टाइम बम फिट गरेर प्रधानमन्त्रीलाई उडाइदिन्छु -पुर्ब कमान्डर

टाइम बम फिट गरेर प्रधानमन्त्रीलाई उडाइदिन्छु -पुर्ब कमान्डर


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २ असोज २०७३
  • 10.2K
    Shares

पूर्व लडाकु हरि रोकाय

काठमाडौं, असोज २ – प्रधानमन्त्री कार्यालयको मुख्य ढोकामा एकजना पातलो ज्यान भएका युवा प्रहरीसँग वादविवाद गर्दै थिए।उनी कार्यालयभित्र जान चाहन्थे तर, जति आग्रह गरेपनि सुरक्षाका लागि खटिएका प्रहरी भन्दै थिए ‘अनुमति छैन भित्र जान मिल्दैन, उता जानुस् ।’ पटक पटक हात जोडेर गरेको उनको आग्रहले प्रहरी हैरान भइसकेका थिए।प्रधानमन्त्रीकै पार्टीको कार्यकर्ता भएकाले प्रहरीले बल प्रयोग गर्ने आँट पनि गरिरहेको थिएन । धेरै बेरसम्म पनि प्रहरीले भित्र जान नदिएपछि उनी रुन थाले । रुँदारुँदा आक्रोशित भएका उनको मुखबाट निस्कियो ‘टाइम बम फिट गरेर प्रधानमन्त्रीको गाडी उडाइदिन्छु।’ प्रधानमन्त्री कार्यालयको मुख्य ढोकामै डाँको छाडेर युवा रोइरहेको देखेपछि त्यसबारे बुझ्ने चासो बढ्यो।

उनी रहेछन तत्कालिन नेकपा माओबादीको जनमुक्ति सेनाको कम्पनी सह कमाण्डर, हरि रोकाय । रुँदै आफ्नो बेदनाका पोका खोल्दै गए । आफूसँगको डायरी खोलेर देखाउन थाले । उनको डायरीमा टाइम बम बनाउने तरिका तस्बिरसहित उल्लेख थियो । उनको झोलामा जग्गाधनी प्रमाणपूर्जा, नेपाली नागरिकताको प्रमाणपत्र, सशस्त्र द्वन्द्वका बेला दिइएका परिचय पत्र र द्वन्द्वको बेलाका नोटहरु थिए।

उनको डायरीमा १६ ठाउँँमा युद्ध लडेको अनुभव सँगालिएको छ । २०६० सालमा बाँकेको कुसुम र म्याग्दीको बेनीबजार, २०६१ साल भदौ ५ गते जुम्लाको मिनी रोड, २०६१ चैतमा रुकुमको खारा, २०६१ कै मंसिरमा बाँकेको मुगुवा खोला र बाँकेको खरीखोला, २०६२ मा कैलालीको शंखरपुर, स्याङजाको मनकामना, स्याङजाकै वालिङ, नवलपरासीको रमुवापुर, पाल्पाको हातिगौडा, बर्दियाको रम्बापुर, पाल्पाको तानसेन, कपिलबस्तुको तौलिहवा र सुर्खेतको भेरीपूल र २०६२ कै साउन २३ गते कालिकोटको पिली भिडन्तमा संलग्न भएको रोकायको डायरीमा उल्लेख छ । उनले कापीमा भिडन्तको मोर्चा सम्हालेका ठाउँ लेखेका छन् भने दायाँपट्टि सफल असफल के भएको भनेर चिनो लगाइएको छ।

डायरीका पानामा उनले विगतमा पार्टीमा पुर्‍याएको योगदान, आफूले पाएको जिम्मेवारी र सम्हालेको भूमिका पनि टिपेका छन् ।प्रधानमन्त्रीको कार्यालयमा छिर्न डाँको छोड्दै रोइरहेका हरि उज्यालो अनलाइनलाई आफ्ना बेदना सुनाउँदै गर्दा बिस्तारै सुक्सुकाउन थालिसकेका थिए । केही आक्रोशित बन्दै उनले थपे ‘शरीरैभरि बमका छर्रा छन्, परिवार लथालिङ्ग भएको छ, म गाउँमा बस्न सक्ने अवस्था छैन, म घरि भारत जान्छु त घरि देशभित्रै ज्यामी मजदुरी गरेर खाँदै आएको छु।’

