काठमाडौं, १४ साउन २०८३।
सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा प्रहरी सहायक हवल्दार नारद परियारलाई गोली लागेको छ। घाइते परियारको प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगर रिफर गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख (एसपी) बासु पाठकका अनुसार प्रदर्शन नियन्त्रणमा खटिएका परियारको घुँडामुनि गोली लागेको हो। गोली कसले चलाएको भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए।
एसपी पाठकले भने, “प्रहरी सहायक हवल्दार नारद परियारलाई गोली लागेको छ। थप उपचारका लागि विराटनगर पठाएका छौं। घटनाबारे अनुसन्धान जारी छ।”
सुनसरीमा साउन १० गते हिन्दु र मुस्लिम समुदायबीच भएको झडपपछि त्यसको प्रभाव मधेश प्रदेशका विभिन्न जिल्लामा पनि देखिएको छ। सोही क्रममा बिहीबार सिरहाको गोलबजारमा दिनभर प्रदर्शन तथा झडप भएको थियो।
प्रदर्शन नियन्त्रणका क्रममा नेपाल प्रहरीतर्फ डीएसपी रमेश पालसहित १२ जना प्रहरी कर्मचारी घाइते भएका छन्। त्यसैगरी सशस्त्र प्रहरी बलतर्फ डीएसपी सियाराम चौधरीसहित ७ जना सुरक्षाकर्मी पनि घाइते भएको प्रहरीले जनाएको छ।
झडपका क्रममा घाइते भएका धनुषाको मिथिला बिहारी नगरपालिका–८ निवासी १९ वर्षीय सुवास ठाकुरलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। उनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका एक अधिकृतले जानकारी दिएका छन्।
यस्तै, गोलबजार नगरपालिका–४ निवासी ६२ वर्षीय आलम खान पनि घाइते भएका छन्। उनको गोलबजारस्थित भूमिजा अस्पतालमा उपचार भइरहेको छ।
झडपका क्रममा औरही गाउँपालिका–२ निवासी १८ वर्षीय गणेश यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि गोलबजार क्षेत्रको सुरक्षा अवस्था संवेदनशील बनेकाले स्थानीय प्रशासनले त्यहाँ कर्फ्यु आदेश जारी गरेको छ। सुरक्षा निकायले अवस्था नियन्त्रणमा लिन थप सुरक्षा व्यवस्था कडा पार्नुका साथै घटनाबारे विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।