देशबासीका नाममा सम्बोधन गरे लगत्तै प्रधानमन्त्री बालेन शाहले राष्ट्रपति पौडेल भेटे

देशबासीका नाममा सम्बोधन गरे लगत्तै प्रधानमन्त्री बालेन शाहले राष्ट्रपति पौडेल भेटे


  • जनसञ्चार डट कम संवाददाता
  • शुक्रबार, १५ साउन २०८३
  • 2.7K
    Shares

काठमाडौं, १५ साउन २०८३।

प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्दै देशको पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी गराएका छन्।

बिहीबार साँझ भएको भेटमा प्रधानमन्त्री शाहले विशेषगरी तराई–मधेशका सुनसरी, सिरहालगायत जिल्लामा देखिएको तनाव नियन्त्रण गर्न सरकारले अपनाइरहेको कदम तथा सुरक्षा निकायको परिचालनबारे राष्ट्रपतिलाई जानकारी गराएका हुन्।

यसअघि बिहीबार दिउँसो प्रधानमन्त्री शाहले पहिलोपटक राष्ट्रिय सुरक्षा परिषद्को बैठकको अध्यक्षता गरेका थिए। त्यसपछि उनले राष्ट्रका नाममा सम्बोधन गरेका थिए।

शीतल निवास स्रोतका अनुसार प्रधानमन्त्रीले शान्ति सुव्यवस्था कायम गर्न सरकारले गरिरहेका प्रयास, सुरक्षा व्यवस्थापन तथा आवश्यक स्थानमा सेनासहित सुरक्षा निकायको परिचालन सम्बन्धी अवस्थाबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए। राष्ट्रपति नेपाली सेनाका परमाधिपति समेत हुन्।

उता, देशका विभिन्न स्थानमा हिंसात्मक गतिविधि बढ्दै गएको अवस्थाप्रति राष्ट्रपति पौडेलले गम्भीर चासो व्यक्त गरेका छन्। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले प्रधानमन्त्रीलाई वर्तमान परिस्थितिलाई संयमतापूर्वक व्यवस्थापन गर्न तथा सबै राजनीतिक दल र सरोकारवालासँग समन्वय गर्दै सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्।

राष्ट्रपतिले देशमा यथाशीघ्र शान्ति सुव्यवस्था पुनःस्थापित गरी नागरिकलाई सुरक्षित र शान्तिपूर्ण वातावरणमा जीवनयापन गर्न सक्ने अवस्था सिर्जना गर्न सरकारलाई आवश्यक पहल गर्न समेत सुझाव दिएका छन्।

प्रतिक्रिया