्रले नेपालजस्तो देशलाई आफ्नो नियन्त्रणमा लिन खोज्ने र विदेशी शक्तिकेन्द्रको प्रभावमा जबर्जस्त रहनुपर्ने अवस्थामा यो धाराको महत्व क्रान्तिमा रहनेलाई विशेष रूपले ध्यान दिन आवश्यक छ ।
७ . नेपाली विशेषता र एकीकृत क्रान्ति   
हामीले माथि पनि उल्लेख र चर्चा ग¥यौँ– नेपालका यी विशेषताहरू विश्वका अन्य देशसँग मेल खाँदैनन् । यी विशेषताले मेल खाँदैनन् भन्नुको तात्पर्य यो हो– हामीले गर्ने क्रान्ति पनि अन्य देशको नक्कल वा यान्त्रिक अनुकरणद्वारा पूरा हुन सक्दैन । जस्तो, रुस सहर र मजदुरवर्गीय शक्ति प्रधान भएको देश थियो । क्रान्तिको केन्द्र सहर थियो, जसले गर्दा पुरानो राज्यसत्ताका विरुद्धमा सहरबाट विद्रोह सङ्गठित र विजयी तुल्याउन सकियो । तर नेपालमा यो स्थिति छैन ।
नेपालको दुई तिहाइ जनसङ्ख्या गाउँमा छ र सहरहरू मजदुरवर्गीय चरित्रका छैनन् । चीन गाउँ नै गाउँले भरिएको र किसानवर्गीय शक्ति प्रधान भएको देश थियो । क्रान्तिको केन्द्र पनि गाउँ नै थियो तर नेपालमा यो पनि छैन । नेपालमा एक तिहाइ जनसङ्ख्या सहरमा बसोबास गर्छन् । सहरमा मध्यमवर्गीय सङ्ख्या बढी भए पनि यो प्रगतिशील चरित्रको वर्ग हो भने नेपाली क्रान्तिका लागि सकारात्मक र आवश्यक शक्ति हो ।    माथि नै चर्चा गरियो नेपाल सानो, गरिब, सहर र गाउँको निकट सम्बन्ध भएको, किसान–मजदुरसँगसँगै मध्यम वर्गको बलियो उपस्थिति रहेको, जाति–जनजातिको मिश्रित बसोबास भएको, राज्यसत्तामा दलाल पुँजीवादले कब्जा जमाएको देश हो । यो देशको विशेषता न रुससँग मेल खान्छ, न त चीनसँग नै मेल खान्छ ।
२१ औँ सदीको पुँजीवादी, साम्राज्यवादी राजनीतिक प्रभाव र नेपालमै विकास भइरहेका विशिष्ट विशेषताहरूले यहाँको क्रान्ति पनि नेपाली विशेषतायुक्त हुने देखिन्छ । यद्यपि सामान्य सिद्धान्तका दृष्टिले नेपालमा हुने क्रान्तिलाई विद्रोह वा जनयुद्ध भन्नै मिल्दैन भन्ने होइन । सबैलाई बोध भएकै हुनुपर्दछ, प्रतिक्रियावादी राज्यसत्ताको दमनविरुद्ध उत्पीडित जनताले गर्ने सङ्घर्ष सत्ताविरुद्धको विद्रोह नै हो र त्यसलाई विद्रोह भन्न सकिन्छ ।   त्यसैगरी प्रतिक्रियावादी सत्ताका विरुद्ध जनताले गर्ने युद्ध वा सङ्घर्ष पनि जनताकै युद्ध वा जनयुद्ध हुन्छ । त्यस अर्थमा नेपाली जनताको क्रान्तिलाई जनयुद्ध भन्न पनि सकिन्छ परन्तु यहाँ विगतमा कम्युनिस्ट आन्दोलनमा प्रयोग भएका र स्थापित हुन पुगेका मान्यताबाट भन्नु पर्दा नेपालको क्रान्ति विद्रोहको शास्त्रीय व्याख्यासँग र चीनको शास्त्रीय जनयुद्धसँग मेल खाने र त्यही अर्थमा प्रयोग हुने भन्ने देखिँदैन । यो कुरा बढीभन्दा बढी नेपाली विशेषतासहित अगाडि बढ्ने देखिन्छ ।
