गृहमन्त्री सुदन गुरुङका गाउंले अबैध कलबाइपास गर्ने कार्यमा संलग्न रहेको आरोपमा रुपन्देहीबाट पक्राउ

गृहमन्त्री सुदन गुरुङका गाउंले अबैध कलबाइपास गर्ने कार्यमा संलग्न रहेको आरोपमा रुपन्देहीबाट पक्राउ


  • जनसञ्चार डट कम संवाददाता
  • शुक्रबार, १५ साउन २०८३
  • 1.6K
    Shares

काठमाडौं, १५ साउन २०८३।

गृहमन्त्री सुदन गुरुङको जन्मथलो गोर्खाको चुमनुव्री गाउँपालिकाका एक व्यक्ति कलबाइपास गरेको आरोपमा रुपन्देहीबाट पक्राउ परेका छन्।

गोरखा जिल्लाको चुमनुव्री गाउँपालिका–४ घर भै हाल रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहिया बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका ६२ वर्षीय छिरिङ गुरुङ कलबाइपास गरेको आरोपमा रुपन्देहीबाट पक्राउ परेका हुन्।

अभियुक्त गुरुङले रुपन्देहीको बेलहिया बसपार्कस्थित न्यू मुक्ति होटल एण्ड रेष्टुरेन्टको दोस्रो तलामा अवैध रूपमा Voice Over Internet Protocol (VOIP) Call बाइपास सञ्चालन गरेको आरोप प्रहरीले लगाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार, प्रहरीले कोठा खानतलासी गर्दा VOIP कल बाइपासका लागि प्रयोग गरिएको आशंका गरिएका विभिन्न उपकरण तथा सामग्री बरामद गरेको छ। बरामद सामग्रीमा सिमकार्ड जडान गरिएका दुई थान डिभाइस, वर्ल्डलिंकको २जी/५जी राउटर, वाइफाइ ६+ ४जी/५जी राउटर, तीन थान मोबाइल फोन, १२ भोल्टको ब्याट्री, इन्भर्टर, मल्टिप्लग, ५६ वटा भारतीय सिमकार्ड, ३८ वटा एनसेल सिमका खोल, एक थान एफसी सिमकार्ड, तीन थान RJ45 केबल, तीन वटा चिनियाँ सिमकार्ड, एक थान टेबल पंखा, ११ हजार रुपैयाँ नेपाली नगद, भारतीय पाँच सय दरका १४ थान तथा एक सय दरका ९ थान नोट, बागमती प्रदेश ०२–०२७ प ९५९७ नम्बरको स्कुटर, नेपाली नागरिकता, भारतीय निर्वाचन परिचयपत्र र नेपाली सवारी चालक अनुमतिपत्र रहेका छन्।

प्रहरीले पक्राउ परेका गुरुङविरुद्ध दूरसञ्चार ऐन, २०५३ अन्तर्गत VOIP Call बाइपास सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी रुपन्देही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

प्रतिक्रिया