उनले युद्ध लड्दा अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भूमिका सुप्रिम कमाण्डर थियो । त्यसैले आफ्ना सुप्रिम कमाण्डर प्रधानमन्त्री भएको बेला रोकाय आफ्ना बेदना पोख्न सिंहदरबार छिरेका थिए।‘म आफ्ना तत्कालिन सुप्रिम कमाण्डरलाई भेट्न जान चाहन्छु तर पुलिसले जान दिँदैन ? म यो बेदनाको पोको मेरा कमाण्डरसामु पोख्न चाहन्छु’ यति भनि सक्दा उनी फेरि डाँको छोडेर रुन थाले।

अहिलेसम्म काठमाडौ आउँदा आफ्नो एक लाख रुपैयाँ जति खर्च भएको पनि रोकायले सुनाए । उनले भने ‘पटकपटक गरेर आउँदा यहाँ बस्दा र नेताहरुलाई भेट्न खोज्दा मेरो लाख रुपैया खर्च भएको छ ।’ आफ्नो दुखेसो पार्टीका विभिन्न तहका नेतालाई भेटेर सुनाएपनि सबैले काम हुन्छ हुन्छ भन्ने मुण्टो मात्र हल्लाएको तर काम भने कसैले नगरेको गुनासो पनि उनले पोखे।

अपमान भएकाले समायोजनमा नगएको

सेना समायोजनका बेला रोकायलाई नेपाली सेनाको हवल्दार बन्न पाउने थिए । तर उनले त्यसलाई आफ्नो अवमूल्यन ठाने । आफू माओवादीको कम्पनी सहकमाण्डर भएर लडेकाले त्यसको समानान्तर नेपाली सेनाको सहसेनानी अर्थात क्याप्टेन हुन पाउनुपर्ने उनको माग थियो।तर पूरा नभएपछि उनी समायोजनमै गएनन्।

समायोजनपछि आफ्ना १२ जना साथीहरु नेपाली सेनाको सेनानी अर्थात मेजर भएको उनले बताए । पार्टीका लागि वर्षौं ज्यान हत्केलामा राखेर लडेपनि पार्टीले पनि मतलब नगरेको र पार्टीकै नेतृत्वको सरकार आउँदा पनि कुनै सुनुवाई नभएकोमा यसअघि उनी खिन्न थिए । तर अहिले उनी खिन्न भन्दा पनि आक्रोशित छन् । आफूभित्रको आक्रोशको ज्वाला पोख्ने क्रममा नै उनी प्रधानमन्त्री कार्यालयको गेटबाहिर डाँको छोडेर रोइरहेका थिए।

उनी त एकजना प्रतिनिधि पात्र मात्र हुन् । अनमिनले अयोग्य ठहर्‍याइएका ४ हजार ८ जना बहिगर्मित लडाकु कहाँ कस्तो अवस्थामा छन् ? उनीहरुको बारेमा न सरकारले खोजी गरेको छ, न त्यतिबेला युद्धमा लगाएको पार्टीले नै चासो दिएको छ । सरकार र पार्टीले बेवास्ता गरेपनि कतिपय पूर्व लडाकु विभिन्न पेशा, व्यवसाय गरेर जीविकोपार्जन गरिरहेका छन् । तर जसले गरीखाने बाटो भेटेका छैनन्, उनीहरु मानसिक रोगको शिकार भएका छन्।

बालबालिकालाई समेत सशस्त्र युद्धमा प्रयोग गरेको तत्कालीन माओवादी पार्टी तेस्रो पटक सरकारमा छ । पार्टी नेतृत्वलाई सत्ता राजनीतिको स्वाद चखाउन, अंगभंग हुन, बहुलाउन वा मारिनकै लागि मात्र लडेका थिए त पूर्व लडाकुले ? माओवादीसँग पूर्व लडाकुले आज यही प्रश्न सोधिरहेका छन्।आजको उज्यालो अनलाइनमा खवर छ

 

प्रतिक्रिया