७ . निष्कर्ष   
नेपाली क्रान्तिमा धोका, बेइमानी हुँदै प्रतिक्रान्ति हुन पुगेको छ । राज्य दलाल पुँजीवादी राज्यमा पतन हुन पुगेको छ । साम्राज्यवादी, भारतीय विस्तारवादी हस्तक्षेप नाङ्गो रूपले अगाडि आएको छ । नेपाली श्रमिक जनता विशेषतः किसान, मजदुर, मध्यमवर्ग, देशभक्त शक्तिहरू यो बेइमानी, प्रतिक्रान्ति, विदेशी हस्तक्षेपका विरुद्ध आक्रोशित बन्दै गएका छन् । क्रान्तिकारी शक्ति पुनः सङ्गठित हुँदै क्रान्तिको नेतृत्व गर्ने तयारीमा अगाडि बढेको छ । सबैले बुझ्ने सच्चाइ यही हो– नेपालमा क्रान्ति आवश्यक छ र सम्भव पनि छ । परन्तु यहीँनेर हामीले बुझाउने कुरा छ, नेपालमा विश्वक्रान्तिका सार्वभौमिक शिक्षाहरूलाई आत्मसाथ गर्दै नेपाली विशेषताहरूलाई पक्डेर गर्ने क्रान्ति मात्र सम्भव छ । यो क्रान्ति माओले भन्नुभएजस्तै न कसैको यान्त्रिक अनुकरणबाट सम्भव छ, न त विश्वक्रान्तिका सार्वभौमिक मान्यताहरूलाई त्यागेर नै सम्भव छ । यो विश्वक्रान्ति र नेपाली विशेषताहरूको वस्तुवादी संश्लेषणद्वारा मात्र सफल हुनेछ । क्रान्तिको बाटो कोर्न कठिन भए पनि विज्ञानमा त्यसको निर्माण असम्भव कुरा होइन, सम्भव कुरा हो ।
नेपाली क्रान्ति न गाउँलाई मात्र पक्डेर सम्पन्न हुनसक्छ, न त सहरलाई मात्र पक्डेर नै सम्पन्न हुनसक्छ । गाउँ र सहरमध्ये एकलाई मात्र मुख्य बनाएर वा एकलाई मात्र पक्डेर अगाडि बढ्नसक्ने देखिँदैन ।   त्यसैगरी वर्गको दृष्टिले पनि न किसान मात्रलाई, न त मजदुर मात्रलाई पक्डेर, न त मजदुर–किसानलाई मात्र पक्डेर पूरा गर्न सकिन्छ । नेपालको हकमा यहाँको मध्यमवर्ग र देशभक्त शक्तिलाई सँगसँगै सङ्गठित र परिचालित गरेर साथै जाति–जनजाति र दलित जातिको मनोभावनालाई केन्द्रित गरेर मात्र अगाडि बढ्न सक्नेछ । जब नेपाली क्रान्तिमा किसान, मजदुर, मध्यम वर्ग, देशभक्त, जाति–जनजाति, दलित जाति आदि शक्तिलाई दलाल पुँजीवादी राज्यसत्ताविरुद्ध उतार्न र परिचालित गर्न सकिनेछ, नेपाली क्रान्ति वास्तवमै विशिष्ट प्रकारले सम्पन्न गर्न सकिने देखिन्छ ।
यो क्रान्ति सम्पूर्ण क्रान्तिकारी वर्ग, शक्ति, समुदाय र भूगोलको अलगथलग परिचालनद्वारा होइन, सम्पूर्ण शक्तिको एकीकृत सहभागिता र परिचालनद्वारा मात्र सम्भव छ । तसर्थ यसलाई एकीकृत क्रान्ति भन्नु वस्तुवादी र उपयुक्त नै देखिन्छ । यद्यपि यसका समग्र पक्षहरूमा विस्तारमा विश्लेषण गर्दै जान आवश्यक छ ।

प्रतिक्रिया